जेठ ११ गतेदेखि ललितपुरमा नेपाल फेसन फेस्टिभल -२०२४ आयोजना हुँदै

जेठ ११ गतेदेखि ललितपुरमा नेपाल फेसन फेस्टिभल -२०२४ आयोजना हुँदै

केन्द्रबिन्दु
98
Shares

ललितपुरमा यही जेठ ११ गतेदेखि १३ गतेसम्म तीन दिने नेपाल फेसन फेस्टिभल २०२४ आयोजना हुने भएको छ ।

नेपालको फेसन उद्योग तथा यो क्षेत्रमा कार्यरत तथा रुचि राख्ने हजारौं व्यक्तिहरुका लागि फेशन, लक्जरी तथा ब्यूटी सेग्मेन्टहरुका बारेमा ज्ञान बाँड्न, सिक्न तथा बढ्नको लागि स्थापना भएको बिजनेस नेटवर्क प्लेटफर्म फेसन नेटवर्क नेपाल (एफएनएन)ले ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण गर्दै’ भन्ने नाराका नेपालमै पहिलो पटक यो फेस्टिभल आयोजना गर्न लागेको हो ।

यो वृहत महोत्सव ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आगामी जेठ ११ गते शुक्रवारदेखि तीन दिनसम्म हरेक दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म आयोजना हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

फेसन नेटवर्क नेपालका संस्थापक अध्यक्ष प्रशान्त ताम्राकारले नेपालको फेसन उद्योगका सबै सरोकारवालाहरूलाई सशक्तिकरण गर्ने, विकास गर्ने र उनीहरूलाई फस्टाउन सक्ने पारदर्शी र सहयोगी फेसन उद्योगको निर्माण गर्ने उदेश्यले यो महोत्सव आयोजन गर्न लागिएको बताएका छन् । ताम्राकारले फेसन नेटवर्क नेपालले नेपाली फेसन, सौन्दर्य, जीवनशैली तथा कलाको क्षेत्रको उत्सवको रुपमा तीन दिने नेपाल फेसन फेस्टिभल–२०२४ आयोजना गर्न लागेको बताए ।

आयोजक संस्थाका संस्थापक निर्देशक शेखर राज कशजुका अनुसार यो फेस्टिभल रचनात्मकता, नवप्रवर्तन तथा प्रेरणाको जीवन्त प्रदर्शन गर्ने थलो बनाउने उद्देश्यले आयोजना गर्न लागिएको हो । नेपालमै पहिलो पटक आयोजना हुन लागेको यो फेस्टिभलको अधिकांश तयारी पूरा भैसकेको आयोजक संस्थाले जनाएको छ ।

नेपालको फेसन उद्योगलाई डिजिटलाइजेन गर्दै अनलाइन र इ–कमर्शमार्फत यसलाई प्रमोट गर्ने उद्देश्यले स्थापना भएको फेसन नेटवर्क नेपालले भौतिक रुपमा समेत फेसन उद्योगलाई चलायमान, संस्थागत तथा व्यवसायिक बनाउन केही नयाँ कार्य गर्नैपर्छ भन्ने उद्देश्यले तीन दिने नेपाल फेसन फेस्टिभल आयोजना गर्न लागेको जनाएको छ।

‘हामीले एक–अर्कासंग नेटवर्किङ गर्न सकियोस्, सहकार्य गर्न सकियोस्, एक–अर्कासंग हातेमालो गर्न सकियोस् अनि आफूले हासिल गरेको अनुभव शेयर गर्न सकियोस् भनेर यो फेस्टिभल आयोजना गर्ने निर्णय गरेका हौं,’ संस्थापक कशजु भन्छन्– ‘हामीले पहिलो पटकको आयोजनामा कम्तिमा ७५ वटा स्टलमार्फत तीन दिनसम्म समाजका विभिन्न क्षेत्र, जुन हाम्रो जीवनशैलीसंग पनि नजिक छ, ती सबैलाई एउटै छानामुनि समेट्ने प्रयास गरेका छौं ।’

पत्रकार सम्मेलनमा आयोजक संस्थाका सल्लाहकार तथा रुस्काज मेकअप स्टुडियो एण्ड स्कूल अफ ब्यूटिसियन आईटिसीका निर्देशक रुस्का श्रेष्ठ तथा महोत्सवका मुख्य प्रायोजक रेजभोल कस्मेटिक्सका मार्केटिङ मेनेजर रिया अवालेले महोत्सवको उद्देश्य तथा महत्वका बारेमा प्रकाश पारेका थिए ।

नेपालको फेसन उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन, फेसन, ब्यूटी, जीवनशैली तथा कलालाई अर्थपूर्ण रुपमा सहकार्य गराउने उदेश्यले नेपाल फेसन फेस्टिभल–२०२४ आयोजना गर्ने निर्णय गरिएको हो । यो फेस्टिभल फेसन, ब्यूटी, लाइफ स्टायल र आर्टको समिश्रण हुनेछ ।

