काठमाडौंँ । दिवाकर भट्टराईले निर्देशन गर्न लागेको आगामी फिल्म ‘नरसिंहाः अवतार’ यतिबेला चर्चाको विषय बनेको छ । यही फिल्मबाट महानायक राजेश हमाल ८ वर्षपछि कमब्याक गर्न लागेकाले पनि यो फिल्मले चौतर्फी चर्चा कमाएको छ ।
यही फिल्ममा नायिका नीति शाह पनि अनुबन्धित भएकी छिन् । निर्माणपक्षले नीतिको एउटा लुक्स पनि सार्वजनिक गरेको छ । सार्वजनिक लुक्समा नीतिलाई महँगो पहिरन र महँगा गहनामा सजिएकी सुन्दरीका रूपमा देखाइएको छ । फिल्ममा उनको भूमिका के हुन्छ भन्ने निर्माण पक्षले अहिलेसम्म सस्पेन्स नै राखेको छ ।
नरसिंहाको अर्थ भगवान् विष्णुको उग्र अवतार हो । निर्माणपक्षले बिहीबार फिल्मको घोषणा गरेसँगै थिम पोस्टर सार्वजनिक गरेको थियो । जहाँ, थिम पोस्टरले युद्धको सङ्केत गरेको छ ।
सार्वजनिक पोस्टरमा प्रयोग गरेको दायाँमा रातो (आगो) र दायाँतर्फ निलो समुद्रको रङ्गले फिल्मको कथा युद्ध र शान्तिको हुने संकेत गरेको छ । शान्तिका लागि द्वन्द्व हुने थिम पोस्टरले संकेत गरेको यसले पनि फिल्म द्वन्द्वप्रधान हुने प्रष्ट छ । आगो र पानीले आफ्नो अस्तित्व एकै ठाउँमा रहेर जोगाउन सक्दैनन् । त्यसैले यो लडाइँमा कसले जित्छ भन्ने हो । त्यसैले यसमा भरपुर एक्सन हुने अनुमान लगाउन सकिन्छ ।
क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने फिल्म यही भदौबाट छायाङ्कनमा जाने तयारीमा रहेको छ । फिल्मको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ ।
निर्देशक भट्टराईको अर्को फिल्म ‘मायावी’ प्रदर्शनको तयारीमा छ ।





























प्रतिक्रिया