‘द पोइट आइडल’ हुँदै

‘द पोइट आइडल’ हुँदै

केन्द्रबिन्दु
0
Shares

टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’को घोषणा भएको छ ।  

नेपाली भाषाका कविहरुको प्रतिभालाई संसारसामु प्रस्तुत गर्ने उद्देश्यका साथ टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’को घोषणा गरिएको हो । कवि प्रतिभालाई लक्षित गरी पहिलो पटक यो कार्यक्रम ल्याउन लागिएको हो । 

गामबेसीका कवि क्षेत्रप्रताप अधिकारीको स्मृतिमा बन्न लागेको यो कार्यक्रमलाई अमनप्रताप अधिकारीले निर्देशन गर्नेछन् । भाग लिन इच्छुक कविहरुले कार्यक्रमको इमेल, ह्वाट्स्याप, भाइबर, फेसबुक जस्ता डिजिटल प्लेटफर्ममार्फत आफ्ना कविता आफैँले वाचन गरेको २ मिनेटसम्म लामो भिडियो पठाएर डिजिटल अडिशन दिन सक्नेछन् ।

कार्यक्रममा सहभागी बीच प्रतिष्पर्धा हुनेछ, प्रस्तुती जाँच्ने निर्णयकका साथै दर्शकहरुले पनि आफूलाई मन परेका प्रतिष्पर्धी कवि, कवयित्रीलाई भोट हाल्न पाउनेछन् । हरेक हप्ता एक जना प्रतिष्पर्धी बाहिरिने र अन्तिममा एकजना प्रतिभा ‘द पोइट आइडल’ बन्नेछ । 

प्रतियोगितको निर्णायकमा कविद्वय विप्लव प्रतिक र उपेन्द्र सुब्बाका साथमा निर्देशक तथा रंगकर्मी अनुप बराल र अभिनेत्री सुरक्षा पन्त रहनेछन् । कार्यक्रम अभिनेता दिव्यदेव पन्तले सञ्चालन गर्नेछन् । 

कार्यक्रममा बोल्दै अभिनेता पन्तले साहित्यसँग आफू धेरै पहिलाबाट नै नजिक रहेको बताए । उनले आफूले कुनै समय धेरै कविताहरुको रचना गरेको उल्लेख गर्दै अहिले रचना गर्न छोडेकोमा पछुतो लागेको बताए । कवि विप्लव प्रतिकले कवितारुपी मन्त्र द पोइट आइडलमार्फत नेपाली समाजमा कुनै न कुनै रुपले फैलिने विश्वास व्यक्त गरे । 

त्यस्तै निर्देशक एवं वरिष्ठ रंगकर्मी बरालले कविता शब्दहरुको साम्राज्य भएको बताए । उनले कवितालाई बचाइरहन आवश्यक रहेको बताए ।  कार्यक्रममा कवि उपेन्द्र सुब्बाले नेपाली समाजले कवितालाई धेरै सम्मान गरेको उल्लेख गर्दै साहित्यको जति पुरस्कार अन्य कुनैपनि विधामा नरहेको बताए । उनले यस्ता कार्यक्रमले नेपाली समाजमा साहित्यको महत्वलाई बिस्तार गर्ने बताए । उनले द पोइट आइडल अहिलेको समयमा सान्दर्भिक हुने पनि बताए । 

कार्यक्रममा अभिनेत्री पन्तले काँचो पनको मिठास भर्न आफूलाई निर्णायकमा राखेको हुनसक्ने बताइन् । उनले आफ्नो लागि यो अवसर र चुनौती रहेको बताइन् । उनले यो कार्यक्रमले पुनः आफूमा कविता फर्काएको बताइन् । त्यस्तै सञ्चारकर्मी टिकाराम यात्रीले साहित्य र सिर्जनाको क्षेत्रमा द पोइट आइडल मौलिक अभियानको प्रस्थान बिन्दु हुनसक्नुपर्ने बताए । उनले कविताका हरफ र वाक्यले भन्न नसकेको बीचका अव्यक्त कुराहरु नै कविता भएको उल्लेख गरे । 
 
कार्यक्रममा भाग लिन इच्छुकहरुले भदौ २६ गते आईतवारबाट कार्यक्रमको विभिन्न सामाजिक सञ्जालका ठेगानामा आफ्ना रचना वाचन गरेको भिडियो पठाएर कार्यक्रमको छनोट चरणमा भाग लिन पाउने आयोजकले जनाएको छ । कार्यक्रममा विश्वका जुनसुकै स्थानमा रहेका नेपाली भाषी कविले भाग लिन पाउँछन् । आइडल एपी वान टेलिभिजनबाट प्रशारण हुनेछ ।

Skip This
Skip This
Logo