जापानमा रोजगारी प्रक्रिया सुरु गर्न छलफल

जापानमा रोजगारी प्रक्रिया सुरु गर्न छलफल


काठमाडौं

नेपाली कामदार जापान पठाउने प्रक्रिया सुरु गर्ने सम्बन्धमा छलफल भएको भएको छ । जापानको मन्त्रिपरिषद्ले केही समयअघि आप्रवासी कामदार लैजाने सम्बन्धी नीतिगत मापदण्ड अनुमोदन गरेसँगै नेपाली कामदार जापान पठाउन द्विपक्षीय छलफल सुरु भएको हो ।

यस विषयमा सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र जापानी राजदूत मासामिची सेइगोबीच भेटवार्ता भएको छ । भेटवार्तामा कामदार लैजाने प्रक्रियाका बारेमा छलफल भएको थियो । जापान रोजगारीका लागि जान आकांक्षीले आधारभूत जापानी भाषा जानेको र जापानी भाषा परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा.नारायण रेग्मीका अनुसार जापानबाट एक प्राविधिक समूह छिट्टै नेपाल आउने भएको छ ।

जापानी प्राविधिक र नेपाली प्राविधिकको छलफल पश्चात उयपुक्त विधि, प्रक्रिया र संरचना तयार हुनेछ । प्रवक्ता रेग्मीले दुवै देशको पारस्परिक हित अनुकूल हुने गरी संरचना तयार हुने बताए । मन्त्रालय स्रोतका अनुसार यसअघि नै जापानले नेपाली कामदार लैजाने विषयमा अवधारणापत्र पठाइसकेको छ । उक्त अवधारणापत्रमाथि मन्त्रालयका सहसचिवको नेतृत्वको प्राविधिक टोलीले अध्ययन गरिरहेको छ।

मन्त्री विष्टले जापानमा कामदार पठाउँदा भर्ना र छनोट प्रणालीलाई पारदर्शी र भरपर्दो बनाउने बताएका छन् । योग्यता, क्षमता, सीप र दक्षताका आधारमा प्रतिश्पर्धाका आधारमा नेपाली कामदार छनोट गरी जापान पठाइने उनले जानकारी दिए । उनले जापान रोजगारका नाममा मध्यस्ता र बिचौलियाको पक्षमा आफूहरू नरहेको बताए ।
अन्नपूर्णबाट

Logo