केही समययता नेपाली अपराध अनुसन्धानमा एउटा शब्द निकै चर्चित भएको छ । त्यो चर्चित शब्द हो, हनी ट्र्याप ।
हनी ट्रयापमा पारेर ठगी गर्ने प्रचलन पछिल्लो समय नेपालमा पनि निकै देखिएको छ । विदेशी मुलुकमा सुनिने यस्तो घटना नेपालमा नै सुनिन थाल्दा यस्ता आपराधिक घटनालाई नियन्त्रण गर्ने सही कानूनको आवश्यकता महसुस हुन थालेको छ । तर यस्ता घटनामा परेर ठगिएकाहरु थोरै मात्र सार्वजनिक हुने गरेका छन् । लोकलाजले पनि यस्ता घटनामा परेकाहरु चुप रहने गरेका कारण यस्ता अपराधको वास्तविक जरो थाहा हुन सकेको छैन ।
अंग्रेजी शब्द हनी ट्रयापलाई नेपाली शब्दानुसार व्याख्या गर्दा महको आकर्षणद्वारा कसैलाई पासोमा पार्ने भन्ने बुझिन्छ । मीठा–मीठा शब्दका जालमा पारेर मानिसलाई फसाउने कार्य हो हनी ट्रयाप । अंग्रेजी शब्दकोषअनुसार कुनै आकर्षक व्यक्तिद्वारा अर्को व्यक्तिलाई लोभ्याएर सूचना संकलन गर्ने जुक्तिलाई हनी ट्रयाप भनेको देखिन्छ । सुरक्षा अङ्गहरुले सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानका लागि सोसँग सम्बन्धित सूचना संकलन गर्नका लागि सुरू गरेको हनी ट्रयापको जुक्ति अहिले वित्तीय अपराधको जगमा अन्य धेरै अपराधको माध्यम बन्न पुगेको छ ।
हनी ट्रयापकोे सुरूवातीको कुरा गर्नुपर्दा राष्ट्रिय सुरक्षाका खातिर अर्को देशमा विभिन्न पद,प्रतिष्ठा र शक्तियुक्त मानिस वा अन्य आकर्षक माध्यमबाट मानिस परिचालन गरेर सुरक्षासँग सम्बन्धित सूचना संकलन गर्ने, देशका योजनाबारे जासुसी गर्ने र आफ्नो प्रतिरक्षा वा आक्रमण योजना तयार गर्ने गरेको देखिन्छ । यस्तो कार्यमा विशेषगरी महिलाको प्रयोग गर्ने गरिएको छ ।
तर, आजकल दिनानुदिन खतरा र चुनौती बढ्दो छ । प्राय: महिलाको शरीर, बोलीचाली र अन्य व्यवहारकोे आकर्षणमा पुरूषहरुलाई फसाएर आफ्नो स्वार्थ सिद्ध गर्ने कलाको रुपमा विकास भएको देखिएको छ, हनी ट्रयाप । हनी ट्रयापमा अहिले महिलाको सुन्दरतालाई अर्थोपार्जनको हतियार बनाएर तिनै सुन्दर महिलालाई प्रयोग गरेर पुरूषहरुलाई उम्किनै नसक्ने अवस्थाको पासोमा पार्ने र जुन उद्देश्यले पासोमा पारिएको हो त्यो उद्देश्य पूरा गरेर पुरूषलाई घर, परिवार, समाजका अगाडि जिउनै नसक्ने स्थीति तयार गरिएको पाईन्छ ।
