नवलपरासी बर्दघाट-सुस्तापूर्वको छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार शनिबार जिल्लाको कावासोती र देवचुलीमा पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको हो । कावासोती-४ झुलुङ्गे पुलस्थित पोखरीमा देवचुली-१० गणेश टोलकी माया सिंजालीका छ वर्षीय छोरा ऋतिक पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका थिए ।
पोखरीमा बेपत्ता बालकलाई अस्थाई प्रहरी पोष्ट शङ्खदेवबाट खटिएको प्रहरीको टोली र स्थानीय बासिन्दाले उद्धार गरेका थिए । पोखरीमा डुबेको अवस्थामा उद्धार गरिएका सिंजालीको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक पाठकले जानकारी दिए ।
शनिबार नै कावासोती-१४ हेगौलीमा पोखरीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ । हेगौलीका पुरण चौधरीकी छोरी प्रिन्सा चौधरी आफ्नै घर अगाडि आँगनमा खेल्ने क्रममा नजिकै रहेको आफ्नै माछा पोखरीमा डुबेकी थिइन् । पोखरीबाट उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ल्याइएकोमा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक पाठकले जानकारी दिए।































प्रतिक्रिया