टुँडिखेलमा मगर समुदायले यसरी मनाए माघी (भिडियोसहित)

टुँडिखेलमा मगर समुदायले यसरी मनाए माघी (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । माघे संक्रान्तिको अवसरमा मगर समुदायले काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेका छन् । नेपाल मगर संघले टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा मगर समुदायका विभिन्न साँस्कृतिक नृत्य, कला संस्कृति र परिकार प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा मगर समुदायका बालबालिकादेखि वृद्धवृद्धासम्म आफ्नो साँस्कृतिक पोशाकसहित आएका थिए । मगर समुदायले आफ्ना छोरी–चेलीको पूजा गरी यथाशक्य दक्षिणाका साथ आशीर्वाद दिने चाडका रुपमा माघे सङ्क्रान्ति रहिआएको छ ।

कार्यक्रममा छोरी–चेलीको पूजाका साथै उक्त समुदायको प्रसिद्ध नृत्य हुर्रा, कौरा, मारुनी, भ्याउरे, टप्पा र सालैज्यू नृत्यसहितको गीत–सङ्गीत प्रस्तुत गरिएको थियो ।

भाङग्रा र घलेक पहिरिएका युवायुवतीका विभिन्न समूहले नाचगान गरेर हर्षका साथ माघे सङ्क्रान्ति मनाएका थिए । सो अवसरमा मगर समुदायको प्रसिद्ध खेल धनुषबाण पनि खेलिएको थियो । उक्त समुदायले माघ महिनामा तरुल, सकरखण्ड, गिठ्ठा, भ्याकुर, खिचडीलगायत परिकार खाने गर्दछन् ।

नेपालको मेचीदेखि महाकाली तथा तराईदेखि हिमालसम्म बसोबास रहेको मगर समुदाय जनसङ्ख्याका हिसाबले तेस्रो ठूलो जाति हो । सरकारी आँकडामा मगर समुदायको जनसङ्ख्या १८ लाखको हाराहारी रहेको देखाए पनि उक्त समुदायले आफ्नो जनसङ्ख्या ३० लाख रहेको दाबी गर्दै आएको छ ।

Logo