कोरोनाको आतंक मडारिंदै गर्दा दुतावासलाई प्रवासीको अनुरोध

कोरोनाको आतंक मडारिंदै गर्दा दुतावासलाई प्रवासीको अनुरोध


  • एम गुरागाईं
    ताज्मानिया, अष्ट्रेलिया

म अष्ट्रेलियाको ताज्मानिया राज्यमा केही समयअघिदेखि बसोबास गरिरहेको छु । अष्ट्रेलियाको यो सानो राज्य आइपुग्न मेलबर्नवाट एकघण्टाको ‘फ्लाइट’ वा पानीजहाज प्रयोग गर्नुपर्छ । यो टापुको आकासमा पनि कोरोना भाइरस (कोभिड १९) मडारिन थालेपछि यहाँ बस्ने सबैमा आतंक फैलिएको छ, अन्यत्र जस्तै । कोरोनाको पहिलो तथा सर्वाधिक शक्तिशाली प्रभाव यहाँ देखिइसकेको छ । अर्थात हामी अधिकांश बेरोजगार भइसकेका छौं ।

अष्ट्रेलियाका धेरैजसो नेपालीहरुले काम गरिरहेको क्षेत्र हो, हस्पिटालिटी र ‘एच केयर’ । कोरोनाको पहिलो प्रभाव यसैमा पर्यो र हामीलाई कम्पनीले छुट्टी दियो । म पनि छुट्टी पाउने मध्ये एक हुँ । मलाई लाग्छ विद्यार्थी बनेर अष्ट्रेलिया आएका सबैजसोको छुट्टी भइसकेको छ । अर्थात हामी सबै बेरोजगार बनेका छौं ।

अष्ट्रेलिया कोरोनाको दोस्रो स्टेजमा छ, सायद । आजको कुरा गर्दा यहाँ २ हजार ७ सय ९९ जना संक्रमित छन् । समाचार अनुसार आज १ सय २३ जना थपिएका छन् । यस राज्यको कुरा गर्दा यहाँ जम्मा ४८ जनामा देखिएको छ । यहाँ अहिले नै पूर्णरुपमा लकडाउन गरिसकिएको छैन । तर, ‘डिपार्टमेन्टल’ स्टोरहरु खाली भइसकेका छन् । भनेको र चाहेको सामान पाउन छोडिएको छ । समग्रमा भविष्य कहालिलाग्दो देखिएको छ ।

यस राज्यमा कति नेपाली बस्छन् यकिन छैन । भनिन्छ, अंग्रेजी र चाइनिज पछि नेपाली बोल्नेहरुको संख्या बढी छ । अर्थात हामी तेस्रो स्थानमा छौं । यही राज्यमा नेपालबाट ल्याइएका १० हजार भुटानी शरणार्थीहरु बस्छन् भन्ने पनि सुनेको छु । तर, सुरक्षाको सवालमा हिजो एउटा गम्भीर प्रश्न उठाएका छन् यहाँका प्रिमियर (मूख्यमन्त्री)ले । उनले भनेका छन् –‘ताज्मानियाका जनताकालागि म गर्छु । अरुकालागि सक्दिन । अरुहरुले घर गए हुन्छ ।’

उनको कुरा कति मानवीय छ ? समग्रमा कति जायज छ ? यसको लेखोजोखा हुँदै जाला । तर, उनको यस भनाईको पछाडि हाम्रो दुरावस्था लुकेको छ । उनको मतलव के हो भने हामी जस्ता विद्यार्थी तथा विदेशीहरुकालागि उनको राज्यले सहयोग गर्ने छैन । कोरोनाले हामी ग्रसित हुँदा हामीले सहयोग नपाउन सक्छौं, उनको भनाईले यही संकेत गर्छ ।

हामी यसैपनि संकटमा छौं, बेरोजगार बनेपछि । यहाँ सबैभन्दा महंगो हुन्छ, घरभाडा । गाऊँ जस्तो लाग्ने यो ठाऊँमा पनि साताको ५ सय डलर तिर्नुपर्छ । सिड्नीतिर त ७ सयसम्म पर्छ साताको । यसैमा ‘एडजस्ट’ गरेर बसेका हुन्छौं हामी । त्यसैगरी बिजुली, पानीको विषय पनि गह्रौ नै छ । र, यो भन्दा पनि विद्यार्थीहरुले महंगो ‘फि’ तिर्नै पर्छ । ‘फि’ मिनाहा नगर्न र सहुलियत नदिनकालागि अनलाईनबाट पढाउन थालिएको छ । करोडौं रुपैया शो गरेर अष्ट्रेलिया आएका विद्यार्थीले ‘फि’ तिर्न सक्दिन भन्ने आधार छैन । तर, सहुलियतकालागि भने पहल गर्न सकिन्छ । दुईदिन अघि सिड्नीमा एक नेपाली विद्यार्थीले ‘ट्रेन’वाट हामफालेर आत्महत्या गरेको खवर सुनेको छु । यहाँ आउने नेपालीले आत्महत्या यसरी पनि गर्दै आएका छन् । मलाई लाग्छ, उनको आत्महत्याको एउटा कारण अहिलेको अवस्था पनि हुनसक्छ ।

आत्महत्या नगरेपनि बेरोजगारीको समय लम्बियो भने धेरै नेपाली विद्यार्थीको ‘बास’ सडकमा हुन सक्छ । त्यसकारण ‘एनआरएनए’ र खासगरी हाम्रो दुताबासले यो समयमा विद्यार्थीको ‘फि’ मा सहुलियत दिन पहल गर्नुपर्छ । र, त्योभन्दा पनि घर भाडामा समेत सहुलियत दिलाउन कोशिस सुरु गर्नु पर्छ । नेपाली विद्यार्थी तथा ‘नन रेसिडेन्टल’हरुकालागि दुतावासले यस्तो पहल गर्दैन भने उसको आवश्यकता र औचित्यतामा प्रश्न उठ्छ,–उठ्छ । दुतावासले सक्दैन भने नेपाल सरकारको पनि ध्यानाकर्षण हुन जरुरी छ । म जोडतोडका साथ नेपाल सरकारलाई यस कुरामा गम्भीर बन्न आग्रह गर्दछु । नेपाल सरकारको सद्भाव हुन जरुरी छ ।

Logo