जीबी राईलाई समात्न पठाइयो ‘कूटनीतिक नोट’, एसीसीमा नेपाल अपराजित [भिडियाेसहित]

जीबी राईलाई समात्न पठाइयो ‘कूटनीतिक नोट’, एसीसीमा नेपाल अपराजित [भिडियाेसहित]

केन्द्रबिन्दु
70
Shares

जीबी राईलाई समात्न पठाइयो कूटनीतिक नोट

सहकारी ठगीका मुख्य नाइके गितेन्द्रबाबु जीबी राईलाई पक्राउ गर्न मलेसियन सरकारलाई ‘कूटनीतिक नोट’ पठाईएको छ। प्रहरी प्रधान कार्यालयको अनुरोधमा गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयले मलेसियन सरकारलाई कूटनीतिक नोट पठाएको हो।

परराष्ट्र मन्त्रालयले मलेसियामा लुकेर बसेका राईलाई पक्राउ गरेर ‘सुपुर्दगी गर्न’ कूटनीतिक च्यानलबाट अनुरोध गरेको छ। अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’बाट उनीविरुद्ध रेड नोटिस जारी भएको छ।

यसअघि १३ माघमा उनीविरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो। जीबी राईले ठगी गरेको सहकारीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि मुछिएकाले जीबीलाई पक्राउ गर्न उनी लागिपरेका छन्। डिफ्युजन नोटिसको आधारमा जीबी मलेसियामा ‘लोकेट’ भएका हुन्।

सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्री दीर्घ सोडारीलाई बनाउने निर्णय

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीले दीर्घ सोडारीलाई बनाउने निर्णय गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो।

सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीको भागमा लामो रस्साकस्सीपछि मात्रै सुदूरपश्चिमको मुख्यमन्त्री परेको हो।प्रदेश प्रमुख नजिर मियाँले हिजो मात्रै मुख्यमन्त्रीको दाबी पेस गर्न थप २ दिनको समयसीमा दिएका थिए।

सुहाङको जिम्मा म लिन्छु, भोट सूर्यलाई दिनुस्: अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई भोट दिन आग्रह गरेका छन्।

बुधबार इलामको एक चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आउँदो उपनिर्वाचनमा एमाले उम्मेद्वार सुहाङको जिम्मेवारी आफूले लिने र भोट सूर्यलाई दिन आग्रह गरेका हुन्।‘इलामको चौतर्फी विकास नेकपा एमालेले गर्छ। सुहाङको जिम्मा म लिन्छु, भोट सूर्यलाई दिनुस्स्’, उनले भने।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबाट आफूहरूको विश्वासमा कुठाराघात गरेको एकीकृत समाजवादीकाे निष्कर्ष

नेकपा एकीकृत समाजवादीले नयाँ समीकरणका मुख्य घटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबाट आफूहरूको विश्वासमा कुठाराघात गरेको निष्कर्ष निकालेको छ। सचिवालय बैठकले नयाँ गठबन्धनमा आफूहरूलाई जस्तो व्यवहार हुन्छ त्यस्तै कदम चाल्ने निष्कर्ष निकालेको हो।

साथै समाजवादीले आफ्नो महाधिवेशन असारमा सार्ने निर्णय गरेको छ। यस अगाडि जेठ ३ देखि ७ गतेसम्म हुने भनिएको महाधिवेशन अब असार १६ देखि २० गते काठमाडौंमा हुने भएको छ।

सीआईबीले छाडेका लिला गुरुङलाई ललितपुर प्रहरीले फेरि पक्राउ गर्याे

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले छाडेका लिला गुरुङलाई ललितपुर प्रहरीले फेरि पक्राउ गरेको छ। हाम्रो नयाँ कृषि सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेर छुटेका गुरुङ पुनः पक्राउ परेका हुन्।

जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार गुरुङलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो। उनीविरुद्ध मंगलबार नै जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्यादसमेत लिएर अनुसन्धान अघि बढाइएको छ।

हिन्दु र मुस्लिम समुदायबीचको झडपमा विराटनगर तनावग्रस्त

हिन्दु र मुस्लिम समुदायबीचको झडपमा विराटनगर तनावग्रस्त भएको छ। रामनवमीको सन्दर्भ पारेर हिन्दु धार्मिक संघसंस्थाले निकालेको धार्मिक र्यालीका क्रममा विवाद भएको हो। दुवै समूहबीच झडप भएको थियो। प्रहरीले भीड नियन्त्रण गर्न करिब ९ वटा अश्रु ग्यास र हवाई फायर गरेको थियो । हाल अवस्था बिग्रन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। फरार रहेका उनी आज प्रकाउ परेका हुन्। लागूऔषध मुद्दामा पाटन उच्च अदालतबाट पाँच वर्षको कैद सजाय तोकिएको छ। उनलाई तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ जेठ २० गते लागुऔषध खैरो हेरोइन कारोबारमा पाँच वर्ष कैद र ५ हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो। योसँगै लामाको उपाध्यक्ष पद स्वतः खारेज भएको छ ।

