५ करोडका नायक राजनराज (भिडियो सहित)

५ करोडका नायक राजनराज (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

अदिती पौडेल

एक ताका थियो, आफूले भरेको संगीत र रचेको गीत चर्चित गायक–गायिकाले गाइदिए कस्तो हुन्थ्यो भन्ने लाग्थ्यो राजनराज शिवाकोटीलाई । अहिले धेरै वर्षपछि आफ्नो त्यो विगत सम्झँदा उनलाई अनौठो पनि लाग्छ– हुन पनि दोलखाको एउटा पहाडी बस्तीको मध्यमवर्गीय परिवारबाट काठमाडौ आएका उनीप्रति परिवारको चाहना बेग्लै थियो । छोराले पैसा कमाओस, राम्रो शिक्षा आर्जन गरोस्, नाम कमाओस भन्ने स्वाभाविक चाहना परिवारको थियो । तर उनले परिवारको भन्दा आफ्नो मनको सुनेका थिए र होमिएका थिए गीत संगीतको दुनियाँतिर ।

संघर्षका दिनहरूमा शिवाकोटीलाई लाग्थ्यो– गीत चर्चित भयो भने कम्तीमा त्यसको क्षतिपूर्ति त होला । उनले सोचेजस्तो हुन गाह्रै भयो । आजित भएर बीचमा एकचोटि त पेसै छाडिदिने हो कि भनेर व्यवसायतिर पनि लागे ।

अहिले तिनै राजनराज शिवाकोटीको कथा मोडिएको छ । उनका गीत राखी आफ्नो चलचित्र राम्रो बनाइदिनका लागि निर्माता, निर्देशकहरू उनलाई पछ्याइरहेका छन् । झण्डै संगीतलाई छाडेर अर्को पेसा गर्न लागेका शिवाकोटी अहिले युट्युबमा ५ करोडभन्दा बढीले हेरिएका चर्चित सर्जक बनेका छन् ।

उनका शब्द, संगीत र स्वर रहेका तीनवटा गीतले लगालग नेपाली सांगीतिक बजार नै कब्जा गरेका छन् । युट्युबमा त हिट भइगए । जनजनको मन–मुटुमा बसेका छन् । पहिलो, ‘सुर्के थैली खै’ गीतले युट्युबमा २ करोड भ्युवर्स नाघिसकेको छ । उनको अर्को गीत ‘पूर्व पश्चिम रेल’ ले पनि २ करोड भ्युवर्स कटाएको छ । पछिल्लो गीत ‘कुटुमा कुटु सुपारी दाना’ ले त ४० दिनको आसपासमै एक करोड भ्युवर्स पाएको छ, जुन नेपाली गीत संगीतको दुनियाँमा नौलो रेकर्ड हो ।

चलचित्र ‘वडा नं ६’ को ‘सुर्के थैली..’ एक करोड र दुई करोड भ्युवर्स पाउने पहिलो नेपाली गीत हो । त्यसपछि फिल्म ‘छ एकान छ’ को ‘पूर्व पश्चिम रेल’ र चलचित्र ‘२ रुपैयाँ’को ‘कुटुमा कुटु सुपारी दाना’ले एक करोड नघाएको हो । यी तीनवटै गीतको रचना र संगीत शिवाकोटीकै हो । तीनवटै गीतमा पुरुष स्वर पनि उनकै छ ।

‘मलाई अब संगीतबाट अन्त मोडिन नदिने गरी यी गीतले उचाइ पाएका छन् । अडियन्सले समातेर राखेका छन्,’ शिवाकोटी भन्छन्, ‘यो सफलताले नेपाली अडियन्सको रुचि केमा छ भन्ने पनि झल्कन्छ ।’

लोकलयमा आधुनिकीकरण उनको गीतका विशेषता देखिन्छ । गाउँघरमा बोलिने टिपिकल शब्द यी तीनवटै चर्चित गीतमा सुन्न पाइन्छ ।
‘नयाँ पुस्ताले नेपाली शब्दहरू शब्दकोष नै पल्टाएर हेर्नुपर्ने अवस्था नआओस् । बोलीचालीका भाषालाई जीउँदोजाग्दो राख्न सकियोस् भनी मैले यस्ता शब्द छानेको हँु,’ आफ्नो प्रयोगबारे उनी सुनाउँछन्, ‘त्यस्ता रचनालाई लोकलयको ढाँचामा संगीत भरेपछि बेग्लै स्वाद हुँदो रहेछ ।
सुर्के थैली, रौं कातेको, तिउनताउन, डाँडाबारी, मदानी जस्ता शब्दहरू अहिलेका बालबच्चाले नसुनेको पनि हुनसक्छ । तिनीहरूमा पनि जिज्ञासा होस् र अभिभावकबाट अर्थ थाहा पाउन सकून् भन्ने मेरो ध्येय हो ।’

