हस्तकलाको सामग्रीहरुको प्रवद्र्धन गर्ने उद्देश्यले १९औं हस्तकला मेला आयोजना गरिएको छ । नेपाल हस्तकला महासंघको आयोजनामा काठमाडौंको बौद्धस्थित होटल ह्यातमा १९औं हस्तकला मेला तथा १७ औं हस्तकला प्रतियोगिता आयोजना भएको हो ।
पाँच दिनसम्म चल्ने हस्तकला मेला एवं हस्तकला प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन् । साे क्रममा राष्ट्रपति भण्डारीले हस्तकलामार्फत नेपालको पहिचान अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सकिने बताएकी छन् । हस्तकलाले रोजगारी सँगै व्यापार घाटालाई सन्तुलनमा ल्याउन गरेको योगदानको पनि उनले प्रशंसा गरिन् ।
त्यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले हस्तकला मेलाले आन्तरिक व्यापार प्रवद्र्धन सँगै विदेश निर्यातमा पनि भूमिका निर्वाह गरेको बताएका छन । मन्त्री श्रेष्ठले हस्तकलाले पर्यटन व्यवसायलाई पनि सहयोग पुर्याएको बताए ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले १० हजार युवालाई १५ करोडको लागतमा ३ महिनाको तालिम दिएर स्वरोजगार बनाउने उद्धेश्य रहेको बताएका छन् । हस्तकलाको क्षेत्रको विकासका लागि विश्वविद्यालय बनाउने योजना रहेको मुख्यमन्त्री पाण्डेको भनाइ छ ।
नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले १ आर्थिक वर्षमा सरदर १२ अर्बको हस्तकला सामग्री निर्यात भएको जनाएका छन् । वार्षिक २४ अर्ब बराबरको हस्तकला उत्पादन हुँदै आएकोमा ८ लाख बढीलाई रोजगारी दिएको शाक्यले बताएका छन ।
मंगलबारसम्म चल्ने मेलामा १ सय ५० वटा स्टल रहेका छन् । महासंघका उपाध्यक्ष रत्न तुलाधरले हस्तकलाले व्यापार घाटा कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
मेलामा करिब एक लाख जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ । हस्तकला प्रतियोगितामा काष्ठकला, प्रस्तरकला र सेरामिकको प्रयोगबाट मानवमुखा कृति भएको गरुड बनाउने विधा र प्राकृतिक रेसाहरुको प्रयोगबाट गलबन्दी बनाउने प्रतियोगिता संचालन गरिएकोे छ । प्रतियोगिताका विजयीलाई ५० हजार, ३० हजार र २० हजार रुपैयाँ सहित प्रमाणपत्रको व्यवस्था रहेको छ ।





























प्रतिक्रिया