सरकारले विदेशबाट हवाईमार्ग हुँदै नेपाल आउने नागरिकलाई अनिवार्य होटल क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेपछि होटल व्यवसायीहरुले तयारी सुरु गरेका छन् । होटल क्वारेन्टाइनमा बस्ने व्यक्तिको होटलमा पुग्नासाथ सम्पूर्ण विवरण राख्ने, ज्वरो नाप्ने, ह्याण्ड सेनिटाइज गर्ने, लगेज सेनिटाइज गर्ने, फारम भराउने र कोठामा जाने व्यवस्था मापदण्ड अनुसार गर्ने होटलहरुले बताएका छन् ।
एयरपोर्ट होटलका व्यवस्थापक रामकुमार बन्जराले नेपाल पर्यटन बोर्डले तोकेको मापदण्ड अनुसार नै व्यवस्थापन गर्न लागिएको बताए । स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्ण रुपमा पालना गर्ने र गेष्टलाई समेत पालना गर्न लगाउने उनले बताए । त्यस्तै कुनै व्यक्तिले होटल छाडेपछि ४८ घण्टासम्म कोठा बन्द नै रहने छ ।
त्यसपछि घण्टापछि उक्त कोठालाई पूर्णरुपमा निसंक्रमण गरेपछि मात्रै अर्को गेष्टलाई प्रवेश गराइने बन्जाराले बताए । होटलमा रहदा कसैले पनि रुम सर्भिस भने पाउने छैनन् । खाजा र खाना होटलकै रेस्टुरेन्टबाट लिनुपर्ने व्यवस्था होटलहरुले गरेका छन् । रेस्टुरेन्टमा पनि भौतिक दुरीलाई कायम गरिएको बन्जाराले बताए । उनले नेपाल पर्यटन बोर्डको मापदण्ड अनुसार नै सबै व्यवस्थापन गरिने स्पस्ट पारे ।
यसैबीच होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाहले होटल क्वारेन्टाइनमा बस्नेलाई सरकारले तोके अनुसारको सेवा सुविधा उपलब्ध नगराए कारबाही गरिने बताएका छन् ।
महासंघले होटल क्वारेन्टाइनहरुको नियमित अनुगमन गर्ने र सरकारले तोकेको मापदण्ड अनुसार सुविधा नदिए सम्बन्धित होटललाई कारबाही गरिने शाहले बताए । अनुगमनका लागि महासंघले कार्यकारी महासचिव शेरबहादुर थापाको संयोजकत्वमा ७ सदस्यीय समिति समेत गठन गरेको अध्यक्ष शाहले बताए ।
उक्त समितिले दैनिक रुपमा होटल क्वारेन्टाइनको अनुगमन गर्ने र सरकारले भने अनुसारको खाना, खाजा लगायतको सेवा उपलब्ध नगराएको पाइए कारबाही गरिने बताए । सरकारले संक्रमितहरुलाई राख्न आइसोलेसन सेन्टर निर्माण गर्नको लागि होटलको माग गरेकाले बस्ती भन्दा टाढा रहेका पाँचवटा होटल उपलब्ध गराउने सम्बन्धमा महासंघमा छलफल भइरहेको पनि शाहले बताए ।
सरकारले महासंघ अन्तर्गत काठमाडौं उपत्यकामा रहेका १ सय १२ वटा होटल सहित कुल २ सय २० वटा होटलहरुहरुलाई होटल क्वारेन्टाइनको रुपमा सूचीकरण गरेको छ । जसमा ३ हजार ५ सय वटा बेड क्षमता रहेको छ । सरकारले विदेशबाट नेपाल आउने व्यक्तिलाई आफ्नै खर्चमा ७ दिन सम्म अनिवार्य होटल क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ ।
सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्त सहित नियमित उडान गर्ने निर्णय गरेको थियो । यो प्रयोजनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान तालिका बनाउने जिम्मेवारी पाएको छ । टिकट खरिदका लागि कुनैपनि यात्रुको ७२ घण्टाभित्र पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने छ ।
यस्तै नेपालमा आएपछि अनिवार्य सात दिन सम्म होटल क्वारेन्टाइनमा बस्नुपर्ने र त्यसको खर्च आफैले तिर्ने लिखित प्रतिवदता समेत टिकट खरिद गर्दाको अवस्थामै जनाउनु पर्नेछ । त्यसपछि मात्रै स्वदेश फर्किनका लागि अनुमति पाउनेछन् । यसअघि उद्दार गरी ल्याइएका केही व्यक्तिहरुले होटलमा बस्न दररेटमा बार्गेनिङ गरेकाले अबदेखि विदेशमा नै होटल र होम क्वारेन्टाइनमा बस्ने सम्मको लिखित प्रतिवद्धता गर्नुपर्ने व्यवस्था गरिएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।
जहाजको टिकट खर्च विदेशमा नै तिर्नुपर्ने र सात दिन सम्म होटलमा बसेको खर्च, घर सम्म पुग्दा लाग्ने खर्च र होम क्वारेन्टाइनमा बस्नुपर्ने विषयमा लिखित प्रतिवद्धता जनाउन नसक्नेहरु नेपाल आउन पाउने छैनन् ।





























प्रतिक्रिया