एमाले छाड्ने तयारीमा भीम रावल, अब सरकारले सहकारी प्रकरणमा फास्ट ट्रयाकमा अनुसन्धान थाल्ने [भिडियोसहित]

एमाले छाड्ने तयारीमा भीम रावल, अब सरकारले सहकारी प्रकरणमा फास्ट ट्रयाकमा अनुसन्धान थाल्ने [भिडियोसहित]

केन्द्रबिन्दु
42
Shares

सहकारी समस्यामा परेकाहरुको समाधान सरकारले छिट्टै गर्ने
सरकारले सहकारीका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया सुरू गर्ने निर्णय गरेको छ । बिहीवार मन्त्रिपरिषद् बैठकले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया सुरू गर्ने निर्णय हो । अब सामान्य र नियमित प्रक्रियाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष छ । यो पक्ररणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने स्वयं मुछिएका छन् । उनले हालै मात्र सहकारी पीडितको रकम सरकारबाटै दिलाउने आश्वासन दिएका थिए ।

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई कारबाही गर्छुः सुमना श्रेष्ठ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आबद्ध भएका शिक्षकहरूलाई कारबाही गर्न सक्रियता देखाएकी छन् । उनकै निर्देशनमा मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि निर्वाचन आयोगसँग केन्द्रीय, प्रदेश र जिल्ला तहका सबै कार्यकारिणी समितिमा रहेका पदाधिकारीहरूको विवरण मागेको हो । मन्त्रालयमा दलीय आबद्धता भएका शिक्षकहरूको विषयमा परेका उजुरीहरूको विवरण यकिन गरी कारबाही प्रकृया अघि बढाउन आयोगको अभिलेखमा भएको दलका कार्यसमितिको विवरण माग गरेको मन्त्रालयले जनाएको छ ।

गृहमन्त्री लामिछानेविरुद्ध लेखेको भन्दै साइबर ब्युरोले आफूलाई यातना दिएको गणेशमानसिंह ठकुरीको आरोप
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध लेखेका कारण साइबर ब्युरोले यातना दिएपछि विष सेवन गरेको दाबी गरेका जाजरकोटको कुशे गाउँपालिकाका गणेशमानसिंह ठकुरीले प्रहरीमा आउनुअघि नै आफू ‘विष खाएर मर्न लागेको’ म्यासेज साथीलाई पठाएको भेटिएको छ । यता ठकुरीलाई बोलाइएको विषय गृहमन्त्री लामिछानेसँग सम्बन्धित नभई युवती चरित्र हत्यासँग जोडिएको साइबर ब्युरोको दाबी छ । तर, अस्पतालमा रहेका युवकले भने गृहमन्त्रीविरुद्ध बोलेकै आरोपमा आफूलाई ६, ७ वर्ष जेल हाल्ने चेतावनी आएको दाबी गरेका छन् ।

कर्णालीका मुख्यमन्त्री कँडेलले विश्वासको मत पाए
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबारको प्रदेश सभामा मुख्यमन्त्री कँडेलले राखेको प्रस्तावको पक्षमा २३ मत झरेको हो । विपक्षमा ११ र १ मत तटस्थमा परेको छ । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ सांसद उपस्थित थिए । प्रदेश सभामा बहुमतका लागि २१ मत आवश्यक पर्छ । केन्द्रमा नयाँ सत्ता समिकरण बनेसँगै एमालेका नेता कँडेल चैत २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

भीम रावलले एमाले त्याग्ने संकेत
नेकपा एमालेका नेता भीम रावलले पार्टी परित्यागको संकेत गरेका छन् । आफू १०औँ महाधिवेशनमा अध्यक्षमा केपी ओलीसँग प्रतिस्पर्धा गरेकै कारण हालै ललितपुरको गोदावरीमा भएको पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई परिचय पत्र समेत उपलब्ध नगराउने काम भएको भन्दै रावलले अब आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताएकाा हुन् । आफू विधि र नेपालको राष्ट्रिय हितको पक्षमा उभिँदा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा सहभागी हुनबाट वञ्चित गराइएको पनि उनलको दाबी छ ।

उपनिर्वाचनमा सेना परिचालन गर्नुः राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले यही शनिबार हुन गइरहेको इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् । उनले मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार नेपालको संविधानको धारा ६६ को उपधारा २ बमोजिम सेना परिचालनको स्वीकृति दिएका हुन् । नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्रीले आफूविरुद्ध अशोभनीय हर्कत गरेको नेसपा अध्यक्ष बाबुराम भट्टराईको आरोप
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले गएको चुनावमा गोरखा क्षेत्र नम्बर २ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छाड्नु गल्ती भएको बताएका छन् । २०७९ मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा बाबुरामकै साथमा प्रचण्ड गोरखा २ मा साझा उम्मेदवार भई निर्वाचन जितेका थिए । तर, अहिले फेरि प्रचण्डसँग छुट्टिएका उनले मतदाता र पार्टीका नेताकार्यकर्तासँग क्षमा मागेका हुन् । साथै अहिले प्रचण्डले आफूविरुद्ध अशोभनीय हर्कत गरिरहेको आरोप लगाएका छन् ।

