रवि लामिछानेले सहकारीबाट २ करोड लिएको खुलासा, माधव नेपालको घुर्कीमा मुख्यमन्त्री उपहार [भिडियाेसहित]

रवि लामिछानेले सहकारीबाट २ करोड लिएको खुलासा, माधव नेपालको घुर्कीमा मुख्यमन्त्री उपहार [भिडियाेसहित]

केन्द्रबिन्दु
112
Shares

रवि लामिछाने बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम हिनामिनामा पनि जोडिए

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको करोडौं रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम हिनामिनामा पनि जोडिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको नाममा सुप्रिमबाट एक करोड ८० लाख रुपैयाँ ऋण स्वीकृत भएको प्रहरीको अनुसन्धानमा देखिएको हो । तर, जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेलाई प्रतिवादी नबनाइ रुपन्देही जिल्ला अदालतमा अभियोगपत्र गरेको छ । प्रहरीले अनुसन्धानमा लामिछानेको नाममा प्रक्रिया नपुर्याएर ऋण लिएको उल्लेख गरेको छ। योसँगै गृह जस्तो पदमा बसिरहनुमा लामिछानेमाथि नैतिकताको प्रश्न पनि उठ्न थालेको छ ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई दिने सहमति

सत्तारूढ गठबन्धनबिच सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भएको छ। सहमति पालना नगरेको भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बिच्किएपछि धरापमा परेको गठबन्धनमा अन्ततः यो सहमति जुटेको हो । केन्द्रमा यो सहमति जुटेपछि मंगलबार एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता दीर्घ सोडारीले प्रदेश प्रमुख नजिर मियालाई एक पत्र बुझाउँदै नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको जानकारी गराएका छन्। यसअघि आइतबार चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गर्दा आफ्नो दलसँगै नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थन रहेको उल्लेख गरेका थिए।

सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई खोज्न संसदीय छानबिन आवश्यक छः गगनकु थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई खोज्न संसदीय छानबिन आवश्यक रहेको बताएका छन्। बुटवलको सुप्रिम सहकारी ठगीबारे प्रहरीले गरेको अनुसन्धानअनुसार सरकारी वकिलले मुद्दा अभियोजन गर्दा सहकारी ठगी गर्ने रवि लामिछाने र गृहमन्त्री रवि लामिछाने एउटै हो कि होइन भनेर प्रतिवादी नबनाएकाले त्यसले संसदीय छानबिनको आवश्यक थप बढेको बताएका हुन् । पुराना दलको जो भए पनि यही गर्नुपर्थ्यो भने नयाँ दलको मान्छेलाई गर्नुपर्दैन उनको प्रश्न छ ।

सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाही गर्ने काठमाडौँ महानगरकाे चेतावनी

काठमाडौँ महानगरपालिकाले सडक तथा सडकपेटी जस्ता सार्वजनिक स्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्ववत अवस्थामा नल्याई छाड्ने उपर कारबाही गर्ने चेतावनी दिएको छ। निर्माणको काम सकेपछि पूर्ववत अवस्था नभई छाड्ने, निर्माण सामग्री छाड्नाले आवागमन, सहरी सौन्दर्य र विकास व्यवस्थापनमा समस्या भएपछि महानगरले कारबाहीको कठोर निर्णय लिएको हो । सार्वजनिक स्थानमा जुनसुकै प्रकृतिको निर्माणकार्य सुरु गर्नुअघि नै अनिवार्य रूपमा महानगरबाट स्वीकृति लिनुपर्ने र यही वैशाख ५ गतेदेखि तोकिए बमोजिमको काम नगर्नेलाई प्रचलित कानुनी व्यवस्थाअनुसार कडा कारबाही गर्ने महानगरको चेतावनी छ ।

जो कोही भ्रष्टाचारीमाथि कानूनी कारवाही अगाडि बढाउने छाैँः प्रचण्

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानूनी कारवाही अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्। मुलुकको समग्र विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको उल्लेख गर्दै उनले भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानून, जनशक्ति, स्रोत र साधनसहित अधिकार सम्पन्न बनाई सदाचार प्रत्याभूति गर्ने अवस्था सिर्जना गरिने बताएका हुन्।

