कोरोना संक्रमणबाट ललितपुरमा एकसहित थप ५ जनाको मृत्यु

कोरोना संक्रमणबाट ललितपुरमा एकसहित थप ५ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरमा एक जनासहित पर्सा, बारा, कपिलवस्तु र कास्कीका रहेका छन् ।

ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५५ वर्षीय पुरुषको आज मृत्यु भएको हो । गत भदौ ७ गते भर्ना भएका उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

यस्तै कास्कीको पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन कक्षमा उपचाररत थिइन् । उनको आज बिहान ८ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । संक्रमित महिलामा अन्य कुनै दीर्घ रोग पनि थिएन । यो सँगै पोखरामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

यसैगरी पर्साको वीरगन्जमा पनि कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृतकमा वीरगञ्ज–१४ का ६२ वर्षीय पुरुष रहेका छन् ।

यसैगरी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत  कपिलवस्तुका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु जिल्लाको तौलिहवा नगरपालिका–१ का ५० वर्षीय पुरुषको गतराति उपचारका क्रममै मृत्यु भएको हो । उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पताजस्ता समस्या थिए ।

यसैगरी बाराको सुवर्ण गाँउपालिका वडा नम्बर ४ बस्ने एक गर्भवती महिलाको पनि कोरोनाबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा २३ वर्षीय पुनम यादव रहेका छन् ।

यस्तै गण्डकस्थित अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा एक जनाको बिहीबार बिहान मृत्यु भएको छ । यससँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

Logo