‘सालको पात..’ विवाद र कानूनी प्रावधान

‘सालको पात..’ विवाद र कानूनी प्रावधान

केन्द्रबिन्दु
0
Shares

(कृष्णसिंह धामी)

काठमाडौं । चर्चित लोकदोहोरी गीत ‘सालको पात टपरी’ का संगीतकार बसन्त थापाले लोक दोहोरी प्रतिष्ठानबाट अलग भएको घोषणा गरेका छन् । नेपाल आइडल सिजन–२ का विजेता रबि ओडले आफ्नो गीत खराब तरिकाले गाएको विषयमा मौन बसेकोमा असन्तुष्टि जनाउँदै थापाले लोक दोहोरी प्रतिष्ठानबाटै अलग भएको घोषणा गरेका हुन् ।

उनले सोमबार राति सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दैं प्रतिष्ठानबाट अलग भएको जनाएका थिए । उनले फेसबुकमा लेखेका छन्, ‘लोकगीतको सर्जकलाई पलपल आक्रमण भइरहँदा मौलिकतामाथि प्रहार भइरहँदा प्रतिष्ठामाथि गाली बर्सिरहँदा पनि टुलुटुलु हेरिरहनेहरु म मर्दा मलामी जान्छन् भन्ने कुरामा विश्वास गर्न सकिनँ । त्यसैले आजका मितिले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा आफू नरहेको जानकारी गराउन चाहन्छु ।’

त्यस्तै उनले भनेका छन्, ‘यस्तो सिर्जना गर्न मन छ, जसमा आवाज रवि ओडको होस र माया करोडको होस् । गाली गर्नेहरुलाई बारबार पश्चाताप होस् ।’ उनले रबी र आफ्नोबीचमा कुनै तिक्तता नरहेको भन्दै थापाले फ्यानहरुबाट आफु अपमानित भईरहेको बताएका छन् ।

अष्ट्रेलियामा आयोजित कन्सर्टमा रविले थापाको संगीत रहेको चर्चित लोकदोहोरी ‘सालको पात टपरी…’ गाएका थिए । तर, उनले गीतको लिरिक्स बिगारेका थिए । अनुमति नलिएको र तोडमोड भएको भन्दै बसन्तले असन्तुष्टि जनाएका थिए । उनले सर्जकको अनुमतिबिना तथा त्यो पनि बिगारेर गाएको भन्दै त्यसप्रति असन्तुष्टि जनाएका थिए ।

रबिले मागे माफी


उक्त प्रकरणमा रबि ओडले बसन्त थापासँग सार्वजनिक रुपमै माफी मागेका छन् । उनले आफु सधै सिकारु रहेको भन्दै बाध्यताले उक्त गीत गाउँदा मिस्टेक भएको प्रतिक्रिया दिए । रविले तयारीबिना दर्शकको मागअनुसार गीत गाउँदा त्रुटि हुन पुगेको प्रतिक्रिया दिएका थिए ।

उनले सामाजिक सञ्जालमा लेखेका थिए, “म सधैं भन्ने गर्छु म शिकारु हुँ, सिक्ने क्रममा छु, म भूईबाट नै पलाएको हुँ, मेरो धरातल र पृष्टभूमि कहिले भुल्दिन र भुल्ने छैन, ‘नेपाली सांगीतिक आकाशमा, आदरणीय सर्जक र अग्रजहरुको त्याग तपस्या र समर्पणले गर्दा नै आज नेपाली संगीतले यतिको उंचाई लिएको छ, जहाँ हामी रम्न सिक्न पाएका छौ, संगीतलाई निरन्तरता दिन पाएका छौं, यस्ता अग्रज श्रष्टाहरुको अपमान त के, म त्यसको कल्पनासम्म पनि गर्न सक्दिन !’

रविले बसन्तसंग कुरा गर्दै माफी पनि मागेका छन् । तर रविका फ्यानहरुले बसन्तलाई गालीगलौज गरेपछि उनी तनावमा छन् ।

प्रतिष्ठान मौन बसेकोमा बसन्त थापाको आपत्ति


बसन्तले रविसँग व्यक्तिगत बैमनश्यता नभएको प्रतिक्रिया दिएका छन् । तर, व्यवसायिक प्रयोजनका लागि अनुमति विना अरुको गीत गाउन नहुनेमा उनको जोड छ । यो प्रकरणमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मौन बसेको भन्दै उनले त्यसको सदस्यबाट अलग भएको घोषणा गरे ।

यस विषयमा उनले थप प्रक्रिया दिन चाहेनन् । उनले भने, ‘म अहिले एकदमै तनावमा छु । धेरै कुरा गर्न सक्ने अवस्थामा छैन् । रबी र मेरोबीचमा त्यस्तै कुनै बैमनश्यता छैन् । तर यो विषयमा प्रतिष्ठानको कुनैपनि प्रतिक्रिया नआउँदा अचम्ममा परेको छुँ । यो विषयमा अहिले थप केही बोल्न चाहन्न ।’

बसन्त थापालाई पशुपति शर्माको साथः
राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका उपाध्यक्ष पशुपति शर्माले बसन्त थापाले उठाएको माग जायज भएको प्रतिक्रिया दिएका छन् । बसन्तको विवादलाई नजिकबाट नियालिरहेको भन्दै शर्माले उनले उठाएको कुरा सही भएको बताए ।

