अमेरिकामा यतिबेला गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् (एनसीसी) चुनाव लागेको छ। अझ भनौं अमेरिकामा रहेका नेपालीहरु एनआरएनएको चुनावमा व्यस्त छन् । उक्त चुनाव मे २९ र ३० तारिखमा अनलाइन माध्यमबाट हुँदैछ।
चुनावका लागि उम्मेद्वारहरु प्रचार अभियानमा व्यस्त छन्। सधैंपनि निकै खर्चिलो र भड्किलो सुनिदै आएको एनआरएनएको चुनाव यो वर्ष पनि उसैगरि उम्मेद्वारहरू मैदानमा उत्रिएका छन् । गुट–उपगुटसहितका समूहहरू चुनावमा सक्रियरूपमा लागेका छन्।
तर, यही चुनावी माहोलभित्र एक त्यस्ता स्वतन्त्र उम्मेद्वार छन् जो, गुटगत राजनीति भन्दा परोपकारी कर्ममा विश्वास राख्छन्। उनी हुन् सुरेश वाग्ले। जसले, एनआरएन अमेरिकाको एनसीसीको बोर्ड अफ डाइरेक्टर पदका लागि उम्मेद्वारी दिएका छन्।
नेपालको सर्लाहीस्थित हजरिया घर भई विगत १२ वर्षदेखि अमेरिकाको बोस्टनमा बस्दै आएका वाग्ले उतै व्यवसायिक जीवन विताइरहेका छन्। तर, यतिबेला भने उनी मातृभूमी नेपालमै छन्। लामो समयदेखि परोपकारी कर्म गर्दै आएका वाग्ले पछिल्ला दिनयता सेवामा तल्लिन् छन्।
हाल नेपाल कोरोना कहरले अस्तव्यस्त छ। थुप्रै नागरिक अस्पतालमा छन् भने कतिपय बन्दाबन्दीका कारण बेरोजगार बनेका छन्। हातमुख जोर्नै नसक्ने अवस्थामा छन्। यीनै गरिब र विपन्नहरूमाझ वाग्ले सामाजिक भावसहित सहयोगका हात अघि बढाइरहेका छन्।
‘साथीहरूले चुनावी अभियानमा धेरै खर्च गर्दै हुनुहुन्छ भन्ने सुनेको छु, तर महामारीका बेला म नेपालमै छु। अमेरिकामा गर्ने खर्चले म यहाँ अझै धेरै सेवा गर्न सक्छु,’ वाग्ले भन्छन्,‘म अन्य प्रतिस्पर्धी तथा उम्मेद्वारहरूलाई पनि आग्रह गर्न चहान्छु कि, एनआरएनए आफैंमा सामाजिक संस्था हो, त्यसैले यो चुनावी खर्च नेपालमै लगाउँ, अझ धेरै परोपकार गरौं।’
अमेरिकाको बोस्टनमा रहेको संगीत विद्यालय ‘हिमालयन कल्चरल एकेडेमी’ जसका उनी अध्यक्ष हुन्। त्यस्तै सोही स्थानमा रहेको पशुपति बुद्ध फाउन्डेसनमा उनी वरिष्ट उपाध्यक्षका रूपमा रहेर काम गर्दै आएका छन्।
वर्तमानमा मात्र नभएर वाग्ले विगत लामो समयदेखि परोकारी कर्ममा छन्। यतिमात्र नभएर उनी एक उत्कृष्ट गीतकारका रूपमा परिचित व्यक्ति हुन्। थुप्रै कलाकर्मीसँग काम गरिसकेका वाग्ले व्यवसायसँगै अमेरिकामा नेपाली भाषा साहित्य अनि नेपाली संस्कृतिलाई जोगाउन क्रियाशील छन्। उनले वोस्टन लगायतका स्थानमा थुप्रै नेपाली स्टार कलकारहरूको उपस्थिति गराएर लाइभ कन्सर्टहरू गराउँदै आएका छन्।
अमेरिकाको बोस्टनमा रहेको संगीत विद्यालय ‘हिमालयन कल्चरल एकेडेमी’ जसका उनी अध्यक्ष हुन्। त्यस्तै सोही स्थानमा रहेको पशुपति बुद्ध फाउन्डेसनमा उनी वरिष्ट उपाध्यक्षका रूपमा रहेर काम गर्दै आएका छन्। भन्छन्, ‘विशेष गरेर अमेरिकामा नेपाली भाषा साहित्य, कला र संस्कृतिलाई जोगाउन हामी लाग्नु पर्छ भनेर कल्चरल विद्यालय, रेकर्डिङ स्टुडियो लगायतमा लगानी गरेका हौं, कम्युनिटी भवन निर्माणको काम पनि तीव्र भइरहेको छ, जसले नेपाली कम्युनिटीलाई सधैं एकजुट बनाइरहने छ,’ पुराना पुस्तासँगै नयाँ पुस्ताका लागि पनि वाग्ले सचेत छन्।
आजसम्म व्यक्तिगत हिसाबमा परोपकारी सेवा गर्दै आएका वाग्ले अब भने गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषदमा रहेर काम गर्न चाहन्छन्। संस्थाभित्र जिम्मेवार पदाधिकारीका हैसियतमा रहेर नेपाली कम्युनिटीका लागि आफ्नो कार्यकाल खर्चने चाहाना छ उनमा । त्यसैले स्वतन्त्र उम्मेद्वार भएपनि सबैको साथ र सहयोग प्राप्त हुनेमा उनी विश्वस्त छन्। सहयोगका लागि अपिल पनि गर्दछन्।
‘हामीले एनआरएनए’का पदाधिकारीहरूको धेरै आलोचना गर्यौं। यस्तो उस्तो भनेर सल्लाह र सुझाव मात्र दिने काम गर्यौं। त्यसैले एक पटक आफैं गरि हेरौं न त भन्ने सोचसहित उम्मेद्वारी दिएको हुँ, सबैको साथ मिल्नेछ भन्ने आशा राखेको छु’ वाग्ले भन्छन्।
यद्यपि, स्वतन्त्र उम्मेद्वारी दिएका उनमा चुनावमा सफल–असफल जे भए पनि सामाजिक कर्मबाट भने नटाढिने संकल्प छ। भन्छन्, ‘मैले गुट उपगुटमा लागेर जित्नु भनेको जितेर पनि हार्नु हो। त्यसैले मलाई हारेर पनि जित्न मन छ। म हारे पनि संस्थामा मात्र नरहने हुँ, परोपकारी सेवाबाट पक्कै टाढिने छैन।’





























प्रतिक्रिया