सरकार भन्छ- ‘उद्योग चलाउ’ : व्यवसायी भन्छन् – ‘चलाउनै कठिन’

सरकार भन्छ- ‘उद्योग चलाउ’ : व्यवसायी भन्छन् – ‘चलाउनै कठिन’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोनाका कारण सरकारले गरेको निषेधाज्ञासँगै अहिले अधिकांश उद्योग व्यवसायहरु संचालन हुन सकेका छैनन् ।

कोरोना भाइरसको माहाहारीका कारण यतिबेला करिब ५० जिल्लाहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सो निषेधाज्ञाका कारण अहिले ७५ प्रतिशत उद्योगहरु संचालन हुन सकिरहेका छैनन् । उद्योग संचालन गर्न सक्ने अवस्था भए पनि बजार बन्द अवस्थामा रहेकाले उत्पादन विक्रि गर्न सक्ने अवस्था नभएको उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए । ‘बिक्रि गर्न नपाएपछि उत्पादन मात्र गरेर के गर्नु ?’ वरिष्ठ उपाध्यक्ष गोल्छाले भने । अहिले २५ प्रतिशत मात्रै उद्योग मुस्किलले चलिरहेका छन् ।

बजार नखुलेपछि सामान बेच्नै समस्या भएको उनको भनाई छ । यसरी नै बन्द भनेर सधैं बस्दा अर्थतन्त्र नै चौपट हुने गोल्छाले बताए । यसरी बन्दाबन्दीको अवस्थामा बसियो भने सबै कुरा सकिने भन्दै उद्योग क्षेत्र सधैंका लागि बन्द हुने गोल्छाको भनाई छ । उद्योग व्यवसाय संचालन गर्न तुलनात्मक जोखिम हेरेर अगाडि बढ्नु पर्ने अवस्था भएको उनले बताए । अहिले संक्रमणका बेला उद्योग खोल्दा स्वाभाविक रुपमा जोखिम हुन्छ तर नखोल्दा अझै बढी जोखिम हुने वरिष्ठ उपाध्यक्ष गोल्छाको भनाई छ । उद्योग भन्दा पनि व्यापार व्यवसाय बाँच्नु पर्छ भन्छन्, गोल्छा । यदि त्यसो भएन भने झन भयावहको स्थिति आउने उनको आँकलन छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निषेधाज्ञामा पनि उद्योग खोल्न उद्योगी व्यवसायीलाई आग्रह गरिसकेको छ । उद्योग खोल्न कुनै अवरोध नहुने मन्त्रालयले जनाएको छ । तर उद्योगीले भने सरकारले संचालन गर्ने अनुमति दिए पनि बजार नहुँदा समस्या भएको बताएका छन् । कोरोना जोखिमका कारण कतिपय ठाउँहरुमा स्थानीय सरकारले उद्योग चलाउन दिएको छैन । कोरोनाको संक्रमणका कारण ठूला विकास आयोजनाको काम पनि रोकिएका छन् । व्यक्तिगत प्रयोजनका निर्माणहरु पनि रोकिएकाले उद्योग क्षेत्रको अवस्था दयनिय भएको उद्योगीको भनाई छ ।

व्यवसायीका अनुसार सिमेन्ट तथा डण्डी लगायत उद्योगहरुमा काम गर्ने अधिकांश दक्ष कामदारहरु भारतीय छन् । लकडाउन तथा निषेधाज्ञाका कारण एकातिर कामदार ल्याउन समस्या भएको छ भने अर्काेतिर उत्पादित बस्तुका लागि बजार नखुल्दा समस्या भएको छ ।

मन्त्रालयले उद्योग खोल्न चाहिने कामदार र कच्चा पदार्थ नरोक्न स्थानीय प्रशासनलाई आग्रह गरेको छ । उद्योग खोल्न वातावरण मिलाइदिन समेत गृह प्रशासन तथा स्थानीय प्रशासन दुबैलाई निर्देशन दिइसकेको छ । तर उद्योग भने पूर्ण रुपमा खुल्न सकेका छैनन् । निषेधाज्ञामा उद्योग खोल्ने उद्योगीले आफ्नो उद्योग भित्र काम गर्ने सबै कर्मचारीलाई तोकिएको स्वास्थ्य मापदण्ड पालना गराउनु पर्नेछ ।

उद्योगभित्र काम गर्ने कर्मचारीलाई उद्योग भित्रै खाने बस्ने व्यवस्था गर्नु पर्ने मन्त्रालयले जनाएको छ । उद्योग परिसरमा सम्भव नभए नजिकैको सामाजिक भवन वा विद्यालयमा कर्मचारीको व्यवस्थापन गर्नु पर्नेछ । यी मापदण्डहरु पूरा गर्न नसके कामदारलाई घरबाटै ल्याउने र लाने गर्नु पर्ने मन्त्रालयले जनाएको छ । त्यसका लागि छुट्टै गाडीको समेत व्यवस्था गर्नु पर्नेछ ।

Skip This
Skip This
Logo