जसपा नेपालका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले जसपाको वैधानिक बहुमत आफूहरुसँग रहे वा नरहे पनि पार्टीको पुनर्गठन अनिवार्य आवश्यकता भएको बताएका छन् ।
मंगलबार जडीबुटीमा आयोजित पार्टीको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले बैठकले निकालेका निष्कर्षको आधारमा पुनर्गठित पार्टीको घोषणापत्र, विधान, नियमावली र आचारसंहिता निर्माण गर्ने जनाएका छन् ।
विभिन्न राजनीतिक समूह, आन्दोलनकारी धारा, वैचारिक भावधारा र व्यक्ति व्यक्तित्व मिलेर जसपा निर्माण गरेको स्मरण गर्दै उनले त्यसको औचित्य र आवश्यकता झनै टड्कारो भएको जनाएका छन् ।
समुन्नत संघीय समाजवादको सिद्धान्तमा आधारित प्रगतिशील, लोकतान्त्रिक तथा समावेशी चरित्रको वैकल्पिक राष्ट्रिय राजनीतिक दल निर्माण गर्नु, यसको संगठनात्मक शक्ति र आन्दोलनमार्फत् जनताको पहिचान, अधिकार, समावेशीता, सुशासन, आर्थिक विकास, समृद्धि र समाजवादको अपेक्षा पूरा गर्नु जसपाको मूल ध्येय रहेको र त्यो ध्येयबाट आफूहरु किञ्चित विमुख नभएको उनले प्रस्ट पारेका छन् ।
छलफलका लागि उनले दुई विकल्प पनि प्रस्ताव गरेका छन् । पहिलो विकल्पमा नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने र दोस्रो विकल्पमा विचार, नीति, कार्यक्रम मिल्ने निकटतम शक्तिहरुसँग सहकार्य, ध्रुबीकरण, एकीकरण गर्दै जाने उल्लेख छ ।





























प्रतिक्रिया