महरालाई पक्राउ गर्न गृहमन्त्री रविको निर्देशन, सुन तस्करी प्रकरणको फेरि अनुसन्धान हुने [भिडियाेसहित]

महरालाई पक्राउ गर्न गृहमन्त्री रविको निर्देशन, सुन तस्करी प्रकरणको फेरि अनुसन्धान हुने [भिडियाेसहित]

केन्द्रबिन्दु
56
Shares

पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न गृहमन्त्री लामिछानेकाे निर्देशन

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न निर्देशन दिएका छन्।

सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न प्रहरी नेतृत्वलाई निर्देशन दिँदै गृहमन्त्री लामिछानेले दोषी करार रहेका महरालगायत कर्मचारीलाई पनि कारबाहीको दायरामा ल्याउन भनेका हुन् । योसँगै कारबाही सिफारिस भएकामाथि प्रहरीले निगरानी बढाएको छ।

उनीहरु जतिबेला पनि पक्राउ पर्नसक्ने भएका छन् । साथै बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया आजै सुरु गर्न पनि गृहमन्त्री लामिछानेले निर्देशन दिएका छन्।

नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई अनुसन्धानका लागि ८ दिन हिरासतमा राख्न अनुमति

सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई अनुसन्धानका लागि ८ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

रुपन्देही जिल्ला अदालतले पुनलाई ८ दिन अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो। काठमाडौँमा पक्राउ परेका पुनलाई लस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका कारण शुक्रबार नै बुटवल लगिएको थियो। पुनमाथि सुप्रिम सहकारीको ७८ करोड रकम अपचलन गरेको आरोप छ।

ठाकुरमोहन श्रेष्ठमाथि कुटपिटमा संलग्न भएको आरोप लागेका ३ जना निलम्बन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि कुटपिटमा संलग्न भएको आरोप लागेका ३ जनालाई निलम्बन गरेका छन्।

२७ फागुनमा पार्टी कार्यालय धुम्बाराहीमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेको समयमा कार्यालय हाताभित्र श्रेष्ठमाथि कुटपिट भएको थियो।

लिङ्देनले पार्टीका सहायक महामन्त्री प्रेम बलायर, काठमाडौं( ४ का क्षेत्रीय अध्यक्ष रिद्धिप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई ४ वर्षका लागि निलम्बन गरेका हुन्।

नागरिक उन्मुक्ति पार्टी कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई आफ्नो साथ कायमै राख्ने

नागरिक उन्मुक्ति पार्टी कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई आफ्नो साथ कायमै राख्ने भएको छ।

केन्द्रमा नयाँ समीकरणलाई समर्थन दिएको नाउपाले सुदूरपश्चिम प्रदेशमा भने ठिक उल्टो कांग्रेस नेतृत्वको सरकारलाई साथ दिने निर्णय गरेको हो।

सुदूरपश्चिम नाउपाका ७ सांसद छन्। तीमध्ये पाँच मन्त्री छन्। उनीहरुले मुख्यमन्त्री कमलबहादुर शाहलाई नै विश्वासको मत दिने निर्णय गरेका हुन्।

सीआईबीले भेपमार्फत भएको ९ किलो सुन तस्करी र ६० किलो सुन प्रकरणमा फेरि अनुसन्धान गर्ने

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले भेपमार्फत भएको ९ किलो सुन तस्करी र ६० किलो सुन प्रकरणमा फेरि अनुसन्धान सुरु गर्ने भएको छ।

ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी श्यामलाल ज्ञवालीले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित अयोगले दिएको प्रतिवेदनका आधारमा फेरि अनुसन्धान गरेर पुरक अभियोग लैजाने जानकारी दिएका हुन्। आयोगले सुन तस्करीको छानबिनमा सीआईबीले गम्भीर त्रुटि गरेको निष्कर्ष निकालेको छ।

आयोगले सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यसहित एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाहीको सिफारिस गरेको थियो । त्यसलगत्तै सिआइबी प्रमुख बज्राचार्यको सरुवा भएको छ ।

इलाम–२ को प्रतिनिधिसभा उपनिर्वाचनमा मिलन लिम्बुले स्वतन्त्र उम्मेदवारी दिने

आउँदो बैशाख १५ गते हुन लागिरहेको इलाम–२ को प्रतिनिधिसभा उपनिर्वाचनमा मिलन लिम्बुले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। आइतबार पत्रकार सम्मेलन गर्दै लिम्बूले राजनीतिक दलहरूले गरेको भ्रष्टाचारको विरुद्धमा लडिरहने प्रतिबद्धतासहित उम्मेदवारी दिने बताएका हुन्।

उनले इलामका नागरिकको सेवक बनेर जीवनभर काम गर्ने बाचा गर्दै उनले नेताहरुले गरेको संस्थागत भ्रष्टाचार र अभिमतको दुरुपयोग रोक्दै सुशासनको पक्षमा काम गर्ने बताए। यो क्षेत्रमा दिगवंत नेता सुवास नेम्वाङका छोरा सुहाङसहित शीर्ष दलको दाबेदारी पर्ने देखिन्छ।

