रेलले किचिएको अवस्थामा दुई किशोरीको शव फेला

रेलले किचिएको अवस्थामा दुई किशोरीको शव फेला


पर्सा

सीमावर्ती शहर भारतको रक्सौलस्थित रेल्वे स्टेशनमा दुई किशोरीको शव फेला परेको छ । कालिकामाई गाउँपालिका–२, भेडीहारीकी १६ वर्षीया निभाकुमारी साह र वडा नं ३, हरिहरपुरकी १७ वर्षीया किरण चौरसियाको शव फेला परेको हो ।

रेलले किचिएको अवस्थामा दुवैको शव फेला परेको भारतीय प्रहरीले जनाएको छ । दुवै वीरगञ्जस्थित रानीघाटमा डेरा गरी बस्दै आएका थिए । उनीहरु वीरगञ्जको पब्लिक कलेजमा कक्षा ११ मा अध्ययनरत थिए । प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले घटनाबारे विस्तृत जानकारी लिने काम भइरहेको बताउनुभयो ।

यता म्याग्दी सदरमुकाम बेनीदेखि रघुगङ्गा गाउँपालिका–२ भगवती जाँदै गरेको ग १ ज ५८९९ नंको जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

आइतबार दिउँसो करीब ३ बजे रघुगङ्गा–३ पिप्लेतर्फको गलेश्वरदेखि माथि सडकबाट करीब १०० मिटर तल खसेर भएको सो दुर्घटनामा परी चालक गोपी परियारसहित घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये रघुगङ्गा–३ मालिकाकी ३७ वर्षीया गर्भवती सरस्वती परियार (काली) गम्भीर घाइते हुनुभएको छ ।

परियारको अवस्था गम्भीर देखिएपछि बेनी अस्पतालमा प्राथमिक उपचार गरी उहाँलाई पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

उता सिरहाको नरहा गाउँपालिकामा इँट्टा ल्याई झार्ने क्रममा आइतबार नै ट्र्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ ।

स १ त ३४६१ नंको ट्र्याक्टरमा इँट्टा ल्याई झार्ने क्रममा सोही ट्र्याक्टरले किचिएर नरहा गाउँपालिका–५ निवासी ४५ वर्षीय शिवनन्दन ठाकुरको मृत्यु भएको हो । ट्र्याक्टरले किचिएर गम्भीर घाइते भएका ठाकुरको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रासस

Logo