२० असार २०७९ सोमबार
1
1
1
1

0 Shares

आरन

1
1
1
1

आरन भनेको धातुजन्य बस्तुको उद्योग हो । आरनमा कच्चा धातु गालेर पगालेर निश्चित स्वरुपको भाँडा वर्तन या हात हतियार बनाईन्छन् । मानव सभ्यतामा खेतीपाती सुरु हुनुभन्दा अगाडि नै हतियारको आविस्कार भईसकेको थियो, कृषिसँगै औजारहरुको विकास भएको भनेर मान्दापनि हाम्रो समाजको सबैभन्दा पुरानो उद्योग आरन नै हुनुपर्छ ।

समाजमा जसै कार्य विभाजन प्रणाली सुरु भयो त्यही बेला नै अत्यन्तै जोखिमपूर्ण, अफ्ठयारो र कडा मेहनत गर्नुपर्ने धातु सम्बन्धी काम ‘विश्वकर्मा’ जात लाई पारियो र यसरी धातु सम्बन्धी काम रोजेको समुदायलाई पछि मात्र “कामी’ भन्न थालियो । कामी भन्ने शब्द “कमाउनु” सँग सम्बन्धित पनि छ । अहिले पनि कुनै पनि हतियारमा धार लगाउनु या आरनमा लगेर त्यसको मर्मत गर्नुलाई “कमाउनु” नै भन्ने चलन छ ।

धातु सम्बन्धी काममा उच्च शारीरिक शक्तिको आवश्यकता भएको कारण उनीहरु मांशआहारमा बानी पर्दै गए । शारीरिक पीडा र थकानको कारण मदिरापानमा विश्वकर्माहरु बानी पर्दै गएको कारण ले नै कालान्तरमा समाजमा उनीहरु मृत पशुको मासु खान र घरमै मदिरा उत्पादन गर्न बाध्य हुदै गएको देखिन्छ ।

फलाम पिटेर हसियाँ, कोदाली, फाली ईत्यादी औजार बनाउन त्यति सजिलो छैन । जसको लागी उच्च शारीरिक शक्तिको आवश्यकता पर्दछ । त्यही शारीरिक शक्ति या आवश्यकता तागतको लागी गरेको मांसहार विस्तारै चलनको रुपमा परिणत हुँदै गयो । समाजका कथित माथिल्लो वर्गले उनिहरुलाई मासुको प्रलोभन देखाएर आफ्नो गोठमा मरेको पशु उठाउन लगाए । त्यसरी नै दलित समुदायमा मरेको पशुलाई ‘झरे परेको’ मानेर खाने चलनको सुरुवात भएको हुनुपर्छ ।

प्रसंग अन्तै गयो । आरनमैं फर्कौं । आरन खाली हतियार या औजार उत्पादन हुने उद्योग मात्र होईन । आरन आफैमा एउटा जिवनचक्र पनि हो । एउटा आरन चक्र पुरा गर्न कमसे कम छ महिना देखि एक वर्ष सम्म लाग्दछ । अर्को कुरा आरनबाट निस्कने आवाज आफैमा लयात्मक संगीत हो । एकै पटकमा एउटै आरनबाट हसियाँ बनाउँदा फलाम पिटेको बेग्लै आवाज निस्कन्छ । कोदालो बनाउँदा अलि ठुलो घनले ठुलै फलामको डल्लो पिट्नुपर्छ त्यसमा बेग्लै आवाज निस्केको हुन्छ ।

आल्म्युनियम ‘सिल्टे’ र तामाका भाँडाबाट बेग्लै आवाज निस्केको हुन्छ । हतियार अर्चाप्दा र रेट्दा बेग्लै आवाज, खलाँतीले सास फेर्दा बेग्लै र कोईला भर्भराउदा बेग्लै आवाज निस्केको हुन्छ । मन्दिरमा बज्ने घण्ट, मन्दिर भित्र स्थापित हुने मुर्ति आदि बनाउँदा पित्तल एव्म ढलोट जस्ता धातुको काम हुन्छ । यसैपनि घन्टीको आवाज यो संसारकै सबैभन्दा सुमधुर ध्वनि हो । त्यसलाई पनि आरनमा कुटेर नै बनाईन्छ । भलै मन्दिरमा स्थापित भईसकेपछि ‘दलित’ हरुलाई छुन बर्जित गरिएको किन नहोस । समग्रमा आरनबाट निस्कने ध्वनीको माधुर्यता आरनको अपरिहार्यताले मात्र बुझ्न सकिन्छ । टाढाबाट आरनको आवाज त सुनिन्छ तर त्यसको महत्व बुझ्न सकिँदैन् ।

