शम्भु राईको सम्झनामा जेबी टुहुरेः ढुंगाको सिरानी लगाएर सुतेको हिजैजस्तो लाग्छ

शम्भु राईको सम्झनामा जेबी टुहुरेः ढुंगाको सिरानी लगाएर सुतेको हिजैजस्तो लाग्छ

केन्द्रबिन्दु
0
Shares

उमेरले पाका। हेरिरहे एकटकले। हेर्दाहेर्दै ती पाका वृद्धले अनुहार बिगारे। गहिरिँदै गएको उनको आँखाबाट केही थोपा आँशु झरिहाल्यो। रुमाल रहेनछ। हातले पुछे।

भने, ‘बाबु! जिन्दगी के रहेछ र…?’ र, हिँडे। सायद बुझे होलान्, अर्थ जीवनको।
बजिरहेथ्यो गीत– ‘आमा दिदीबहिनी हो, कति बन्छौं सुखको प्यासी बनेर..।’

यो गीत गाउने गायक हुन्, जे.बी. टुहुरे। उनै टुहुरेप्रति राता अक्षरमा लेखिएको रहेछ, ‘हार्दिक श्रद्धाञ्जली।’

अनि, दायातिर टुहुरे। बोल्न आँटेजस्तै। तर, थाहा छ, तस्बिरले बोल्दैन। छेउमा रहेछ, रातो कपडाले बेरिएको टेबल। नजिकै थालीमा सयपत्री फूल र अबिर।

स्थानः माओवादी केन्द्रको कार्यालय पेरिसडाँडा, काठमाडौं। 

बिहीबार ठीक ३ः२५ बजे। उनै टुहुरे देखिए, कफनमा। जबकि, टकटक हिँडेर आएको देखिन्थे अरु बेला।

तर, कफनमा बेरिएका उनी चीर निद्रामा थिए। लगे उनलाई राता टेबलमा। 

आएछन् वरिष्ठ संगीतकर्मी शम्भु राई पनि। बसे गेट छेउमै। राई उनै हुन् जो टुहुरेसँग ४४ वर्ष सँगै थिए। गाउँ गाउँमा जनताका गीत गाउँदै हिँडे। 

आमा, दिदीबहिनीमा क्रान्तिभाव जगाए। किसान, मजदुर र श्रमिकको पीडा र अधिकारका कुरा गीतमार्फत् सुनाए। जनवादी आन्दोलन जुरुक्क उठाए।

दुःखद्! यी उत्पीडित वर्गलाई उठाउने मध्येका एक जना टुहुरे भने कहिल्यै नउठ्ने गरी सुतेका थिए।

उनै टुहुरेलाई हेर्दै राईले भने, ‘एउटा ‘पिलर’ ढल्यो, धेरै दुःख लागेको छ, जेबी दाइलाई गुमाएका छौं । उहाँको आत्माको चीर शान्तिको कामना गर्दछु।’

हुन त जन्म मृत्युका लागि हो। मृत्यु सबैको निश्चित हो। अनिश्चित भने मृत्युको मिति मात्रै हो। 

दिवंगत टुहुरेसँग ४४ वर्षसम्म जनताको गीत गाएका शम्भुलाई यो कुरा थाहा नभएको पनि होइन। भएर चाहिँ के गर्ने? मृत्युलाई प्राकृतिक नियम भनेर सहजै स्वीकार्न कसले सक्छ र?

शम्भुलाई पनि त्यस्तै भएछ। 

उनका अनुसार टुहुरेसँग जनताका गीत गाउन थालेको २०३४ सालदेखि हो। जतिबेला पञ्चायती कालरात्री थियो। जनअधिकारका गीत गाउनु जोखिम थियो। 

टुहुरे, शम्भुसँग जनवादी/प्रगतिशील गीत गाउनेहरू रामेश र मञ्जुल पनि हुन्। उनै चार जनाको हो, ‘संकल्प परिवार’।

शम्भु पुराना दिन सम्झन्छन्, ‘परिवर्तनका निम्ति संगीत भनेर, देशको आमुल परिवर्तनका लागि भनेर जेबी दाइसँगै हामी चार भाइ संकल्प परिवारमार्फत् एक ठाउँमा आयौं, पटक–पटक जनताका गीत गाउँदै जाँदा ढुंगाको सिरानी लगाएर सुतेको हिजै जस्तो लाग्छ।’

चार भाइ जनवादी संगीतकर्मीहरूले जनताका गीत गाउन थाले यता पञ्चायत इतिहास भइसकेको छ। देशमा नयाँ व्यवस्था गणतन्त्र आएको छ। जनअधिकार स्थापित भएको छ।

शम्भु यी राजनीतिक उपलब्धिमा कहीँकहीँ टुहुरेको पनि योगदान देख्छन्।

‘जेबी दाइसँगै हामीले गीतको माध्यमबाट जनताको आँखा उघार्ने काम गर्यौं, जसले परिवर्तनका लागि आन्दोलनमा जनता सडकमा ओर्लिए भन्ने लाग्छ’, शम्भु बताउँछन्।

शम्भु यसो भन्दै गर्दा उता जनवादी गायक टुहुरेको भने गन्तव्य पशुपति आर्यघाटतिर तय भयो।

बज्यो अर्को गीत–‘बसाइँ हिँड्नेको ताँतीले…। तर, उनलाई के थाहा?  मलामीको ताँती भयो भनेर ।

हार्दिक श्रद्धाञ्जली, जेबी टुहुरे।

Skip This
Skip This
Logo