काठमाडौं । नेपाली कथानक चलचित्र ‘सेन्टी भाईरस’ प्रदर्शनको दोस्रो सातामा छ । गत फागुन ९ गतेबाट प्रदर्शनमा आएको यस चलचित्र दोस्रो सातामा पनि हाउसफुलका साथ प्रदर्शन भइरहेको छ । देशभरमा सयभन्दा बढी हलबाट एकसाथ रिलिज भएकोे यस चलचित्र अहिले ८५ हलमा प्रदर्शन भइरहेको छ ।
यसै क्रममा चलचित्र निर्माण पक्षले आज एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ९ दिनको ग्रस कलेक्शन सार्वजनिक गरेको छ । निर्माण पक्षका अनुसार हिजोसम्म उपत्यकाभित्र मात्रै २ करोड १० लाख ३ हजार र उपत्यका बाहिर १ करोड ९० लाख ५ हजार गरि जम्मा ४ करोड ८ हजार ग्रस कलेक्शन भएको छ ।
२ करोड ८५ लाख लागतमा बनेको यस चलचित्र प्रदर्शन हुनु पुर्व नै विदेश राइट्स अन्तर्गत अमेरिकाको नेप्सिने कम्पनीले १ करोड १५ लाखमा खरिद गरेको थियो । विदेश राइट्सलाई पनि जोड्ने हो भने ‘सेन्टी भाईरस’को अहिले सम्मको ग्रस कलेक्शन ५ करोड १५ लाख ८ हजार हुन्छ । नेपाली चलचित्रले धेरैपछि यो रकम कलेक्शन गरेको हो ।
चलचित्रको क्रेज हलहरुमा अझै देखिरहेको भएपनि समिक्षकहरुले गलत समिक्षा गरिदिँदा त्यसको असर चलचित्रमा परेको निर्देशक रामबाबु गुरुङ बताउछन ।
हास्य कलाकारद्वय सिताराम कट्टेल र कुन्जना घिमिरेसँगै कलाकारहरु दयाहाङ राई, विल्सन बिक्रम राई, सन्दिप क्षेत्री, बुद्धि तामाङलगायतको मुख्य भूमिका रहेको यस चलचित्रमा राजनीति र परिवारबीचको द्धन्द्धलाई दर्शाइएको छ ।
निर्माण टिमले चलचित्रबाट प्राप्त आम्दानीको पचास प्रतिशत रकम चितवनमा निर्माणाधीन अवस्थामा रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागी सहयोग गर्ने घोषणा गरेको छ । यस अभियानमा साथ दिनका लागि पनि बिभिन्न संघसंस्थाहरुले हल बुक गरेरै चलचित्र हेरिरहेका छन् ।





























प्रतिक्रिया