पोखरा । गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङले जितेको छ । पोखरा टेलिभिजन र कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको संयुक्त आयोजनामा शनिबार भएको सातौँ गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङको जिल्ला कृषि सहकारी संघले जित्दै नगद ३५ हजारसहित प्रमाण प्राप्त गरेको हो ।
पोखरामा भएको प्रतियोगितामा म्याग्दीको प्रगति सफल कृषक समूह मालिका गाउँपालिका वडा नम्बर–६ द्वितीय, तनहुँको वेदकालिका कृषक समूह म्याग्दी गाउँपालिका वडा नम्बर–७ तृतीय भएका छन् ।
द्वितीय हुने म्याग्दीको प्रगति सफल कृषक समूहले २० हजार र तृतीय हुने तनहुँको वेदकालिका कृषक समूहले १० हजारसहित प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा लमजुङको मेन्दो कृषक समूह राईनास नगरपालिका वडा नम्बर–३ र पर्वतको विहादी आईपीएम कृषक समूह विहादी गाउँपालिकाले सान्त्वना स्थान प्राप्त गरे । सान्त्वना स्थान प्राप्त गर्ने दुबै समूहले ५÷५ हजारसहित प्रमाणपत्र प्राप्त गरे ।
विजेताहरूलाई नीति तथा योजना आयोग गण्डकी प्रदेशका सदस्य माया तिम्सिना, कृषि विकास निर्देशनालयका निर्देशक बासुदेव रेग्मी, पोखरा टेलिभिजनका प्रबन्ध निर्देशक माधव पनेरु, समाचार प्रमुख तथा कार्यक्रम संयोजक घनश्याम पाण्डेलगायतले पुरस्कार वितरण गरेका थिए ।
जिल्लाजिल्लाबाट छनौट गरेर ग्राण्ड फिनालेका लागि कृषक समूहहरूलाई जिल्लास्थित कृषि ज्ञान केन्द्रको समन्वयमा पोखरा बोलाइएको थियो । प्रतियोगिताको ग्राण्ड फिनाले शनिबार गण्डकी प्रदेशको सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले उद्घाटन गरेका थिए । प्रतियोगितामा निर्णयकमा संगितकार नवराज बराल, कलाकार शान्ति डोटेल, कृष्ण अकेली कृषि प्रसार अधिकृत विनोद शर्मा रहेका थिए ।































प्रतिक्रिया