हामीहरु प्राय सबै आरनसँग कहि न कतैबाट जोडिएका छौं । मेरो निजि अनुभवको कुरा गर्दा मैले आरनलाई धेरै नजिकबाट नियालेको छु । हाम्रो घर पहाडको फेदीमा छ । घरै मुनिबाट खोलो बग्दछ र त्यो खोलो र घरको बिचमा सानो फाँट छ । त्यहि फाँटमा आश्रित हाम्रो क्षेत्रको जनाधार निकै ठुलो छ । त्यो सिंगो जनाधारको सहयोगी समूह ‘बिश्वकर्मा’ हरुको गाउँ छ ‘पिर्तिप’ भन्ने । बेसी भन्दा अलिकति माथि र लेक भन्दा केहि तल सिंगो जनाधारको बिचोबिच उनीहरुको बस्ति कसरी बस्यो अथवा सबैलाई पायक पर्ने गरि त्यहाँ बस्ति बसालियो त्यो अध्ययनको विषय हुन सक्छ । जे होस् साविक स्वरेक गाविस वडा नम्बर २-३ र हालको वालिंग नगरपालिका अन्तर्गतको ‘कामिगाउँ’ मैले आरन सभ्यता देखेको भोगेको र मैले आरनको आवाजलाई संगीत जस्तै मन पराएको स्थान हो ।

विशेषगरी खर काट्ने समय र धान काट्ने समयको केहि दिन आगाडि हसियाँमा धार लगाउन जुन कामलाई अर्चाप्ने पनि भनिन्छ आरन त्यस्तै काममा ब्यस्त हुन्छ । खेति लगाउनु अगाडि कोदालो, हलोको फाली लगायत औजार बनाउन ब्यस्त हुन्छ आरन भने अलि फुर्सदिलो समयमा गाग्री, कसौडी लगायतका घरायसी भाँडा वर्तन बनाउने गरिन्छ ।

म पनि सानै हुँदा आमाले बोकाइदिएको झोलामा हसियाँ बोकेर पिर्तिपको आरन गएको छु । त्यहाँ हाम्रा बालीघरे हलिदाई थिएँ । उनले हाम्रो घरमा खेतीपातीको काम पनि हेर्थे र वार्षिक ज्यालाको रुपमा निश्चित बालि ‘आफैले उब्जाएको अन्नपात’ लैजाने गर्दथे । ‘आरन कमाए बापत’ अथवा हाम्रा घरका औजारहरु मर्मत गरे बापत उनले बेग्लै बालि उठाउथे । आरनमा पुग्दा उज्यालो भईसकेको हुन्थ्यो । अलि चाडै आएका अन्य ‘बिष्ट’ हरुको भिड लागिसकेको हुन्थ्यो ।

हाम्रो हलिदाईको नाम ‘टोपेको काले’ थियो । उनको नामै अचम्मको लाग्थ्यो मलाई “टोपेकाले” पनि नाम हुन्छ ? मैले एकदिन हाम्रा बासँग सोधेको थिएँ । पिर्तिप बारी धेरै जनाको नाम ‘काले’ भएको कारण कुन चाहि काले हो भनेर चिन्नको लागि हाम्रा कालेदाईको नाम अगाडि ‘टोपे’ थपिएको रहेछ । टोपे उनका बाको नाम हो रे । टोपेको शेषपछि पुस्ता हस्तान्तरण भएर कालेदाई हाम्रो बालीघरे बनेका रहेछन ।

मा आरनको छेवैमा बसेर कालेदाईले हसियाँ अर्चापेको हेरिरहन्थे । एकादुई मात्र हसियाँ भएको बेला काल्दाईले पालो मिचेर पनि हसियाँ अर्चाप्दिन्थे तर धेरै हसियाँ लिएर जाँदा अरु बिष्ट रिसाउलान भनेर उनले वास्ता गर्दैनथे त्यस्तो बेलामा आरनको छेवैमा बसेर मा टुलुटुलु भर्भराउदो भुंग्रो नियालि रहन्थें ।

खलातिले एक तमासले फालेको हावामा कोइलाहरु अलिकतिमाथि सम्म उड्दै झर्दै गर्थे । जतिजति खलातिले हावा फुक्दै जान्थ्यो भुंग्रोमा रापिएर हसियाँ रातो हुँदै आउथ्यो अनि खलाती रोकेर कालेदाई हसियाको बिड समातेर सानो घनले धारमा पिट्न थाल्थे । धार पातलो हुँदै आउथ्यो फलाम सेलाउदै जान्थ्यो अनि फेरि अर्को चरणको लागि उनले हसियालाई भट्टीमा राखेर खलाती चलाउथे, स्वाँ…स्वाँ…

हाम्रो हलिदाईको नाम टोपेकाले भएझैं कामिगाम भरि उदेक उदेकका नामहरु सुन्न पाइन्थ्यो । मेरो स्मृतिमा अहिले सम्म ताजा रहेका नामहरु ‘धुम्ले कामि’ ठुलोकान्छो कामि ईत्यादी हुन । हौउसे, भाउसे, लुरे, तिखे, काले, नरे ईत्यादी नामको पछाडि उनीहरुको जात राखेर उनीहरुका अन्नदाताहरु अथवा बाहुनहरुले बोलाउथे ।