फेसन फेस्टिभल नेपालमा पञ्च एण्ड सन्स ज्वेलरी, परि कस्मेटिक्स, रिजभल, नमूना फेसन कलेज, आईआईएफटी, पिके मार्केटिङ प्रालि, इन्टा अटायर, आवरण स्किन क्लिनिक, बप्दावा, एसएस फेसन एण्ड क्राफ्ट, हेल्दी च्वाइस, प्रमानी फेसन हाउस, राष्ट्रिय पोशाक घर, श्रीकेश हेयर ओयल, एलआईएम कलेज/एएलसीका स्टलहरु रहने निश्चित भैसकेको छ ।

त्यस्तै, गुर्खा वाच, अमृता क्राफ्ट, ज्वाला राज डिजाइन, त्रिकाया, बहुबेटी फेब्रिक सेन्टर, लोगो, जुजु, मेकअप दरबार, सुट स्टुडियो, लाली, काया कलेक्सन, अर्को नेपाल, याभी, डिभाइन जेवेल्स, अस्तित्व नेपाल, साबाह नेपाल, बिआइएले पनि फेस्टिभलमा स्टल राख्ने छन् ।

महोत्सवमा अल्लो फेब्रिक्स, काठमाडौं फेब्रिक्स, चियाङ माइ, अंकित फेब्रिक्स, जानिचि कस्मेटिक्स, शमा पस्मिना, न्यू मीउ, केश यूनिसेक्स सलून, स्कूल अफ ब्यूटिसियन आईटिसी, फेडेरेसन अफ ह्याण्डी क्राफ्ट एसोसिएसन्स अफ नेपाल (एफएचएएन), जेबिजी बेसपोकले पनि स्टल सजाउने छन् ।

फेस्टिभलको फुड कोर्टअन्तर्गत पनि विभिन्न स्टलहरु राखिने छन् । फुड कोर्टमा बोता, क्रेजी यतीर रुमाली घर, थान्कस नेचुरल आईसक्रिम, मीना मिसन खाद्य उद्योग, भिलेज क्याफे, इजी फ्रूट, होक्कादो, मेक्सिकन डिजाइटले आफ्नो स्टलमा स्वादिष्ट खाद्य परिकारहरु उपलब्ध गराउने छन् ।

यसबाहेक, महोत्सवका क्रममा नेपालको फेसन उद्योगको वरपर रहेर हरेक दिन दुई वटा प्यानल डिस्कन कार्यक्रम सञ्चालन हुनेछ, जहाँ फेसन उद्योगका समस्या, सम्भावना र चुनौतीहरुका बारेमा सम्बन्धि क्षेत्रका विज्ञहरुबीच विचारको मन्थन हुनेछ । महोत्सव अवधिभर कुल छ वटा प्यानल डिस्कसन हुनेछ । यसबाहेक महोत्सवमा फेसनसंग सम्बन्धि वर्कशप तथा मास्टर क्लासहरु सञ्चालन गरिँदैछ, जहाँ फेसन उद्योगमा करियर बनाउन चाहनेहरुले सिक्ने अवसर पाउने छन् ।

फेसन भन्ने बित्तिकै ग्ल्यामर फोटोग्राफी पनि सँग–सँगै जोडिएर आउने भएकाले महोत्सवको क्रममा फेसन फोटो प्रदर्शनीसमेत आयोजना हुँदैछ, जहाँ नेपालका अनुभवी तथा सिद्धहस्त पाँच जना फेसन फोटोग्राफरले खिचेका उत्कृष्ट फेसन फोटोग्राफीहरुको प्रदर्शन गरिने छ ।

त्यसक्रममा आयोजना हुने फोटो टक सेसनमा यी फोटोग्राफरहरुले महोत्सवमा प्रदर्शन गरिएका फोटोहरुका बारेमा जानकारी मात्र गराउने छैनन्, फोटोग्राफीको अनुभव, चुनौती तथा सम्भावनाहरुका बारेमा समेत स्पष्ट पार्नेछन् ।

महोत्सवमा फेसन फिल्म शोकेस समेत समावेश छ, जहाँ फेसन भिडियोग्राफीहरु शोकेश गरिने छ। फेसन उद्योगमा आवद्ध व्यक्तिहरुले कुनै न कुनै रुपमा तयार पारेका भिडियो कन्टेन्टहरुलाई यसक्रममा प्रदर्शन गरिने छ । यसबाहेक महोत्सवमा हरेक साँझ फेसन रनवे आयोजना हुनेछ, जहा महोत्सवमै सहभागिता जनाएका बुटिक, फेब्रिक, फेसन डिजाइनरका पहिरनहरु शोकेश गरिने छ । फेसन शोमा क्याटवाक गर्ने मोडलहरु केही समयअघि अडिसनमार्फत छनोट भैसकेका छन् ।

उक्त फेसन शोमा क्याटवाक गर्दै नेपालका स्थापित डिजाइनरहरुले तयार पारेका पहिरनहरु प्रदर्शन गर्नका लागि झण्डै केही दर्जन नयाँ मोडलहरुलाई आयोजक संस्थाले पहिलो पटक र्याम्पमा प्रस्तुत गर्दैछ । उक्त फेसन शोमा सहभागिता जनाउनका लागि गत वैशाख १५ गते शनिवार गरिएको अडिसनबाट मोडलहरु छनौट भैसकेका छन् ।

Logo