गृहमन्त्री मन्त्रालयले मिटरब्याजी अपराध नियन्त्रण गर्न कार्यदल गठन गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बिहान गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजी सम्बन्धी समस्या समाधानका लागि उपायहरू पहिचान गरी अपराधीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन र भविष्यमा यस्ता अपराध हुन नदिन आवश्यक पहल कदमी लिन निर्देशन दिएका थिए ।
त्यसपछि गृहमन्त्री खाणले मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव डा. भिष्म भूसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन्।
कार्यदलका सदस्यमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान व्यूरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप– अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा रहेका छन्।
कार्यदलको सदस्य सचिव नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत नायब उपरीक्षक रोशन खड्कालाई तोकिएको छ।कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।





























प्रतिक्रिया