लोकलय समाउने शिवाकोटीका मन पर्ने गायक चाहिँ गोपाल योञ्जन, नारायण गोपाल, भक्तराज आचार्य र अरुण थापा हुन् । उनलाई गीत चाहिँ स्वदेश गान बढी मन पर्दो रहेछ । भन्छन्, ‘योञ्जनका गीतहरू ‘बनेको छ पहराले यो छाती मेरो’, ‘देशले रगत मागे’, ‘पश्चिम कोही पूर्व घर’, भक्तराज आचार्यको ‘हजार आँखा हेर्ने’, ‘मुटु जलिरहेछ’ लगायतले मेरो मन–मस्तिष्क तानिरहन्छन् ।’


त्यसो त शिवाकोटीले २०५८ सालतिर सांगीतिक दुनियाँमा खुट्टा टेकेका हुन् । सुरुमा पप गीतमा उनको रुचि थियो । त्यही कारण पप गीत गाउने, कम्पोज गर्ने, लेख्ने गरे उनले । नवीन के भटराईले उनको रचना र संगीतमा दर्जनभन्दा बढी गीत गाएका छन् । अन्जु पन्त, रामचन्द्र काफ्ले, जुनु रिजालसहितले उनको ‘सुर्के थैली खै’ गीत आउनु पूर्व नै अरू गीत गाइसकेका थिए ।

माओवादी आन्दोलन उत्कर्षमा पुगेको, देशमा राजनीतिक वार्ताको लहर चलेको बेला शिवाकोटीले ‘वार्ता गराइदेऊ’ बोलको तेहरी ल्याएका थिए । शब्द उनकै थियो । रामचन्द्र काफ्लेसँगै उनको स्वर पनि थियो । २०६२ सालतिरको उनको यो तेहरी गीतले राजनीतिक द्वन्द्वको अवस्थालाई पारिवारिक झगडाका रूपमा उतारेको थियो । त्यही गीतबाट रामचन्द्र काफ्लेले उचाइ पनि लिए ।

‘सुर्के थैली’ भन्दा अघिसम्म उनी गीत लेखन र संगीतमा मात्र केन्द्रित भए । उनी संख्यात्मक रूपमा धेरै गीत सिर्जना गर्नुपर्छ भन्नेमा छैनन् । थोरै सिर्जना गर्ने तर अब्बल गर्ने उनको विशेषता छ । राजनका शब्द र संगीतमा रहेका नवीन भटराईले गाएको ‘अलिकति पीडा हुँदा नि’, प्रकाश तिमिल्सिनाले गाएको ‘प्रिय तिम्रो सिउँदोमा’, अनामिका मल्लले गाएको ‘कि फर्की आऊ’, मनीषा पोखरेलको स्वर रहेको ‘हाम्रो प्रेम यदि छुट्यो भने’ बोलको गीत उनलाई मन पर्छ । त्यस्तै, उनको संगीत, राजन राईका शब्द र अञ्जु पन्तको स्वर रहेको ‘जिन्दगी यो फूलैफूलको थुंगो हँुदैन’, जुनु रिजालले गाएको ‘डाँफे झै नाच्ने हिमाल झै हाँस्ने’, धेरैले मन पराएका गीत हुन् ।

गीत रचना र संगीत त उनले २०६८ सालसम्म आइपुग्दा धेरै गरे । तर कमाइ हुन सकेन । उनी गायकको रूपमा समेत गणनामा आएनन् । उनी एक किसिमले फ्रस्टेड भए । पारिवारिक जिम्मेवारी बढ्दै गयो । पेसा बदल्ने कि भन्ने पनि लाग्यो । त्यसपछि व्यवसाय सुरु गरे । डेढ वर्ष संगीततिर खासै लागेनन् । तर, आफूले भनेजस्तो सजिलो किन हुन्थ्यो ? व्यवसायको नाममा उनी नराम्ररी डुबे ।

‘हैट, यस्तो त भएन’ भनेर उनी फेरि फर्के आफ्नै फिल्डमा । र, २०७० सालमा उनको ‘सुर्के थैली’ गीत आयो । यो गीत उनको सांगीतिक जीवनमा यस्तो टर्निंग प्वाइन्ट भयो जसले उनलाई कहिल्यै पछाडि फर्कन नपर्ने गरी सफलतामा पुऱ्यायो ।

 

 

Skip This
Skip This
Logo