बच्चा चोरेको आरोपमा पक्राउ परेकी महिलालाई धरौटीमा छाड्न आदेश

थापाथलीस्थित प्रसूति गृहबाट बच्चा चोरेको आरोपमा पक्राउ परेकी महिलालाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ। अदालतले ती महिलालाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

फागुन ११ मा दैलेख घर भएकी २४ वर्षीया मनकुमारी सिंहले प्रसूति तथा स्त्रीरोग अस्पतालबाट २६ दिनको बालिका चोरी गरेकी थिइन्। उनले काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भई कपन बस्ने २२ वर्षीया सबिना श्रेष्ठको गरेकी हुन्। प्रहरीले बच्चा चोरेको केही घण्टामै उनलाई काँडाघारीस्थित डेराबाट पक्राउ गरेको थियो।

आइतबार बिहान तीन छत्रे चिर ठड्याएसँगै फागु सुरु

काठमाडौँको वसन्तपुर हनुमानढोकामा विधिवत रुपमा आइतबार बिहान तीन छत्रे चिर ठड्याएसँगै फागु सुरु भएको छ। वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान शुभ साइतमा बाजागाजासहित रङ्गीचङ्गी ध्वजापताकाले सिँगारिएको तीन छत्रे होलीको चीर ठड्याइएको हो।

हनुमानढोका दरबारको मूलद्धार अगाडि रंगीचंगी कपडाले सिंगारिएको चीर गाडिएपछि देशभर होली पर्व सुरु भएको मानिन्छ। फागु पूर्णिमाको दिन मनाइने होली यसवर्ष पहाडमा चैत ११ गते र तराईमा चैत १२ गते मनाइँदैछ।

पोखरा नेपालको पर्यटकीय राजधानी घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन्।

फेवाताल छेउको बाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सोको घोषणा गरेका हुन् । त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गरेका थिए।

जंगलमा शव गाडिएको अवस्थामा फेला परेकी सुष्मा लामाको हत्याको आरोपमा रुपेन्द्र लामा पक्राउ

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभीर जंगलमा शव गाडिएको अवस्थामा फेला परेकी २८ वर्षीया सुष्मा लामाको हत्याको आरोपमा तारेभीर बस्ने २१ वर्षीय रुपेन्द्र लामालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ।

सुष्मा गत माघ २२ गते कलेज जान्छु भनेर घरबाट निस्किएकी र सम्पर्कबिहीन भएकी थिइन्। त्यसपछि फागुन २५ गते प्रहरीले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ तारेभीरभन्दा माथि शिवपुरी राष्ट्रिय निकुञ्ज जंगलमा गाडिएको अवस्थामा लामाको शव फेला पारेको थियो। प्रेम प्रस्ताव अस्विकार गरेको भन्दै बाटो ढुकेर हत्या गरेको आरोपीले बयान दिएका छन्।

आइतबार सेयर बजार कारोबार सँगै परिसूचक पनि घट्याे

साताको पहिलो दिन सेयर बजार कारोबार सँगै परिसूचक पनि घटेको छ । ११.८३ अंकले घट्दै नेप्से २०६९.०४ विन्दुमा रहेको छ।

आइतबार ८४ कम्पनीको सेयरमूल्य बढ्दा १५० को घट्यो भने १० कम्पनीको स्थिर रह्यो । आज ८२ लाख ५७ हजार ९ सय ११ कित्ता सेयर किनबेच हुदा ३ अर्ब ३१ करोड ९८ लाख ८६ हजार ९ सय ११ रुपैयाँको शेयर कारोबार भएको छ ।

हङकङको जिल्ला अदालतले अभिनेता ग्रेगरी वोङलाई ६ वर्ष जेल सजाय तोक्याे

हङकङको जिल्ला अदालतले अभिनेता ग्रेगरी वोङलाई ६ वर्षसहित अरु ११ जनालाई जेल सजाय तोकेको बीबीसीले जनाएको छ। उनिहरुलाइ सन् २०१९ मा भएको विरोध प्रदर्शनमा सहभागी रहेको अभियोगमा जेल सजाय तोकेको हो।

जेल सजाय पाउनेमध्ये दुई जना पत्रकारमाथि व्यवस्थापिका बैठकमा अबैध रुपमा प्रवेश गरेको आरोप छ भने अरुलाई आन्दोलनमा सहभागी रहेको आरोप छ।

नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बहराइन पुग्याे

फिफा विश्वकप र एएफसी एसियन कप छनोट खेल खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बहराइन पुगेको छ। छनोट खेल नेपाल र बहराइनबीच आगामी २१ मार्च बिहीबार साँझ रफास्थित बहराइन नेशनल स्टडियममा हुनेछ भने दोस्रो खेल २६ मार्च मंगलबार हुनेछ।

नेपालले यसअघि खेलेका २ खेलमा हार बेहोरेको थियो जसअन्तर्गत पहिलो खेलमा युएईसँग ४–० यमनसँग २–० गोल गोल अन्तरले हारेको थियो।

Logo