काठमाडौं । औषधि व्यवस्था विभागले अहिले देशभरी नै अत्यावश्यक औषधिहरुको अभाव नरहेको जनाएको छ । तेस्रो मुलुकबाट आयात गर्नुपर्ने केही औषधिहरु समयमा ढुवानी हुन नसक्दा केही समस्या देखिए पनि अत्यावश्यक औषधिको अभाव नरहेको विभागको जनाएको हो । अहिले देशका कुनै पनि संस्थाबाट निश्चित आवश्यक औषधि अभाव भएको सूचना नआएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए । नेपालमा नबन्ने बाहिरबाट ल्याउनुपर्ने औषधिहरु आउनेक्रममा केही ढिला हुँदा समस्या देखिए पनि अभावको अवस्था नरहेको उनको भनाइ छ ।
त्यस्तै चिकित्सकहरुको सल्लाह विना अनावश्यक रुपमा औषधि सेवन गर्नेहरुको संख्या बढेकोप्रति उनले चिन्ता व्यक्त गरे । औषधि सेवनले सधै स्वास्थ्यलाई फाइदा नपुग्ने उल्लेख गर्दै उनले अनावश्यक रुपमा औषधि सेवन नगर्न आग्रह समेत गरे । उनले भने–‘आवश्यकताभन्दा बढी औषधि दिएर व्यापारिक फाइदा त होला । तर यसले शरिरलाई हानी पु¥याउँछ । कतिपय अवस्थामा ज्यान पनि जान सक्छ । अनावश्यक रुपमा सेवन गर्नु हुँदैन र विक्रि पनि गर्नु हुँदैन भन्ने सबैले बुझ्नुपर्छ । बिरामीले औषधिको अपेक्षा राख्नु सामान्य भएपनि धेरै औषधि लिएर सेवन गर्ने कुरालाई निराकरण गर्नेतिर सबैले सोच्नुपर्छ ।’
त्यस्तैगरी कोरोना भाइरस विरुद्ध नेपालमा कन्ब्यालेसन प्लाज्माको अनुमति दिइएको उनले बताए । आवश्यक प्रयोजनका लागि विश्वका विभिन्न मुलुकले समेत सो औषधिलाई अनुमति दिएको उल्लेख गर्दै उनले रगतको प्लाज्मा निकालेर गम्भीर अवस्थाका बिरामीलाई दिने ‘प्लाज्मा थेरापी’ विधिको प्रयोग भइरहेको बताए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ‘एसटी’ नामक आयुर्वेदिनक औषधिको उपयोगिताका बारेमा पनि अध्ययन गरिरहेको सूचना आफूले पाएको उनको भनाइ छ ।































प्रतिक्रिया