दाङ । कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा छन्। ४४ वर्षीय मगर विगत १२ वर्षदेखि घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा यहीँ व्यवसायमा रमाउँदै आएका छन्। मगर कपिलवस्तुबाट दाङसम्म झरेको २५ वर्ष भएको छ। आफूमा भएको सीपलाई आयआर्जनसँग जोड्न पाउँदा उनी खुसी व्यक्त गर्छन्।
वित्तीय संस्थाबाट रु तीन लाख कर्जा लिएर सुरु गरेको श्रीजनशील मूर्ति उद्योगले अहिले मगर परिवारलाई आत्मनिर्भरसमेत बनाएको छ। उनले आफ्नो जीवन चित्रकला र मूर्तिकलामै समर्पित गर्न र यसैलाई जीविकोपार्जनको माध्यम बनाउन चाहेको बताउनुहुन्छ। हालसम्मको अनुभवबाट आफ्नो कला जीविकोपार्जनको भरपर्दो माध्यम हुन्छ भन्ने विश्वास भएको उनको भनाइ रहेको छ।
“जिल्लामा सङ्ग्रहालय र पार्कहरू बन्ने क्रम बढेको छ। ठूला होटल र पार्टी प्यालेसले पनि विशेष कलाको खोजी गर्न थालेका छन्”, उनले भने, “आकर्षक भौतिक पूर्वाधार बढ्दै जाँदा कलाको बजार पनि फराकिलो हुँदै गएको छ। आफूले अहिले मागअनुसारको उत्पादन गर्दै आएको उहाँले बताउनुभयो।” यही व्यवसायबाट पल्टुरामको परिवारले वार्षिक १२/१३ लाखको कारोबार गर्दै आएको छ। जसबाट छोरी, छोरीको पढाइ खर्च र घरायसी कामकाजमा खर्च हुने हुँदा बचत त्यति धेरै नहुने उनी बताउछन्। विभिन्न खालका मूर्तिहरु निर्माणका लागि कच्चा पदार्थ बुटवलबाट ल्याउने गरेका छन्। पछिल्लो समय यसको माग बढ्दै जाँदा व्यवसाय राम्रो हुँदै गएको उनको अनुभव रहेको छ। यहाँ उत्पादित मूर्तिहरु दाङ जिल्लासहित रोल्पा, सल्यान, प्युठान, रुकुमलगायत अन्य जिल्लामा समेत जाने गरेको छ।
मूर्तिकला व्यवसायमा महिलाको सहभागिता कमै देखिन्छ। तर पल्टुरामका श्रीमती जानकी मगर पनि लामो समयदेखि मूर्तिकला व्यवसायमै व्यस्त छन्। उनीसँगै श्रीमान् र छोराछोरी सबै सालिक तथा मूर्ति निमार्ण गरिरहेका छन्। सन्तानले बुबाआमाको सिको पनि गरिरहेका छन्। आफ्नो रुचि र स्वध्ययनले छोराछोरोहरू पनि मूर्तिकलामा लागेपछि मगर दम्पती खुसी छन्।
जानकीको दैनिकी सालिक तथा देवीदेवता र जनावरका आकर्षक मूर्ति तयार गर्नमा बित्छन्। उनको परिवारलाई नै मूर्ति बनाउन भ्याइनभ्याइ छ। पहिले पशुपालन गर्ने जानकी श्रीमानको मूर्तिकलाको सीप देखेर आफूले पनि सिको गरी श्रीमान्सरह दिनभर मूर्ति निर्माण गर्छन्।































प्रतिक्रिया