काठमाडौँ । सञ्चारिका समूह नेपालकी केन्द्रीय अध्यक्ष तथा कवि बिमला तुम्खेवाको एकल कविता साँझ सम्पन्न भएको छ । कन्सर्टमा तुम्खेवाका १५ कविता प्रस्तुत गरिएको थियो । जसमा रैथाने संगीतकार तथा गायिका झुमा लिम्बूले ‘छालहरू, ‘सहरको बदनाम कथा’ र ‘छलि मुस्कान’ वाचन गरेकी थिइन् भने कवि सीता तुम्खेवाले ‘यो रातमा तपाईँलाई सम्झिएर’, ‘नेपालको नक्सामा किनीमाको तिहुन’ र ‘तिम्रो सम्झनामा’ वाचन गरेकी थिइन् ।
शुक्रबार ललितपुरको झम्सिखेलस्थित सोल एन्ड रेस्ट्रोमा संगीतकर्मी आदिश्री ढुंगाना र यजु आचार्यको साथमा उनको कन्सर्ट सम्पन्न भएको हो । कार्यक्रममा उपसभामुख इन्दिरा रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेललगायत विभिन्न क्षेत्रका दुईसयभन्दा बढी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
झुमा लिम्बू र सीता तुम्खेवाको संयोजनमा आयोजित यस कन्सर्टलाई बेलायत सेनाका क्याप्टेन डिक लिम्बू तुम्खेवा, सिंगापुर प्रहरी इन्स्पेटर देवेन्द्र तुम्खेवा, अमेरिकामा कार्यरत प्रमिश तुम्खेवा, कोरियामा कार्यरत केवल तुम्खेवा, पूर्वशिक्षक भविन्द्र तुम्खेवा र सुरेन्द्र तुम्खेवाले प्रायोजन गरेका हुन् । यस्तै बिमला तुम्खेवाको यसअघि भारत, हङकङ, अमेरिकामा एकल कविता वाचन सम्पन्न भइसकेको छ । साथै गुरुकुल, सर्वनाम, यलमाया र शिल्पी नाटकघरका साथै सिद्धार्थ आर्ट ग्यालरीले एकल कविता वाचन कार्यक्रम आयोजना गरेको थियो ।
प्रतिक्रिया