महावीर पुनको आत्मकथा बेचेर पाँच करोड आम्दानी

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले गत असोज २८ मा सार्वजनिक भएको ‘मराष्ट्रिय आविष्कार आफ्नो आत्मकथा पुस्तक बेचेर हालसम्म पाँच करोड रुपैयाँ आर्जन गरेको बताएका छन्।

गत असोज २८ मा सार्वजनिक भएको ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक लिएर विभिन्न जिल्लामा बिक्रीका लागि पुगेका उनले पछिल्लो १०० दिनमा विभिन्न २८ जिल्ला पुगेर ८४ हजार प्रति पुस्तक बिक्री भएको जानकारी गराएका हुन्। उनले आफ्नो आत्मकथाको किताब बेचेर प्राप्त रकमबाट तीन दशकदेखि बन्द अवस्थामा रहेको वीरगञ्जस्थित कृषि औजार कारखानाको मर्मत सम्भार गर्ने बताउँदै आएका छन्।

बुद्धचित्तको रुख काटेको आरोपमा पक्राउ परेकालाई डाँका मुद्दा चलाउने तयारी

काभ्रेको रोशी गाउँपालिका– ५ नागबेलीमा रहेको ठकुरानी तामाङको करोडौँ रुपैयाँ पर्ने बुद्धचित्तको रुख काटेको आरोपमा पक्राउ परेकालाई डाँका मुद्दा चलाउने तयारी गरेको छ । जनमुक्ति सेनाका पूर्वकमाण्डरसहित ४ जना पक्राउ परेकामाथि प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको डाँका मुद्दा चलाउने तयारी गरेको हो।

पक्राउ पर्नेहरूमा जनमुक्ति सेनाका पूर्वकमाण्डर प्रभात तामाङ, जनमुक्ति सेनाका कार्यकर्ता धिरज भनिने श्यामकृष्ण मैनाली, सिजन भनिने मानबहादुर तामाङ र दुर्गालाल तामाङ छन् । उनीहरु सबैलाई म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेश सभाको बैठक बोलाइएको विषयमा नेपाली कांग्रेसकाे आपत्ति

गण्डकी प्रदेश सभाको बैठक बोलाइएको विषयमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ। बुधबार गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ वैशाख दिउँसो ३ बजेका लागि प्रदेश सभा अधिवेशन आह्वान गरेका छन्। मुख्यमन्त्री नियुक्तिका विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा प्रदेश सभाको अधिवेशन बोलाउनु गलत भएको नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बताएका छन्। गण्डकीमा सभामुखको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएपछि पाण्डे त्यसविरुद्ध सर्वोच्च अदालत गएका थिए।

यूएई मा ७५ वर्षयताकै उच्च वर्षा हुँदा जनजिवन प्रभावित

संयुक्त अरब इमिरेट्स (यूएई)मा ७५ वर्षयताकै उच्च वर्षा हुँदा जनजिवन प्रभावित भएको छ। ‘खातम अल शक्ला’ क्षेत्रमा २ सय ५४ दशमलव ८ मिलिमिटर वर्षा भएको छ। सन् १९४९ मा डाटा सङ्कलन शुरु भएदेखि दस्तावेज गरिएको तथ्याङ्कलाई पार गर्ने गरी वर्षा मापन भएको त्यहाँको राष्ट्रिय मौसम केन्द्रले जनाएको छ। सडकमा बाढी आएको छ। केही सडक भत्किएका छन्।भारी वर्षापछि राष्ट्रिय आपतकालीन सङ्कट र प्रकोप व्यवस्थापन प्राधिकरणले अत्यावश्यक अवस्थाबाहेक घर नछोड्न सचेत गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सरकारी कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ।

एसीसी प्रिमियर कपः समूहचरणको अन्तिम खेलमा साउदी अरेबियामाथि नेपालकाे रोमाञ्चक जित दर्ता

नेपालले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको बुधबार भएको समूहचरणको अन्तिम खेलमा साउदी अरेबियामाथि ६ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ । ओमानको अल अमेरत खेल मैदानमा साउदीले जितका लागि दिएको ७४ रनको लक्ष्य नेपालले ७.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो।

योसँगै नेपालले आफ्नो अपराजित यात्रालाई कायम राख्दै समूह ए बाट विजेताको रुपमा सेमफिाइनलमा प्रवेश गरेको छ। यसअघि नेपालले मलेसिया, कतार र हङकङमाथि सानदार जित दर्ता गरेको थियो। यसैबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले पहिलोपटक आईसीसी टी(२० वरियताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएर नयाँ कीर्तिमान बनाएका छन्।

Logo