असोज २१ गतेदेखि फिल्म हल खुल्ने

असोज २१ गतेदेखि फिल्म हल खुल्ने

केन्द्रबिन्दु
0
Shares

कोरोनाका कारण  बन्द रहेका सिनेमा हललाई प्रशासन कार्यालयले सञ्चालनको अनुमति दिए पनि प्रदर्शनका लागि नयाँ फिल्म नहुँदा हलहरु बन्द छन् ।

तर, शनिवार बलिउड फिल्म ‘सूर्यवंशी’ ले तिहारलाई रिलिज डेट तोकेपछि आइतवार चलचित्र संघले असोज २१ गतेबाट हल खोल्ने निर्णय गरेको छ । नेपाल चलचित्र संघका महासचिव अशोक शर्माको संयोजकत्वमा बसेको बैठकले १८ महिनादेखि फिल्म प्रदर्शन कार्य पूर्ण रुपमा बन्द भएकाले अब उप्रान्त २ हप्ताको अन्तरालमा फिल्म रिलिज गर्ने निर्णय गरेको छ ।

त्यस्तै, नेपाली फिल्मले तोकेको मितिमा विदेशी फिल्म प्रदर्शन नगरिने पनि संघको निर्णय छ । फिल्म रिलिजवापत निर्माताले पाउने शेयर पनि बढाइने भएको छ । संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वदेशी र विदेशी फिल्मको शेयर बाँडफाँडको हकमा पहिलो हप्ता ५५ प्रतिशत शेयर रकम निर्माता/वितरकलाई भुक्तानी गरिनेछ । दोस्रो हप्तामा ५०/५० प्रतिशत हुनेछ ।’

पहिला फिल्म रिलिजको पहिलो हप्तामा निर्माताले ५० प्रतिशत र दोस्रो हप्ता ४५ प्रतिशत शेयर पाउने गरेका थिए । अब पहिलो र दोस्रो हप्ता ५/५ प्रतिशत बढाइएको छ । 

Logo