उपनिर्वाचनमा प्रहरीले १ हजार २४ जना जनशक्ति खटाउने
इलाम र बझाङमा शनिबार हुन लागेको उपनिर्वाचनमा प्रहरीले १ हजार २४ जना जनशक्ति खटाउने भएको छ । मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन वर्गीकरण गरेर सुरक्षा व्यवस्थापन मिलाइएको हो । इलाम र बझाङमा ६९ मतदान केन्द्रलाई अतिसंवेदनशील मानिएको छ । मोबाइल जनशक्ति समेत निर्वाचनमा परिचालित हुनेछन् ।

खगेन्द्रप्रसाद र रुद्रकली हात्ती तत्काल कतार नजाने
कतारलाई उपहारस्वरुप पठाउने भनिएको दुईवटा हात्ती खगेन्द्रप्रसाद र रुद्रकली तत्काल कतार नजाने भएका छन् । कानुनी र प्राविधिक प्रक्रिया पूरा हुन बाँकी भएकाले हात्ती पठाउने काम केही दिनलाई रोकिएको हो । यसअघि कतारका अमिर शेख तमिम बिन हमाद अल थानी हिजो स्वदेश फर्कने बेलामै हात्ती पठाउने भनिएको थियो । तर कतार पठाउनका लागि नेपालको तर्फबाट सबै तयारी पूरा भए पनि कतारको तर्फबाट कानुनी तथा प्राविधिक कुरा नमिलाएको कारण कतारका राजा शेखसँगै ती नगएका हुन् । साथै हाल भाइरल भएको भिडियो फेक भएको पनि पुष्टि भएको छ ।

नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न दुई सय तीन संस्थागत विद्यालय काठमाडौँ महानगरपालिकाको सम्पर्कमा आए
काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न सूचना जारी गरेपछि हालसम्म दुई सय तीन संस्थागत विद्यालय सम्पर्कमा आएको महानगरले जनाएको छ । तीमध्ये केहीले यसअघिकै अहिलेकै नाम उचित भनेका छन् भने केहीले नयाँ नाम प्रस्ताव गरेको महानगरअन्तर्गत शिक्षा विभागकाले जानाएको छ । साथै तोकिएको समयसम्म पनि सम्बन्धित विद्यालयले नाम परिवर्तनका लागि आलटाल गरे कानुनअनुसार कारबाही गर्ने कामपाले चेतावनीसमेत दिएको छ।

बुधबार सेयर बजारमा सकारात्मक संकेत
लगातार ओरालो लागेको सेयर बजारले बुधबार सकारात्मक संकेत गरेको थियो । तर, साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचकसँगै कारोबार रकम पुनः घटेको छ । नेप्से परिसूचक ३ दशमलव २४ अंकले घट्दै १९६५ दशमलव ९३ को विन्दुमा रह्यो । ६३ लाख १२ हजार ५ सय ५२ कित्ता सेयर २ अर्ब ३६ करोड ६९ लाख रुपैयाँमा कारोबार भएको छ । हिजो २ अर्ब ५३ करोड ३६ लाख रुपैयाँको कारोबार भएको थियो । १३ मध्ये फाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार बढे पनि ८ उपसमूह घटेका छन् ।

गर्मीका कारण भारतका सडकमन्त्री नितिन गडकरी बेहोस
भारतका सडकमन्त्री नितिन गडकरीले गर्मीका कारण चुनावी र्यालीलाई सम्बोधन गर्दा आफू बेहोस भएको बताएका छन् । मुलुकको मौसम ब्युरोले मतदानका क्रममा मुलुकका केही भागमा लु चल्ने चेतावनी दिएको थियो । अत्यधिक गर्मीको पूर्वानुमानका कारण फिलिपिन्स र बङ्गलादेशमा विद्यालयहरू बन्द गरिएको छ । तर, उनी प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको पुनः निर्वाचनका लागि प्रचार गरिरहने क्रममा बेहोस भएका थिए । जसको दोष गर्मीलाई दिएका हुन् ।

वेस्ट इन्डिज‘ए’विरुद्ध नेपाली टोलीको घोषणा
वेस्ट इन्डिज ‘ए’विरुद्ध टी–२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा भएके छ । नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा टोलीको घोषणा गरेको हो । यो टोलीमा आरिफ शेखको कमब्याक भएको छ । नेपालले विश्वकप तयारीका लागि शनिबारदेखि वेस्ट इन्डिज ‘ए’सँग घरेलु मैदानमा ५ खेलको टी–२० सिरिज खेल्दै छ। वेस्ट इन्डिज ए पहिलो पटक नेपाल आएको हो।

Logo