विप्लव समूहको सूक्ष्म निगरानी गर्न प्रहरी परिचालन

विप्लव समूहको सूक्ष्म निगरानी गर्न प्रहरी परिचालन


काठमाडौँ

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि कडा निगरानी गर्दै सरकारले सुरक्षा सतर्कता बढाएको छ । विप्लवका गतिविधि सूक्ष्म निगरानी गर्न प्रहरी परिचालन भएका छन् । प्रहरी मुख्यालयले राजधानीका प्रहरी एकाइ, प्रदेश र जिल्ला सुरक्षा समितिलाई विप्लव समूहका गतिविधिमाथि विशेष निगरानी गर्न निर्देशन दिएको हो । यस्तै नेपाल प्रहरीले सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय गरेर आपराधिक गतिविधिको सूचना संकलन र विश्लेषण गरिहेको छ ।

मुख्यालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिपक्षी दलका नेता, मन्त्री र पूर्वप्रधानमन्त्रीको सुरक्षामा खटिएका पिएसओलाई चनाखो हुन निर्देशन दिएको छ । ‘थप सचेत ढंगले ड्युटी गर्न पीएसओ र निवासमा खटिएका सुरक्षाकर्मीलाई निर्देशन दिएका छौं’, प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले भने, ‘भीभीआईपी र भीआईपी सवारीमा समेत चनाखो रहन भनेका छौं।’

सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय गरेर आपराधिक गतिविधिको सूचना संकलन र विश्लेषण भइरहेको जानकारी सुवेदीले दिए । यस्तै जिल्लाका हकमा जिल्ला सुरक्षा समितिलाई समेत जिल्लाको सुरक्षा चुनौती विश्लेषण गरेर थप सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिइएको छ । प्रहरी मुख्यालयले प्रदेश प्रमुखहरूलाई निर्देशन दिँदै सादा पोसाकका प्रहरी बढाएरै विप्लव र उसका गतिविधिबारे सूचना संकलन गर्न भनेको छ । ‘सादा पोसाकका सुरक्षाकर्मी बढाएर सूचना संकलनमा जोड दिइएको छ’, सुवेदीले भने ।
अन्नपूर्णबाट

Logo