विश्वविद्यालयहरूमा पार्टीका तर्फबाट हस्तक्षेप हुने छैनः सुमना श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयहरूको नियुक्तिको प्रक्रियामा पदेन सहकुलपति(मन्त्री) भएपनि हस्तक्षेप नगर्ने बताएकी छिन् । मंगलबार मन्त्रालयमा विश्वविद्यालयहरूको बारेमा विज्ञहरूको सुझाव लिँदै उनले आफू र आफ्नो पार्टीका तर्फबाट हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्दै अरुबाट भएको छ भने पनि कारबाही गर्ने बताएकी छिन् । त्यस्तै नियुक्ति प्रक्रिया समान गर्नको लागि मापदण्ड बनाएर काम गर्ने प्रतिवद्धता समेत जनाएकी छन् ।

८२ जना शाखा अधिकृतलाई पदस्थापन गर्दै कामकाज तोक्ने निर्णय

सरकारले नयाँ ८२ जना शाखा अधिकृतलाई पदस्थापन गर्दै कामकाज तोक्ने निर्णय गरेको छ । मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृतहरूलाई पदस्थापन गरेको हो । उनीहरुले संघ र स्थानीय तहका विभिन्न पदमा जिम्मेवारी पाएका छन् । ती स्थानीय तहहरू अहिले निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेका छन् ।

महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मतिले अनुमोदन गर्याे

संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मतिले अनुमोदन गरेको समितिका सभापति पशुपतिशमशेर जबराले जनकारी दिएका छन्। प्रस्तावित रायाले १५ पेजको कार्ययोजना प्रस्तुत गर्दै बेरूजु कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रख्यात साहित्यकार प्रकट पंगेनी ‘शिव’ को निधन

प्रख्यात साहित्यकार प्रकट पंगेनी ‘शिव’ को निधन भएको छ । ७० वर्षको उमेरमा पंगेनीको मंगलवार दिउँसो मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो । निमोनियाका कारण स्वास्थ्यमा समस्या अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । पंगेनीको ‘जूनको चिट्ठी जुनालाई’ र ‘यो मन कतै अल्झेको छ’ नामक गीत संग्रह र कविता संग्रह पनि प्रकाशित छन् ।

नेप्से मंगलबार पनि घट्याे

पछिल्ला चार वटा कारोबार दिनदेखि घटिरहेको शेयर बजार परिसूचक नेप्से मंगलबार १४ दशमलव ८१ अङ्कले घटेर एक हजार नौ सय ९१ दशमलव ७१ विन्दुमा झरेको छ । आज ५४ लाख ७१ हजार कित्ता शेयर दुई अर्ब १० करोड ३० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको १७ करोड ५९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

भारतमा काश्मिरमा डुङ्गा पल्टियाे

भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएको छ। डुङ्गा पल्टिएर बेपत्ता भएका १५ जनाको खोजीमा उद्धारकर्मीहरू खटिइरहेको अधिकारीहरूले बताएका छन् । श्रीनगर सहरस्थित झेलम नदीमा डुङ्गा पल्टिँदा बेपत्ता हुनेहरूमा विद्यालय गइरहेका केही बालबालिका पनि रहेका थिए । केही दिनको वर्षापछि नदीको पानी बढेको साथै डुङ्गा पार गर्न प्रयोग गरिने डोरी पानीको तीव्र बहावका कारण चुँडिएकाले डुङ्गा पल्टिएको प्रत्यक्षदर्शीको भनाइ छ ।

नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार साउदी अरेबियासँग खेल्दै

एसीसी प्रिमियर कप अन्तर्गत कतारले साउदी अरेबियालाई पराजित गरेपछि नेपाल आफ्नो अन्तिम खेलअघि नै समूह विजेता बनेको छ। मंगलबार सम्पन्न समूह ए अन्तर्गतको खेलमा कतारले साउदी अरेबियालाई १५ रनले पराजित गरेको हो। समूह ए मा यो खेलपछि ३ खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहेको नेपाल समूह बिजेता बनेको हो । अब नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार साउदी अरेबियासँग खेल्दैछ।

Logo