आफूले आफैलाई चिन्नुहोस्

आफूले आफैलाई चिन्नुहोस्


  • प्रेम रावत

एक पटकको कुरा हो । एकजना किसान जङ्गलको बाटो भएर हिँड्दै गर्दा अचानक एउटा सिंहको बच्चा (डमरु) लाई भेटे । उनले यताउता हेरे तर कसैलाई पनि देखेनन् । सिंहको बच्चा अत्यन्तै भोको र तिर्खाएका कारण मरणासन्न अवस्थामा थियो । त्यो सिंहको बच्चोको त्यस्तो हालत देखेर ती किसानलाई दया लाग्यो । त्यसलाई लिएर उनी आफ्नो घरतिर लागे । खुवाइ–पियाइ गराएर सिंहको बच्चाको भोक मेटिएपछि ती किसानले त्यसलाई कहाँ राख्ने भनेर सोच्न थाले । उनले धेरै भेडा पालेका थिए । उनले त्यो सिंहको बच्चालाई पनि त्यही भेडाको बगालमा सँगै राखिदिए ।

अर्कोदिन भेडाहरू चर्नलाई बाहिर निस्कँदा त्यो सिंहको बच्चो पनि उनीहरूसँगै बाहिर निस्क्यो । यस्तै गर्दागर्दै धेरै वर्ष बित्यो । त्यो सिंहको बच्चो पनि भेडाहरूसँगै चरिरहन्थ्यो, उनीहरूसँगै निस्कन्थ्यो र उनीहरूसँगै बेलुका घर फर्कन्थ्यो ।

यसैगरी एकदिन त्यो सिंहको बच्चा भेडाहरूसँग चरिरहेको बेलामा अचानक एउटा ठूलो सिंह जङ्गलबाट आयो र भयङ्करले गर्जना गर्‍यो । त्यो गर्जन सुनेर ती स–साना भेडाहरू डरले काम्न थाले र झाडीभित्र लुक्न लागे । सिंहको बच्चा पनि भेडाहरू जस्तै डराएर लुक्नतिर लाग्यो । ठूलो सिंहले भेडासँगै त्यो सानो सिंह पनि लुक्ने कोसिस गरिरहेकोे देखेपछि त्यो ठूलो सिंहले सानो सिंहको नजिक गएर भन्यो– “तिमी के गरिरहेको छौ ?” सानो सिंहले भन्यो– “म लुक्ने कोसिस गरिरहेको छु ।” सिंहले भन्यो, “तिमी के सोच्छौ, म तिमीलाई खान्छु त ?” त्यसपछि सानो सिंहले भन्यो, “अँ, तपाईँले मलाई खानुहुन्छ !” ठूलो सिंहले भन्यो, “होइन, होइन । तिमीलाई थाहा छैन, तिमी को हो ?” सानो सिंहले भन्यो, “अँ, म को हुँ भनेर त मलाई थाहा छैन, तर तिमीले मलाई खान्छौ भनेर चाहिँ थाहा छ, त्यसैले म लुक्न चाहन्छु ।” सिंहले भन्यो, “होइन, साँच्चै तिमीलाई ‘तिमी को हौ’ भनेर थाहा छैन ? तिमीले आफूलाई भेडा नै भनेर सोचेका छौ तर तिमी भेडा होइनौ । आऊ, मसँगै आऊ ।”

त्यसले उसलाई पोखरीको किनारमा लिएर गएपछि भन्यो– “हेर, आफ्नो छायाँलाई हेर !” सानो सिंहले आफ्नो छायाँलाई हेरेर भन्यो, “साँच्चै नै म त ती भेडाहरू जस्तो रहेनछु । म त तिमीजस्तै पो छु ।” उसले ठूलो सिंहप्रति आभार प्रगत गर्न लाग्यो । अनि सिंहले भन्यो, “किन ! मैले त तिमीलाई यथार्थमा ‘तिमी को हौ’ भनेर देखाएको मात्र हुँ ! तिमी भेडा होइनौ । तिमी भेडाहरूसँग त अवश्य रहन्थ्यौ तर तिमी भेडा होइनौ । तिमीले उनीहरूसँग रहँदा बस्दा तिमीले आफूलाई पनि ‘भेडा नै हुँ’ भनेर सोच्न थाल्यौ ।”

तपाईको वास्तविक स्वरूप के हो ? तपाई को हुनुहुन्छ ? आजसम्म त तपाईँले आफ्नो नाता सम्बन्धका बारेमा सोचिरहनु भएको थियो– “म कसैको छोरा हुँ, म कसैको काका हुँ ।” यही कुराहरूलाई नै बुझ्यौँ । तर, वास्तविक नाता के हो ? त्यो कुन चीज हो जसको उपस्थितिमा सबैथोक हुन्छ र नहुँदा केही पनि रहँदैन । हामी बाहिरतिरको चीजलाई मात्रै चिन्ने कोसिस गर्दछौँ । तर, हामीभित्र रहेको जुन चीज छ, के हामीले त्यसलाई पनि चिन्ने कोसिस गर्‍यौँ– ‘मेरो वास्तविक स्वरूप के हो ?’ हामीले हाम्रो वास्तविक स्वरूप के हो भनेर थाहा पाएपछि हाम्रा धेरै भ्रमहरू हट्नेछन् ।

(यो लेख प्रेम रावतको सम्बोधनलाई सम्पादन गरी साभार गरिएको हो । उहाँ मानवता र शान्तिका विषयमा चर्चा गर्ने अन्तर्राष्ट्रिय वक्ता हुनुहुन्छ । उहाँको सन्देशका बारेमा थप जानकारीका लागि www.premrawat.com र प्रतिक्रियाका लागि [email protected]   प्रयोग गर्न सक्नुहुनेछ ।)

Logo