सरकार ! अब हामी यत्तिकै मर्नु पर्ने हो ?

सरकार ! अब हामी यत्तिकै मर्नु पर्ने हो ?


  • विनोद श्रेष्ठ-

कोरोना भाइरस (कोभिड १९ ) को महामारीले यतिबेला विश्व समुदाय आक्रान्त छन् । एक सय ९२ देशमा फैलिएको कोरोना भाइरसले नेपाललाई पनि छोडेको छैन । अहिलेसम्म ३ नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तीमध्ये एक जना निको भइसकेका छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल हस्पिटलमा उपचार भइरहेको छ।

तर, विडम्बना नेपालका चिकित्सकहरू नै सुरक्षित छैनन्। यस्तो अवस्थामा अरूले कसरी उपचार पाउने ? हामी नेपाली प्राकृतिक रुपले मात्र होइन स्वास्थ्य सम्बन्धी विभिन्न निकाय, मेडिकल कलेज, प्रतिष्ठान र नासा जस्तै विज्ञान प्रविधिको क्षेत्रमा काम गर्न भनेर खोलिएको नास्ट नामक निकायले पनि भरिपूर्ण छौं।

हाम्रो देशमा झिनामसिना हस्पिटल क्लिनिकका कुरा गर्ने हो भने औषधि ब्यबस्था विभागमा फाइलको चाङ होला। म त्यतातिर जान चाहान्न तर सम्बन्धन प्राप्त ठूला  मेडिकल कलेजहरु नै १६ वटा संचालित छन्।

जसमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्ष्टिच्युट अफ मेडिसिन  आइओएम महाराजगंज, युनिभर्सल मेडिकल कलेज भैरहवा,  मेडिकल कलेज बिरगंज, जानकी मेडिकल कलेज, किस्त मेडिकल कलेज, चितवन मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, नेप्लिज आर्मी इन्ष्टिच्युट अफ हेल्थ साइन्स रहेका छन् ।

काठमाडौँ विश्वविद्यालय अन्तर्गत कलेज अफ मेडिकल साइन्स,  नेपालगंज मेडिकल कलेज, काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिकल कलेज, काठमाडौँ युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्स, लुम्बिनी मेडिकल कलेज, नोबेल मेडिकल कलेज, मणिपाल मेडिकल कलेज अफ मेडिकल साइन्स संचालित छन्। त्यस्तै देशमा ठूला हस्पिटलहरू रहेको बिपी कोइराला इन्ष्टिच्युट अफ हेल्थ साइन्स धरान, पाटन एकेडेमी अफ हेल्थ साइन्स पाटन, नेशनल एकेडेमी अफ मेडिकल साइन्स संचालित छन्।

यी हस्पिटल तथा मेडिकल कलेजहरुमा प्रयोग हुने अधिकाँस सामाग्रीहरु विदेशबाट नै आयातित हुने गर्दछन् तर विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गर्न भनेर स्थापित नास्ट चाँही खै कता के गर्दैछन् ?

काँही कतै उपस्थिति जनाएको छ जस्तो लाग्दैन।  नास्टको कर्मचारी वा नियुक्त पदाधिकारीहरु किन नियुक्त गरिएको हो नि ? देशमा संकटको घडीमा किन चुपचाप छन् ति निकाय ? कोरोना भाइरसको परिक्षणका लागि प्रयोग हुने किट बनाउन किन लागि पर्दैन नास्ट ?

मेडिकल कलेज तथा हस्पिटलहरुमा प्रयोग हुने सामाग्री बनाउन किन सक्दैन नास्ट ? नास्टले प्रविधि र सिद्धान्त दिन सके प्राइभेट वा सरकारी तवरबाट धेरै त्यस्ता सामाग्री उत्पादन गर्ने उद्योग कलकारखाना संचालनमा आउने थिए भने लाखौ युवा वैदेशिक रोजगारीका लागि विदेश भासिन बाध्य हुनुपर्ने थिएन।

त्यस्तै यो संकटको घडीमा कोरोना परिक्षण गर्ने ल्याब जम्मा एउटा मात्र हुनु सम्पूर्ण नेपालीका लागि दुखद अनि लज्जास्पद कुरा हो। जसले देशको पूर्वी ताप्लेजुङ्गदेखि पश्चिम कंचनपुरका बिरामीहरुले आफ्नो कोरोना परिक्षणको रिपोर्ट थाहा पाउन राजधानी काठमाडौँ नै धाउनु पर्ने बाध्यता छ भने विदेशमा केहि घन्टामा थाहा पाउने प्रविधि विकास भैसकेको अवस्थामा पनि दुई तीन दिन कुर्नुपर्ने बाध्यता छ।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पनि प्राप्त रिपोर्ट २४ घण्टा बित्दा समेत उपचारमा संलग्न डाक्टर नर्सहरुलाई थाहा नदिई स्वास्थ्यमन्त्री मार्फत कुनै उत्सव मनाउन रिबन काटे झैं पत्रकार सम्मेलन गराउछन् तर उपचारमा संलग्न डाक्टर नर्सहरुलाई समेत प्राप्त रिपोर्टबारे जानकारी नगराएको समाचार बाहिरिएको छ ।

जसले उनीहरूलाई सचेत हुने अवसर दिदैनन् जुन अत्यन्तै दुखद कुरा हो।  विश्वमा यस्तै भयावह स्थिति बढ्दै गए हामी नेपालीले कुन रोगले मर्दैछु भन्ने समेत थाहा नपाउने स्थिति आउन सक्छ । किनकी खै देशमा पर्याप्त मात्रामा परिक्षण ल्याब अनि परिक्षण गर्ने किट ? दिनानुदिन यस्तै संकट बढ्दै गए विदेशबाट त्यो किट आउन छोडे यहि भएको एउटा ल्याब पनि थला बस्ने स्थिति देखिन्छ।

यहि कोरोना भाइरसकै सन्दर्भमा पनि हाम्रो देशमा सुरक्षा कवजका रुपमा प्रयोग हुने पीपीईको त कुरै छोडौं। सामान्य मास्क अनि ह्याण्ड स्यानिटाइजर समेत उत्पादन हुने नगरेको प्रस्ट भएको छ।

यस किसिमका सामाग्री उत्पादनको लागि न कुनै यी माथिका मेडिकल कलेज, प्रतिष्ठानहरु लागिपरेका देखिन्छन् त न कुनै सरकारी निकाय नै।  त्यसैले सरकारले देशमा भएका निकायहरुलाई कार्यकर्ता तथा मन्त्रीका आफन्त भर्ति केन्द्रको रुपबाट परिवर्तन गरि देशको हितका लागि तुरन्तै चलायमान बनाउनुपर्ने देखिन्छ।

जय पशुपतिनाथ, जय देश, जय जनता ।

Logo