लामो समयको अन्तरालपछि काठमाडौंको कालिकास्थानमा रहेको सर्वनाम नाटकघरमा नाटककार अशेष मल्लको परिकल्पना तथा निर्देशनमा तयार पारिएको गीति नाटक सपना अनेक अनेक मञ्चन हुने भएको छ ।
सर्वनामले आफ्नो चार दशकको इतिहासमा पहिलो पटक गीति नाटक प्रस्तुत गर्ने तयारी गरेको हो । कवि गीता खत्रीको खण्डकाव्य आमा हुन् आमामा आधारित प्रस्तुत गीति नाटकमा वरिष्ठ संगीतकार राजु सिंहको संगीत तथा चर्चित गायक सत्यराज आचार्य र वानिका प्रधानको स्वर रहेको छ । गीतिनाटकमा सर्जकको काव्यिक भाव र तिनको समग्र प्रभावलाई केन्द्रविन्दुमा राखेर बिम्ब र प्रतीकलाई चित्रात्मकता दिने कोशिष गरेको निर्देशक अशेष मल्ल बताउँछन् ।
नेपाली संगीतको हरेक विधामा तीन दशकदेखि कर्म गर्दै आएका संगीतकार राजु सिंहले सपना अनेक अनेक मार्फत संगीतकारको भूमिका निर्वाह गर्न पाउँदा खुशी व्यक्त गरे । उनी भन्छन् – “प्रस्तुत गीति नाटक मार्फतपूर्ण संगीतकार भएको महसूस गरेको छु । गर्व पनि लागिरहेको छ । यसले नेपाली गीति नाटकमा विशेष योगदान पुर्याउने विश्वाश लिएको छु ।”
गायक सत्यराज आचार्यले गीति नाटकमा आफू पनि सहभागी हुन पाउँदा खुशी लागेको बताए । उनी भन्छन् – “यो गीति नाटकका गीतहरू गाउँदा मलाई गीत हैन जीवन बाँचेको अनुभूति भयो । धेरै गीतहरू गाएँ, प्राय हर दिन गीत गाईरहेकै हुन्छु तर सँधै गाउने भन्दा नितान्त र बेग्लै प्रवाहको यो गायनले मलाई अझै पनि तरङ्गित बनाईरहेको छ । सङ्गितकारसँग सहकार्य गर्दै, निर्देशकको परिकल्पनालाई कोरियोग्राफर हुँदै कलाकारका अभिनयसम्म पुगेको यो प्रस्तुति साच्चै नै नवीतम प्रयोग भएको छ ।”
विदेश पुग्न सपना बुन्नेहरू, विदेशको माटोमा पुगेपनि आफ्नै देशको यादले रात दिन तड्पिरहेका हुन्छन् । त्यो एउटा प्रतीक हो । चाहे जुनसुकै मुलुकमा पुगेपनि आफ्नै माटो र आफ्नै आमाको मायाले पिरोलिरहन्छ । आमा अर्थात् नेपाल आमा । आमाको त्यो विम्व नै नाटकको सार हो । गीतिनाटकको कोरियोग्राफी प्रमिला कार्की उप्रेतीको रहेको छ भने मनोज महर्जन, भावना उप्रेती, रविना परियार, धिरज थापा, मिलन शाक्य, निरीक्षा घतानी, शूँ–गूको अभिनय रहेको छ । गीतिनाटक श्रावण ५ गतेदेखि २१ गतेसम्म मञ्चन हुनेछ ।





























प्रतिक्रिया