पोखरामा निषेधाज्ञा सकियो, सवारीमा जोरबिजोर प्रणाली

पोखरामा निषेधाज्ञा सकियो, सवारीमा जोरबिजोर प्रणाली

केन्द्रबिन्दु
0
Shares

पोखरा ।

कास्की जिल्लाभर १२ भदौसम्मलाई लागू गरिएको निषेधाज्ञा नलम्बिने भएको छ । तर कास्की प्रशासनले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने भएको छ । २० गतेसम्मका लागि भनेर प्रशासनले शुक्रबार सूचना जारी गरेको छ । जसमा जोरबिजोर प्रणाली लागू गर्ने उल्लेख छ ।

पोखरा महानगरपालिकाको आग्रहमा जिल्ला प्रशासनले भदौ ३ गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो । पहिलोपटक ७ गतेसम्मलाई लागू भएको निषेधाज्ञा १२ गतेसम्मलाई थपिएको थियो । निषेधाज्ञा सकिने दिन प्रशासनले अर्को आदेश जारी गरेको हो ।

यात्रुबाहक सार्वजनिक सवारी साधनहरु (बस, माइक्रोबस) सञ्चालन नगर्न प्रशासनले आदेश गरेको छ । ट्याक्सी र निजी गाडी भने जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका मात्रै चलाउन भनेको छ । ती साधनहरु बिहान ६ बजे देखि साँझ ८ बजेसम्म सञ्चालन गर्न सकिने, प्रशासनको आदेशमा भनिएको छ ।

जिल्ला संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकपछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) ज्ञानप्रसाद ढकालले यो आदेश जारी गरेका हुन् । जारी आदेशमा मानिसहरु भेला हुन, भीडभाड गर्न, सभा जुलुस गर्न, जात्रा, महोत्सव गर्न तथा सबै धर्म, संस्कृति, प्रचलन सम्बद्ध सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु तथा क्रियाकलापहरु आयोजना गर्न तथा सहभागी हुन प्रतिबन्ध लगाइएको छ ।अन्नपूर्णबाट

Logo