उनीहरुका यस्ता उदेक लाग्दा नामहरु कसरी राख्न सुरु भए र कसरी लिखतमा समेत त्यस्तै नामहरु समावेश हुँदै गए भन्नेकुरा बुझ्न नागरिकता वितरण देखिकै कुराहरु केलाउनु पर्ने हुन्छ । जब नागरिकता वितरण सुरु भयो त्यो समयमा उनीहरु पंचायत कार्यालयको आँगनमा गएर नागरिकताको लागी लाईनमा बसे होलान् । नागरिकताको लागि सनाखत गरिदिने पन्चले जे नाम भनेर बोलायो उनीहरुको नाम त्यहि लेखिदै गयो । अहिले त नयाँ पुस्ताका धेरैले आफ्नो थर फेरिसके तर मेरो उमेर सम्मका सबैको नागरिकतामा जिम्मालहरुले नागरिकता टोलीलाई दिएकै नाम जात अंकित भएको पाईन्छ ।

हाम्रो हलिदाईको छोरो थियो गोपाल, मेरो एकै कक्षामा पढेको साथि हो । राष्ट्रिय प्राबी टापु भन्ज्यांगमा गोपाल र म संगै दुई र तिन कक्षा पढेको मलाई अझै सम्झना छ । स्कुलमा गोपाल हेपिन्थ्यो र आरनमा जादा म उm बाट हेपिन्थे । स्कुलमा गोपालले पानीको गाग्रो छुन पाउदैन थियो । उसलाई तिर्खा लागेमा कि उही धारापानीको धारोमा पुगेर पानि पिएर फर्कनु पर्थ्यो होइन भने स्कुलकै पाले दाइले उसलाई अलक्कै अम्खोराबाट पानी दिन्थे । गोपालले मुखमा हातको पालि बनाएर किक्ली किक्ली गर्दै पानी पिउथ्यो । मास्टरहरुलाई कापी पनि अलग्गै दिन्थ्यो गोपाल । छुवाछुतलाई निकै कडासँग पालना गरिएको हुन्थ्यो स्कुलमा, यो म आफैले भोगेको कुरा हो ।

जब म आरनमा जान्थें, गोपालसँग खेल्थें । हुनत उ आफ्ना बा सँग हाम्रो रोपाईमा पनि आउथ्यो ।रोपाईंमा आउँदा अलि शान्त पाराको गोपाल उसको घर नजिकको आरनमा भेट हुँदा अलि अराजक जस्तो हुन्थ्यो । खेल्दा खेल्दै कहिलेकाही मलाई घचेटेर पल्टाईदिन्थ्यो । अहिले मलाई लाग्छ गोपालले रोपाईंमा आउँदा या स्कुल जाँदा हामीबाट हेपिएको पीडा म आरनमा जाँदा मलाई जितेर पो पोखिरहेको थियो कि १

म सँग झगडा गर्दा गोपाललाई उसका बा ले गाली गर्थे । बिष्टलाई लडाउन हुँदैन मुर्दार भनेपछि गोपाल बेत्तोड़ले दौड्दै बारितिर झर्थ्यो । कालेदाई अरुसँग कुरा गर्थे –हेर बिष्टको छोरा भनेर के गर्नु, खाने बेलामा लखेटे जस्ता छन् । अलिकति घुच्यायो कि पुक्लुकै ढल्छन । हुन पनि गोपालका पाखुरा मोटा र ज्यान डम्म परेको थियो म खिरिलो थिएँ । पख्लास रोपाईमा आइस भने तलाई हिलोमा पछार्छु भनेपछि गोपाल नजिकै आएर ‘झुक्केर हो के’ भन्दै म सँग नजिकै बस्थ्यो ।

समय फेरियो, अहिले आरन व्यवसाय संकटमा छ रे भन्ने समाचारहरु पढ्न पाइन्छ अनलाइनमा । धेरै समय भयो हाम्रा बालीघरे हलिदैको खवर बुझ्न पनि पाएको छैन । उनको छोरो गोपाल जो मेरो हितैसी समेत थियो उ कहाँ छ भन्ने समेत मलाई खवर छैन । समयले मलाई स्वार्थी बनायो अथवा परिवन्दले मलाइ मतलवी बनायो म आफैले बुझ्न सकेको छैन तर कतै एकान्तमा हुँदा र सुदुर अतितको स्मृतिमा बरालिँदा भने अति याद आउँछ त्यो आरन, ति हलिदाई र मेरो साथि गोपाल ।

दुर्गा पंगेनी

प्रकाशित: ९ बैशाख २०७६ १६:४८ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी