काठमाडौँ । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘नरसिंहा अवतार’ मा कलाकारहरूको लाइनअप बन्दै गएको छ । फिल्मको निर्माणपक्षले अहिलेसम्म तीन जना मुख्य पात्रहरू फाइनल गरेको हो । एक्सन तथा सोसल ड्रामामा बन्ने यो फिल्मको शीर्षमध्ये एक भूमिकामा सनिशा भट्टराई अनुबन्धित भएकी छिन् ।
निर्माणपक्ष र उनीबीच लिखित सम्झौता भइसकेको छ । निर्माणपक्षले यो फिल्ममा सनिशाको कस्तो भूमिका छ भन्ने विषयमा भने केही पनि खुलाइएको छैन । आफूले निर्वाह गर्ने भूमिका र यो फिल्मलाई लिएर आफू उत्साहित रहेको सनिशाले जानकारी दिइन् ।
सनिशाको यो दोस्रो फिल्म हो । उनको डेब्यू अभिनय रहेको फिल्म १२ गाउँ फूलपातीमा रिलिज हुँदै छ । यही फिल्मबाट ८ वर्षपछि महानायक राजेश हमाल कमक्याक गर्दै छन् । आठ वर्षभन्दा धेरै समयपछि हमाल फिल्ममा फर्किने खबरले यतिवेला नेपाली फिल्मवृत्त उत्साहित छ ।
यस फिल्ममा निती शाह पनि यसअघि नै अनुबन्धित भइसकेकी छिन् । क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने फिल्म यही भदौबाट छायाङ्कनमा जाने तयारीमा रहेको छ । फिल्मको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ । निर्देशक भट्टराईको अर्को फिल्म ‘मायावी’ प्रदर्शनको तयारीमा छ ।
प्रतिक्रिया