नेपाल फेसन फेस्टिभल आजदेखि सानेपामा, भव्य रह्यो उद्घाटन समारोह

नेपाल फेसन फेस्टिभल आजदेखि सानेपामा, भव्य रह्यो उद्घाटन समारोह

केन्द्रबिन्दु
56
Shares

ललितपुर । फेसन नेटवर्क नेपालको आयोजनामा आज शुक्रवारदेखि तीन दिनसम्म आयोजना हुने ‘नेपाल फेसन फेस्टिभल’ प्रारम्भ भएको छ ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बिहीवार साँझ आयोजित एक भव्य समारोहमा ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यलगायतका व्यक्तित्वले रिबन काटेर उक्त फेस्टिभलको विधिवत रुपमा उद्घाटन गरेका छन् ।

जेठ १३ गते आइतबारसम्म सञ्चालन हुने यो फेस्टिभललाई ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण’ भन्ने नाराका साथ आयोजना गरिएको छ । उद्घाटन समारोहमा आफ्नो मन्तब्य व्यक्त गर्दै प्रमुख अतिथि उप–प्रमुख शाक्यले बुद्ध पूर्णिकाको पूण्य दिन पारेर उद्घाटन गरिएको यो फेस्टिभल आफैंमा उपलब्धिमूलक हुने शुभकामना व्यक्त गरिन् ।

‘यो फेसनसंग सम्बन्धित कार्यक्रममा म अनुभवविहिन छु भन्ने लागेको थियो,’ उपप्रमुख शाक्यले भनिन्– ‘तर यो कार्यक्रमको तयारी, उद्देश्य तथा प्रस्तुतिकरण देख्दा म कृतक्ष भएँ । मलाई फेसन गर्न नआउने भए पनि मैले फेसन भनेको आफ्नै आत्मविश्वासको स्तर माथि पुर्याउनै शैली हो भन्ने बुझेकी छु । यो फेस्टिभवलले जीवन शैलीका सबै पक्षहरु समेटेको पाउँदा खुशी लागेको छ । म यो फेस्टिभलको सफलताको शुभकामना चाहन्छु ।’

उप–प्रमुख शाक्यले मेलामा प्रदर्शकको रुपमा सहभागि ८० भन्दा बढी उद्यमी–व्यवसायिहरुलाई सफलताको शुभकामना दिँदै नेपालमै बसेर केही गर्छु भन्ने हिम्मतका लागि स्यालूट गर्ने बताइन् ।

आयोजक फेसन नेटवर्क नेपालका संस्थापक निर्देशक प्रशान्त ताम्राकारले लामो समयको कठोर परिश्रमपछि नेपालमै पहिलो पटक एउटा भिन्नै प्रकारको फेस्टिभल अर्थात नेपाल फेसन फेस्टिभल आयोजना गर्न सफल भएको बताउँदै नेपालको फेसन जगतलाई फेसन उद्योगमा परिवर्तन गर्न, यो क्षेत्रमा आवद्ध भएका सम्पूर्ण व्यक्ति, संघ, संस्था, उद्यमीहरुलाई एकै ठाउँमा भेला पार्न, यो क्षेत्रमा भएका उपलब्धिहरुको बारेमा जानकारी गराउनतथा सरकारलाई नेपाल फेसन काउन्सिलको स्थापना गराउन माग गर्ने उदेश्यले यो महोत्सवको आयोजना गरिएको बताए ।

नेपालको फेसन उद्योग तथा यो क्षेत्रमा कार्यरत तथा रुचि राख्ने हजारौं व्यक्तिहरुका लागि फेशन, लक्जरी तथा ब्यूटी सेग्मेन्टहरुका बारेमा ज्ञान बाँड्न, सिक्न तथा बढ्नको लागि स्थापना भएको बिजनेस नेटवर्क प्लेटफर्म फेसन नेटवर्क नेपाल (एफएनएन) ले नेपालमै पहिलो पटक यो फेस्टिभल आयोजना गरेको हो, ताम्राकारको भनाइ छ– ‘नेपालको फेसन उद्योगका सबै सरोकारवालाहरूलाई सशक्तिकरण गर्ने, विकास गर्ने र उनीहरूलाई फस्टाउन सक्ने पारदर्शी र सहयोगी फेसन उद्योगको निर्माण गर्ने उदेश्यले यो महोत्सव आयोजन गरिएको हो ।’

उनले नेपाली फेसन, सौन्दर्य, जीवनशैली तथा कलाको क्षेत्रको उत्सवको रुपमा तीन दिने नेपाल फेसन फेस्टिभलको आयोजना गरिएको समेत बताए ।

आयोजक संस्थाका अर्का संस्थापक निर्देशक शेखर राज कसजुले यो फेस्टिभलमार्फत रचनात्मकता, नवप्रवर्तन तथा प्रेरणाको जीवन्त प्रदर्शन गर्ने थलो बनाउने उद्देश्य लिएको बताए । उनले नेपालको फेसन उद्योगलाई डिजिटलाइजेन गर्दै अनलाइन र इ-कमर्शमार्फत यसलाई प्रमोट गर्ने उद्देश्यले स्थापना भएको फेसन नेटवर्क नेपालले भौतिक रुपमा समेत फेसन उद्योगलाई चलायमान, संस्थागत तथा व्यवसायिक बनाउन केही नयाँ कार्य गर्नैपर्छ भन्ने उद्देश्यले तीन दिने नेपाल फेसन फेस्टिभल आयोजना गर्न लागेको बताए ।

‘हामीले एक–अर्कासंग नेटवर्किङ गर्न सकियोस्, सहकार्य गर्न सकियोस्, एक–अर्कासंग हातेमालो गर्न सकियोस् अनि आफूले हासिल गरेको अनुभव शेयर गर्न सकियोस् भनेर यो फेस्टिभल आयोजना गर्ने निर्णय गरेका हौं ।’ संस्थापक कसजुले भने । फेस्टिभलमा झण्डै ८० वटा स्टलमार्फत तीन दिनसम्म समाजका विभिन्न क्षेत्रलाई एउटै छानामुनि समेट्ने प्रयास गरेको उनकाे भनाई छ ।

उद्घाटन समारोहमा तीन दिनसम्म आयोजना हुने फेसन रनको समेत उद्घाटन गरिएकाे थियाे । उद्घाटन सिक्वेन्सको रुपमा बिआईए फाउण्डेसनका आठ जना व्यक्तिहरुले मोडलको रुपमा ह्वीलचेयरमै र्याम्पमा उपस्थित भएर फेसन शो प्रस्तुत गरेका थिए । उनीहरुले पालैपालो र्याम्पमा प्रस्तुत भएर उपस्थित दर्शकदीर्घालाई अभिभावना गर्दा तालीको गडगडाहटले स्वागत गरिएको थियो ।

नेपाल फेसन फेस्टिभलमा जेठ ११ देखि १३ गतेसम्म हरेक साँझ ६ बजेदेखि ७ बजेसम्म फेसन रनवे आयोजना गरिँदैछ । जहाँ दुई दर्जनभन्दा बढी मोडलहरुले फेस्टिभलमै आवद्ध भएका बुटिक तथा डिजाइनरले तयार पारेका पहिरनहरु प्रस्तुत गर्नेछन् ।

Logo