कांग्रेसले हिन्दु धर्मलाई मुख्य एजेण्डा बनाउनु पर्छ : भीम पराजुली

कांग्रेसले हिन्दु धर्मलाई मुख्य एजेण्डा बनाउनु पर्छ : भीम पराजुली

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले हिन्दू धर्मलाई पार्टीले मुख्य एजेण्डा बनाउनुपर्ने माग गरेका छन् ।

नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग गर्दै पराजुलीले नेपाली कांग्रेसले धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता कायम गर्ने अभियानको नेतृत्व लिनु पर्ने आवाज उठाएका हुन् ।

बुधबारको केन्द्रीय समिति बैठकमा लिखित रुपमा आफ्नो धारणा राखेका पराजुलीले धार्मिक बहस र धर्मान्तरणका कुरा अन्त्यका लागि वैदिक सनातन धर्मको मूल्य मान्यता अनुसार हिन्दू धर्मलाई मुख्य एजेण्डा बनाउन आवश्यक रहेको बताए ।

११ बुँदामा समेटिएको उनको प्रस्तावमा भनिएको छ, ‘देशमा धार्मिक बहसका कुरा पनि उठिरहेका छन्, धर्मान्तरणका कुराहरु पनि त्यत्तिकै आएका छन् । यी सबै कुराहरुलाई रोक्न वैदिक सनातन धर्मको मूल्य मान्यता अनुसार हिन्दू धर्मलाई मुख्य एजेण्डा बनाई नेपाली कांग्रेसले धर्म निरपेक्षता हटाई धार्मिक स्वतन्त्रता कायम गर्न केन्द्रीय कार्यसमितिमा प्रस्ताव राख्न चाहन्छु ।’

केन्द्रीय सदस्य पराजुलीले यस्तो अवस्थामा प्रदेश सरकार चलिरहे ठूलो बेथिती हुने र जनतामा वितृष्णा, नैराश्यता बढ्ने भन्दै प्रदेश सरकार कि बलियो बनाउनुपर्ने कि हटाउनुपर्ने धारणा राखे ।

स्थानीय चुनावमा प्राप्त नतिजालाई उपलब्धिका रुपमा ब्याख्या गरेका नेता पराजुलीले आगामी संघीय र प्रदेश चुनावमा कांग्रेस भित्र आत्मीय एकता कायम गरी गठबन्धन गरेरै रणनैतिकरुपमा जान जरुरी रहेको बताए । जनताका आधारभुत आवश्यकताबारे ध्यान दिँदै लोकप्रिय, योग्य, संक्षम र पार्टीलाई दिएको योगदानको मापन गर्दै टिकट दिनु पर्ने उनको मााग छ ।

युवा पुस्ता राजनीतिमा अग्रसर भएर आएको अवस्थामा उनीहरुको माग सम्बोधन गर्न आवश्यक रहेको बताउँदै विराटनगर महानगरपालिकाका पूर्व मेयर समेत रहेका पराजुलीले पुराना नेताहरुलाई सम्मान हुनेगरी नयाँ पुस्तामा राजनीति हस्तान्तरण आवश्यक रहेको बताए । 

पार्टीले भ्रातृसंस्था तथा सुभेच्छुक संस्थालाई अविलम्ब  गठन गरी पदाधिकारीसहित पूर्णता दिन ढिला भएको चर्चा गर्दै उनले संगठनमा खटिएका, क्रियाशिल हुन खोज्ने र राजनीतिमै केही गरौ भन्नेहरुलाई प्रोत्साहन सहित अगाडी बढाउन जरुरी रहेको धारणा राखे । 

केन्द्रीय सदस्य पराजुलीले बढ्दो बेरोजगारी अन्त्य र परिवार बचाउन सक्ने वतावरणका लागि एक घर एक रोजगारीको अवधारणा अघि सारेका छन् । 

Logo