ब्रेकअप’ पछिको कथामा ‘रमिताको पिरती’

ब्रेकअप’ पछिको कथामा ‘रमिताको पिरती’

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । नेपाली चलचित्र ‘रमिताको पिरती’ ‘ब्रेकअप स्टोरी’मा तयार भएको निर्देशक सुदिप्ताले बताएका छन् । चलचित्रको श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक भएपछि बुधबार नेपाल चलचित्र क्याम्पसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले चलचित्रमा रमिता नामक पात्रको ‘ब्रेकअप’ पछिको कथालाई देखाइएको बताए ।

उनले भने, “नेपालमा यस्तो विषयमा चलचित्र बनेको छैन जस्तो लाग्छ । यो एउटा युवतीले प्रेममा ‘ब्रेकअप’ भएपछि के गर्छिन् वा साँचो प्रेम खोज्दा आउने परिस्थितिमा आधारित रहेर तयार गरिएको हो । मलाई यस्तै कथामा चलचित्र बनाउन मन थियो । यसको कथासँग अहिलेको नयाँ पुस्ताले आफूलाई जोडिएको महसुस गर्नेछ जस्तो लाग्छ ।”

निर्देशक सुदिप्ताका अनुसार चलचित्रको कथा ‘रमिता’ नामक पात्रकै वरिपरि घुम्छ । चलचित्रमा रमिताको भूमिका अभिनेत्री आना शर्माले निभाएकी छन् । उनले यस चलचित्रमा अभिनयसँगै कार्यकारी निर्मात्रीको जिम्मेवारी पनि सम्हालेकी छन् ।

“मैले महिला केन्द्रित पहिलो चलचित्रमा काम गर्दैछु । यसको कथासँग अपनत्व महसुस गरेकीले नै कार्यकारी निर्मात्रीका रूपमा जोडिएकी हुँ । नयाँ कथालाई स्थान दिने ऊर्जावान् समूहसँग मिलेर काम गरेमा मात्र नयाँ विषय र नयाँ चलचित्रकर्मीको आगमन हुन्छ । यो चलचित्र नियमितभन्दा फरक छ भन्ने कुरा यसको प्रचार सामग्रीले पनि प्रस्ट्याउँछ,” शर्माले भनिन् ।

यसै चलचित्रमार्फत गायनमा परिचित गायक समीर श्रेष्ठ अभिनेताका रूपमा प्रस्तुत भएका छन् । प्रायः आफ्नै गीतका श्रव्यदृश्य (म्युजिक भिडिओ) मा देखिँदै आएका श्रेष्ठले यसपटक अभिनेताको नयाँ परिचय थपेका छन् ।

उनले भने, “मैले अभिनय गर्ने सोच बनाएको थिएँ, तर सही समय र पटकथा पाउन सकेको थिइनँ । अभिनेता बन्ने प्रस्ताव आउँदा टोली मन प¥यो र विषयवस्तु पनि राम्रो लाग्यो । सबै कुरा मिलेपछि किन पर्खिने भनेर अभिनय यात्रा सुरु गरेको हुँ ।”

श्रेष्ठले आगामी दिनमा गायन र अभिनयलाई सँगै अगाडि बढाउने बताएका छन् । चलचित्रमा धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगित, थिन्ले लामालगायत कलाकारको पनि अभिनय रहेको छ । चलचित्रको पटकथा निर्देशक सुदिप्ताले नै लेखेका हुन् भने शिशिर विशङ्खेको छायाङ्कन, सुनिल सिवाकोटीको सम्पादन र कृतिका बरालको नृत्य निर्देशन रहेको छ । चलचित्र आगामी माघ २३ गतेदेखि प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।

Skip This
Skip This
Logo