एक्काइसौँ शताब्दी विज्ञान-सञ्चारको युग, त्यसमा पनि कोभिड–१९ को सङ्क्रमण र भय अनि वैदेशिक रोजगारीले इन्टरनेटको प्रयोगलाई घर–घरमा पुर्याएको छ । व्यक्ति–व्यक्तिमा पुर्याएको छ । अधिकांशले इन्टरनेटको माध्यमबाट सामाजिक सञ्जालको प्रयोग गर्न जानेपनि सुरक्षित प्रयोग गर्न जानिसकेको अवस्था देखिँदैन । कतिले जान्न चाहेका पनि छैनन् । केही मानिसलाई सामाजिक सञ्जालको यस्तो लत लागिसकेको छ कि बरू एक–दुई दिन खानै नखान सक्छन्, तर आफूसँग इन्टरनेट भएन भने छटपटी हुन थाल्छ ।
सामाजिक सञ्जालको प्रयोगमा पनि लागूऔषधको जस्तै दुव्र्यसन फैलिँदै गएको छ । मानिसले आफ्ना परिवार, नजिकका नातेदार, साथीसँगीभन्दा सामाजिक सञ्जालका साथीसँगीसँग समय बिताउन, मनका कुरा खोल्न सहज ठान्ने गरेको देखिन्छ । दिनरात नभनी सामाजिक सञ्जालमा आफ्ना भावनाहरु प्रस्तुत गर्दा कसैको फन्दामा परेको पत्तै हुँदैन र एक्कासि यस्तो जालोमा परिन्छ कि जसबाट उम्किनै सकिँदैन, अनि जुन बेला आफूलाई थाहा हुन्छ तब अत्यन्त ढिला भइसकेको हुन्छ ।
इन्टरनेटको माध्यमबाट सम्भ्रान्त परिवारका युवाहरु एवं प्रौढ, एकल पुरूष आदिसँग कुनै अपरिचित महिलाले आफ्नै सक्कली प्रोफाइलबाट वा कुनै अन्य कुनै सुन्दरीको आकर्षक फोटो राखेको नक्कली प्रोफाइलबाट परिचयको आदानप्रदान हुन्छ । केही पाउने लालचले कुनै पुरूषले त्यसको रेस्पोन्स गरेमा उनीहरुबीचको कुराकानी यतिसम्म गहिरिन्छ, यतिसम्म विश्वासमा पर्छन् कि उनीहरु नित्तान्त व्यक्तिगत कुराकानी समेत गर्न थाल्छन् ।
तत्कालै हटाउने सर्तमा केही गोप्य तस्वीरहरु पनि शेयर हुन सक्छन्, अडियो, भिडियो पनि शेयर हुन सक्छ । बिस्तारै पिडित पक्ष धोकापूर्ण मायाजालमा पर्दै जान्छ र आफूविरूद्ध प्रमाण लाग्ने, आफू फस्न सक्ने वा आफूमाथि बार्गेनिङ हुन सक्ने सबुतहरु उसलाई जुटाउँदै जान्छ भने पिडक पक्षले त्यसको संरक्षण गर्दै राखिरहेको हुन्छ ।
त्यसबेलासम्म केही रकमको लेनदेन भइसकेको पनि हुन सक्छ । हाम्रो समाजमा श्रम गर्नुपर्छ भन्ने भावना घट्दै गएको छ । प्राय: मानिसहरु आफ्नो ज्ञान,सीप र कलाअनुसारको उपलब्ध भएको श्रम गर्न छोडेका छन्, तर देशविदेशमा देखिएका सुखसुविधाहरु उपभोग गर्ने अभिलाषा भने बढाउँदै लगेका छन् ।
पसिना बगाएर नभई मानिसलाई कसरी सजिलोसँग अर्थोपार्जन गर्न सकिन्छ भन्नेमा अधिकांशले चित्त डुलाउने गरेका छन् भने जीविकोपार्जनसहित अर्थोपार्जनको माध्यम पनि यसै सामाजिक सञ्जाललाई नै बनाउने प्रयास गरेका छन् र हनी ट्रयापको प्रयोग गरेका छन् । केहीलाई यसबाट सफलता मिलेको होला तर धेरैको इज्जत, श्रम, समय, पैसा आदि सबै बर्बाद भएको छ । तसर्थ, समय भित्रैमा व्यक्तिगत रुपमै सजगता आजको अपरिहार्यता बनेको छ ।































प्रतिक्रिया