गृहमन्त्री लामिछानेले सडकमै मनाए नयाँ वर्ष, अब ठमेल र दरबारमार्ग २४सै घण्टा खुला [भिडियाेसहित]

गृहमन्त्री लामिछानेले सडकमै मनाए नयाँ वर्ष, अब ठमेल र दरबारमार्ग २४सै घण्टा खुला [भिडियाेसहित]

केन्द्रबिन्दु
42
Shares

गृहमन्त्री लामिछानेले नयाँ वर्षको सुरूवात सडकमा मिठाइ बाँडेर गरे

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नयाँ वर्ष २०८१ को सुरूवात सडकमा मिठाइ बाँडेर गरेका छन्। उनले थापाथली सडकमा खटिएका प्रहरीसँग शुभकामना आदानप्रदान मिठाइ बाँड्दै गरेका हुन्। उनले सडकमा खटिएका ट्राफिक प्रहरीलाई हौसला प्रदान गर्दै नयाँ वर्षको शुभकामनासमेत दिए। सडकमा भेटिएका ज्येष्ठ नागरिक, सवारी चालक र यात्रुलाई समेत नयाँ वर्षको शुभकामना दिँदै उनले मिठाइ बाँडेका थिए। प्रहरीलाई समुदायसँग जोड्ने र सर्वसाधारणको भरोसा प्रहरीप्रति बढाउने उनको उदेश्य छ ।

नयाँ वर्षलाई निराशा, भ्रम र अविश्वासबाट मुक्त गरी विश्वास जगाउने वर्षका रूपमा स्थापित गर्नुपर्छः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०८१ नेपाली समाजलाई निराशा, भ्रम र अविश्वासबाट मुक्त गरी विश्वास जगाउने वर्षका रूपमा स्थापित गर्नुपर्ने बताएका छन्। एक कार्यक्रममा अध्यक्ष ओलीले नयाँ वर्षलाई देश बन्दैन भन्ने भ्रमबाट मुक्त बर्ष बनाउनुपर्ने बताएका हुन् । नेपाल बन्दैन भन्ने कुरा शतप्रतिशत झुटो रहेको पनि उनको दाबी छ ।

नयाँ वर्ष २०८१ को पहिलो दिनराजधानीलगायत विभिन्न स्थानमा उत्सवमय वातावरण

नयाँ वर्ष २०८१ को पहिलो दिन मुलुकको राजधानी काठमाडौँलगायत विभिन्न स्थानमा उत्सवमय वातावरण देखिएको छ। शनिबार र सार्वजनिक बिदासमेत परेकाले आज सर्वसाधारण धार्मिक तथा पर्यटकीयस्थलमा घुमफिर गर्ने, रमाइलो गर्ने, मीठामीठा परिकार खाने, इष्टमित्र भेटेर रमाइरहेका छन्। नेपाली पात्रोअनुसार हरेक वैशाख १ गते प्रारम्भ हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रूपमा लिइन्छ। वसन्त ऋतुको मौसम घुमफिरका लागि प्रतिकूल भएकाले आन्तरिक पर्यटनमा टेवा मिलेको छ।

कांग्रेसले बोलायाे संसदीय दलको बैठक

सरकारले संसदको चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। आइतबार प्रतिनिधिसभा बैठकअघि संसदीय दल कार्यसमितिको बैठक विहान ७ बजे र लगत्तै संसदीय दलको बैठक बोलाइएको हो । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानविन समितिको माग गर्दै कांग्रेसले बैठक अवरोध गर्दै आएको छ ।

काठमाडौँ विश्वको सबैभन्दा बढी वायु प्रदूषित सहर

काठमाडौँ विश्वको सबैभन्दा बढी वायु प्रदूषित सहरको रुपमा रहेको छ। देशभर बुधबार र बिहीबार परेको पानीले प्रदूषण घट्ने अपेक्षा गरिए पनि प्रदूषण घट्न सकेको छैन। देशभरको वायु प्रदूषणको मात्रा मापन गर्ने एयर क्वालिटी इन्डेक्स एक्यूआईको तथ्याङ्क अनुसार काठमाडौँ सबैभन्दा बढी प्रदूषणको सूचीमा एक नम्बरमा रहँदा दोस्रो नम्बरमा बङ्गलादेशको ढाका रहेको छ। भारतको कोलकाता तेस्रो स्थानमा रहेको छ। काठमाडौँको एयर क्वालिटी इन्डेक्स १७८ रहेको छ।

ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुला हुने

सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुला हुने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आचारसंहिता निर्माण गरि उक्त क्षेत्रलाई आज नयाँ वर्ष वैशाख १ गतेदेखि २४ सै घण्टा सञ्चालन गर्न लागेको हो । ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छ । रात्रिकालिन मनोरञ्जनात्मक व्यवसायका क्रममा हुने ध्वनि प्रदुषणलाई नियन्त्रण गर्नेलगायत आचारसंहिता तयार गरिएकोछ ।

बिस्केट जात्रा हेर्न मानव सागर उर्लिए

नयाँ वर्षको अवसरमा भक्तपुरमा आठ दिन नौ रातसम्म भव्यरुपमा मनाइने विश्व प्रसिद्ध बिस्काः जात्रा अर्थात् बिस्केट जात्रा हेर्न मानव सागर उर्लिएको छ। वैशाख १ गते ल्यासिंखेलमा उठाउने अष्टमात्रिका गणसहित लिङ्गो जात्रा हेर्न भक्तपुरलगायत उपत्यकाका विभिन्न ठाउँबाट हजारौँ मानिस जात्रा हेर्न आएका हुन्। लिङ्गो उठाएकोमा आज दिनभर जात्रा गरेर साँझ विधिपूर्वक पूजा गरी तान्त्रिक विधि पु(याएर लिङ्गो ढालिने परम्परा छ।

डोल्पामा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु भएको छ । गत बिहीबार आगलागी घटनामा परेर गम्भीर घाइते दुई जना १२ वर्षीय विवश बुढा र १३ वर्षीय समन्त बुढाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको हो । आगलागीबाट घाइते १० वर्षीय सुलश बुढाको भने गत शुक्रबार जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा मृत्यु भएको थियो ।

पर्यटक घुमाउन गएका नेचर गाइडको गैंडाको आक्रमणबाट मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैंडाको आक्रमणबाट मृत्यु भएको छ। आज बिहान चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटक घुमाउन लगेका गोरखा आरुघाट गाउँपालिका(८ पोखरी घर भई हाल रत्ननगर नगरपालिका(६ सौराहा बस्ने ३२ वर्षीय सुवास रेग्मीलाई गैंडाले आक्रमण गरेको थियो। गैंडाको आक्रमणबाट गम्भीर घाइते रेग्मीको उपचारको क्रममा मृत्यु भएको हो । गैँडाको आक्रमणबाट बेपत्ता भएका रेग्मीको चार वटा हात्ती प्रयोग गरेर खोजी गरिएको थियो।

जापानमा सन् २०५० सम्ममा हरेक पाँच घरधुरीमध्ये एक घरमा वृद्धवृद्धा एक्लै बस्नुपर्ने

जापानले सन् २०५० सम्ममा हरेक पाँच घरधुरीमध्ये एक घरमा वृद्धवृद्धा एक्लै बस्नुपर्ने एक नयाँ अध्ययनले देखाएको छ । सन् २०५० सम्ममा जापानमा एक करोड आठ लाख वृद्धवृद्धा एक्लै बस्नेछन् । यो कुल परिवार सङ्ख्याको २०.६ प्रतिशत हुने नेसनल इन्स्टिच्युट अफ पपुलेसन एन्ड सोसियल सेक्युरिटी रिसर्चले हरेक पाँच वर्षमा जारी गर्ने प्रक्षेपणमा उल्लेख गरेको छ । जापानी युवाहरूले विवाहमा ढिलाई गर्ने र यसका कारण बच्चा जन्माउन नसक्ने भएकाले उनीहरूले बच्चा नजन्माउने निर्णय गर्ने चलन बढेकाले यो प्रक्षेपण गरिएको हो ।

राखेपले दियाे राष्ट्रिय खेल संघलाई ११ बुँदे निर्देशन

राष्ट्रिय खेलकुद परिषद् राखेपले राष्ट्रिय खेल संघलाई ११ बुँदे निर्देशन दिएको छ। राष्ट्रिय खेल संघले आ–आफ्नो खेल संरचना अनुरुप सञ्चालन गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता एवं सहभागिता, नियमित प्रशिक्षण, सेमिनार, ग्रेडिङ, संगठन संरचना तथा आर्थिक क्रियाकलापलगायतका विषयमा १५ दिनभित्र निर्देशन कार्यन्वयन सम्बन्धी खाका राखेप समक्ष पेश गर्न शुक्रबारको सदस्य–सचिवस्तरीय निर्णयानुसार राखेपले राष्ट्रिय खेल संघलाई ११ बुँदे निर्देशन दिएको हो। निर्देशन सम्बन्धमा तोकिएको अवधि भित्र कार्यान्वयनको स्पष्ट खाका र तालिका सहितको जवाफ उपलब्ध गराउन भनिएको छ।

Logo