जेलबाट रेशम चौधरीको कविताः थारू हारेको छ

जेलबाट रेशम चौधरीको कविताः थारू हारेको छ


अहिले डलरसँग भारु हारेको छ

डलर र भारुको भीडन्तमा

थारू हारेको छ ।

डलरहरु छाती ठोक्छन्

भारुहरु मुड्की बजार्छन्

भित्रभित्रै डलर भारु मिलेकै छन्

डलर र भारुको बीचमा

नेपाली रुपैयाँको अवमूल्यन ?

नेपाली भएर अवमूल्यित हुनु पनि त भुलै रहेछ

नेपाली भएरै त आज थारु हारेको छ ।

पहिले मुग्लानमा भीड थियो, कमाउनेहरुको

अहिले यूरोप, अमेरिकामा छ ।

हिजो मुग्लानमै पनि बर्चस्व थियो

आज सात समुद्रपारी छ ।

हामी दुवैतिर कमजोर छौं

कमजोर हुनु पनि त भुलै रहेछ

कमजोर भएरै त आज थारु हारेको छ ।

थारु चुपचाप थियौं, सबै स्वीकारेकै थियौं

बस्तीमा आई तिमीले सिकायौ, चेतना दियौ

अधिकारको परिभाषा बुझायौं

बदलाको आतिथ्यमा, दालभात दियौं

दारु पिलायौं, मासु खुवायौं

क्रान्तिकारीलार्ई स्वीकार छ भन्यौं

डकारी डकारी खायौ, थपिथपि खुवायौं

जे माग्यो त्यही दियौं, बिश्वास गर्‍यौं

बिश्वास गर्नु पनि त भुलै रहेछ

विश्वास गरेरै त आज थारु हारेको छ ।

बल्ल बोली फुट्दै थियो

बोल्दै थियौं आफ्ना पहिचानका लागि

सुनेनौ हाम्रा आवाज तिमीले

नसुनिकनै गोली बर्सायौ

तर्साउँदैछौ अहिलेसम्म !

गोली खाएर पनि चुप छौं ।

चुपचाप सहनु पनि त भुलै रहेछ

सहेरै त आज थारु हारेको छ ।

के बोकाएनौ हामीलाई ?

झोला बोकाएनौ कि बन्दुक ?

झोला बोक्यौं

बन्दुक बोकेर सहिद भयौं

तिमीले देश हाँक्यौ

हामी चुपचाप घर फर्कियौं।

हाम्रो मौनता तिम्रो लागि विजय भयो

तिमी सिंहदरबार छिर्यौ

हामी झुपडीमा फक्र्याैं

झुपडीमा फर्किनु पनि त भुलै रहेछ

फर्किएरै त आज

थारु हारेको छ ।

सय रुपैयाँको तमसुक लाख बनायौ

मालपोत बुझाउने बहानामा सारा सम्पत्ति लुट्यौ

अक्षर नजानेकै निहुँमा ल्याप्चे ठोकायौ

जग्गा जमिन सबै हडप्यौ

हामी कमैया बनेर

दासता स्विकारी रहयौ“

स्विकार्नु पनि त भुलै रहेछ

दासता स्वीकारेरै त

आज थारु हारेको छ ।

संविधान बन्नेबेला अधिकार माग्यौं

सबैले पाए, हामीले पाएनौं

कसैले रोजी रोजी लिए

हामीले पनि माग्यौं तर पाएनौं

कुटाई खायौं

कुटाई पिटाइ सब सह्यौं

सहनु पनि त भुलै रहेछ,

सब सहेरै त

आज थारू हारेको छ ।

जलाउनेहरु, गोली ठोक्नेहरु

हाम्री छोरीचेली बलात्कार गर्ने जल्लादहरु

बस्ती जलाउनेहरु सबै पूजिएकै छन्।

तिनलार्ई तिम्रो आशीर्वाद छ ।

हामी अन्याय सहेर चुपचाप छौं

कोही जेलमा छौं

कोही परदेशमा छौं

तिम्रो न्यायिक आशातित नजरलाई हेर्दै

आशा गर्नु पनि भुलै रहेछ

आशा गरेरै त

आज थारु हारेको छ ।

माग त भौगोलिक सांस्कृतिक

पहिचानसहित प्रदेशको हो !

तर जातीय राज्यको झुठो आरोप लगाएर

संसार झुक्याउँदैछौ

र पनि हामी चुपचाप छौं

आरोपित भएर सहनु पनि त भुलै रहेछ

आरोप सहेरै त

आज थारु हारेको छ ।

हामी तरकारी पनि बाँडेर खान्छौं

बाँडेर खानु हाम्रो चलन हो<br />

अर्काको भाग खोसेर खाने नियतै छैन

तिमी हाम्रो भाग जबर्जस्ती खोसेर

कुपुकुपु खाँदैछौ

हामी टुलुटुलु हेर्दैछौं

र पनि चुपचाप छौं।

खोसुवामा पर्दा समेत सहेकै छौं

अन्याय सहनु पनि त भुलै रहेछ

अन्याय सहेरै त आज

थारु हारेको छ ।

तिमीले झुठो बोले साँचो हुन्छ

हामीले साँचो बोले झुठ ?

झुठो बोलेरै सरकार चलाउ“दैछौ

हामी झुठो आश्वासनमै मख्खै छौं

अझै तिम्रो बिश्वासमा अल्झिरहेका छौं

बिश्वास नै हाम्रो पहिचान हो !

बिश्वास गर्नुपनि त भुलै रहेछ

बिश्वास गरेरै त

आज थारु हारेको छ ।

तिमीलार्ई थाहा छ, थारूले दारु खान्छ

दारु खाए नशा चढ्छ

नशा चढे उन्माद ?

उन्माद्ले उन्मुक्ति खोज्छ

उन्मुक्तिको उत्तर क्या हुन्छ

थाहा छ ?

त्यसपछि भन्ने मौका पनि मिल्ने छैन

थारु हारेको छ ! थारू हारेको छ !!

थारू हारेको छ !!!

Logo