हरेक सर्जकलाई आफ्नो सिर्जनाको माया हुने भन्दै शर्माले भने, ‘आफ्नो गीतलाई स्टेजमा कसैले तोडमोड गरेर गाउँदा चित्त दुख्नु स्वभाविकै हो । त्यसमाथि अरुको गीत गाउँदा सम्वन्धित स्रष्टासँग अनुमति पनि लिनुपर्ने हुन्छ । गाउनु अगाडि उनीहरुको नाम लिनुपर्छ । त्यो गरेको देखिएन ।’

यो विषयमा फागुन १ गते बस्ने प्रतिष्ठानको बैठकमा छलफल हुने बताए । सामाजिक सञ्जालमा आईरहेका नकारात्मक कमेन्टहरुबाट विचलित नहुन सुझाव दिँदैं शर्माले थापालाई कुनै पनि विषयमा संस्थागत ढंगले जानुपर्नेमा जोड दिए ।

फाुगन १ गतेको बैठकमा व्यापक छलफल हुन्छः अध्यक्ष, बद्रि पंगेनी
प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनीले पनि फाुगन १ गतेको बैठकमा यस विषयमा व्यापक छलफल हुने बताए । बैठकमा रजिष्टार रोयल्टी प्रस्तोता समाजलाई पनि बोलाएर छलफल गर्दै आवश्यक निर्णय लिईने पंगेनीको भनाई छ । अध्यक्ष पंगेनीले हरेक समस्याको समाधान हुने भन्दै सबै एक भएर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

यो समस्या सबैको भएको भन्दै अध्यक्ष पंगेनीले भने, ‘समस्या हामी सबैबाट हो । सम्बन्धित निकायबाट हो । यसमा दोशी म पनि छु कि हामिले प्रतिलिपी अधिकारको बारेमा दर्सक श्रोता र कलाकारलाई बुझाउन सकेका छैनौ । अब त्यो अभियानमा लाग्नु पर्छ यस्को श्रेय वसन्त थापालाइ जाने छ रबि ओड र बसन्त थापा दुबैको गल्ती देख्दिन बरु मिडियाले सत्य तथ्यमा शिर्षक बनाइदिनु जरुरी छ ।’

के छ कानूनी प्रक्रिया ?
कुनै सिर्जनाको चोरी तथा प्रतिलिपीको नियन्त्रण गर्न कानून बनेको छ । जसले गर्दा सर्जकलाई आफ्नो सिर्जना सुरक्षित राख्न मद्धत मिल्छ । तर गीत संगित क्षेत्रमा यो कानून अनुसार कारवाही भएको खासै जानकारीमा छैन् । सार्वजनिक कार्यक्रममा चर्चित गीतहरुलाई सबैले गाउने गरेका छन् ।

देशविदेशमा हुने गरेका महोत्सव तथा सांस्कृति कार्यक्रममा कुनै सर्जकको सिर्जना प्रस्तुत गर्नुभन्दा पहिला उसको अनुमति लिनुपर्छ । कानूनले पनि त्यही भन्छ । व्यवसायी प्रायोजनको कार्यक्रम भए सर्जकलाई पनि पारिश्रमिक दिनुपर्ने हुन्छ ।

उक्त कानूनको उल्लघन गरेमा त्यस्तो व्यक्तिलाई कसूरको मात्रा अनुसार दश हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुबै सजायको व्यवस्था छ ।

त्यस्तै दोस्रो पटक देखि पटकै पिच्छे बीस हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुबै सजाय हुनेछ । त्यस्तै संरक्षित अधिकारको उल्लङ्घन गर्ने व्यक्तिबाट प्रतिलिपि अधिकार प्राप्त व्यक्तिलाई परेको नोक्सानीको क्षतिपूर्ति समेत भराईनेछ ।

के भन्छन् गीत संगीतका जानकार

गीत संगीतका जानकार दुर्गा पंगेनी यो प्रकरणमा रबिको हातबाट गल्ती भएको देख्छन् । उनले न त बसन्त थापाबाट अनुमति नै लिए न त गीत गाउनुभन्दा पहिला सर्जकको नाम लिए त्यसकारण पनि बसन्तले यो विषय उठान गर्नु एकदमै जायज भएको पंगेनीको भनाई छ । यस विषयमा सम्बन्धित निकायले गम्भीर भएर सोच्नुपर्ने बेला आएको उनको भनाई छ ।

रबिले गल्ती स्वीकार गरिसकेको र बसन्तले पनि माफी दिईसकेको अवस्थामा शुभचिन्तकहरुबाट भईरहेको प्रहारप्रति उनले दुःख व्यक्त गरे । ‘दुवै जना मिलिसकेका छन् । तर जसरी शुभचिन्तकहरुबाट एकअर्कामाथि प्रहार भईरहेको छ । यो गम्भीर छ ।

यसको समाधान भनेको रबि र बसन्त एक ठाउँमा बसेर दुवैले स्पष्टिकरणसहितको विज्ञप्ती निकाल्नु नै उत्तम हुन्छ’ पंगेनीले भने । रबि र बसन्त प्रकरणमा फ्यानहरु उग्र बन्द विवाद झन झन बल्झिदैं गएको उनको भनाई छ ।

विगतमा पनि यस्ता घटना बेला बेला बाहिर नआउने गरेका होईन् । तर आएर केही समय सेलाउने प्रवृतिले यसको दिर्घकालिन समाधान निस्कन सकेको थिएन् । अब भने प्रतिष्ठान यसको दिर्घकालिन समाधानका साथ अघि बढ्ने भएको छ ।

Skip This
Skip This
Logo