राजनीतिक दलहरुले आगामी संघ र प्रदेशको निर्वाचनमा निर्वाचन आचार संहितालाई पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । निर्वाचन आयोगले सोमबारराजनीतिक दलका प्रतिनिधिहरुलाई निर्वाचन आचार संहिताको सम्बन्धमा छलफल गर्न बोलाएको थियो ।
सो छलफलमा क्रममा बोल्दै दलका नेताहरुले निर्वाचन आचार संहितालाई पूर्ण रुपमा पालना गर्न आफुहरु तयार रहेको बताएका हुन् । नेताहरुले निर्वाचन आयोगलाई आचारसंहिता पूर्ण रुपमा कार्यान्वयन गराउनका लागि अनुगमन गर्न पनि सुझाव दिएका छन् । त्यस्तै निर्वाचन आयोगले राखेका कतिपय प्रावधानहरुको भने नेताहरुले विरोध गरेका छन् ।
आयोग सँगको छलफल पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेपाली काँग्रेसका नेता जीवन परियारले काँग्रेसले निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले निर्वाचन प्रचार प्रसारको क्रममा सामाजिक सञ्जाललाई धेरै बन्देज लगाउनु नहुने सुझाव दिएको जनाए ।
नेकपा (एकीकृत समाजवादी) का नेता डा. गंगालाल तुलाधरले छलफलमा दलहरुले आचार संहितालाई कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिएको बताए । निर्वाचनको अनुगमन सरकारी संयन्त्रमार्फत नगरी न्यायाधीशहरुमार्फत हुनुपर्ने धारणा राखेको उनले बताए । तुलाधरले आचारसंहिता पालना गर्न दलहरु इमान्दार हुने बताए ।
जनता समाजवादी पार्टी, नेपालका नेता प्रकाश अधिकारीले आचारसंहितालाई कडाइका साथ पालना गर्न निर्वाचन आयोग सक्षम हुनुपर्नेमा जोड दिए । यस अघिका निर्वाचनहरुमा कडाइका साथ पालना हुन नसकेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा पनि आचारसंहिता पालना हुन नसक्नेमा आशंका व्यक्त गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता केदारबहादुर अधिकारीले सरकारी सुरक्षा निकायसहितको अनुगमन गर्नु नुहने बताए । निर्वाचन केन्द्रित टेलिभिजन वहस र विज्ञापनहरुलाई खुला गर्नुपर्ने उनको भनाइ थियो । अधिकारीले सरकारका मन्त्रीहरुको सम्बन्धमा निर्वाचन आचारसंहिता छुट्टै बनाउनुपर्ने उल्लेख गरे ।





























प्रतिक्रिया