रवि लामिछाने मुछिएको काण्डमा दिपेशले दिए यस्तो बयान, ४ सिटे सोडारीलाई सुदूरको मुख्यमन्त्री [भिडियाेसहित]

रवि लामिछाने मुछिएको काण्डमा दिपेशले दिए यस्तो बयान, ४ सिटे सोडारीलाई सुदूरको मुख्यमन्त्री [भिडियाेसहित]

केन्द्रबिन्दु
42
Shares

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन्। सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। एकीकृत समाजवादीबाट आजै मुख्यमन्त्रीमा दाबी पेस गरेका सोडारीलाई एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षको समर्थन छ।

एमालेले सोडारीलाई समर्थन गर्न अनिच्छा देखाए पनि सत्ता गठबन्धन जोगाउनका लागि अन्तिममा समर्थन गर्न तयार भएको थियो। यसअघि सोमबार नागरिक उन्मुक्ति पार्टी (नाउपा) सांसदद्वय लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको मुख्यमन्त्रीका लागि दाबी पेस गरेपनि खारेज भएको थियो । योसँगै ५३ सदस्यीय प्रदेशसभामा ४ जनामात्रै सांसद भएको एकीकृत समाजवादीले मुख्यमन्त्री पाएको हो ।

लुम्बिनी प्रदेशमा बिहीबार मन्त्रिपरिषद् विस्तार भएको केही समयपछि पुनःमन्त्रिपरिषद् विस्तार

लुम्बिनी प्रदेशमा बिहीबार मन्त्रिपरिषद् विस्तार भएको केही समयपछि पुनःमन्त्रिपरिषद् विस्तार भएको छ। प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद् विस्तार गरेको केही घण्टा नबित्दै पुनस् मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

उनले एकीकृत समाजवादीबाट भगवती चौधरीलाई विना विभागीय मन्त्री बनाएका छन्। चौधरीलाई मन्त्री बनाएसँगै मन्त्रिपरिषद् ११ सदस्यीय बनेको छ। यसअघि एमालेले ५, नागरिक उन्मुक्ति, जसपा र स्वतन्त्र सांसदले एकरएक मन्त्रालय पाउनेगरी मन्त्रिपरिषद् विस्तार गरेका थिए।

आफूले सहकारीबाट कुनै रकम नलिएको र कसैले आफ्नो नाम दुरुपयोग गरेको भए जिम्मेवार नहुने दीपेशकुमार पुनकाे बयान

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलनमा अभियुक्त बनाइएका दीपेशकुमार पुनले पनि आफूले सहकारीबाट कुनै रकम नलिएको र कसैले आफ्नो नाम दुरुपयोग गरेको भए जिम्मेवार नहुने बयान दिएका छन् ।

जीबी राई अध्यक्ष हुँदा सचिव र कोषाध्यक्षसमेत रहेका दीपेशले सहकारीमा आफू सेयर सदस्य नरहेको र आफ्नो नाममा भएको खातामा देखिएको रकमका बारेमा कुनै जानकारी नभएको दाबी गरेका छन् । ‘मैले सुप्रिम सहकारीबाट रकम लिएको होइन, पेस्की भौचरमा भएको नाम दीपेश पुन रहेको र मेरो नाम दीपेशकुमार पुन भएको हुँदा त्यो व्यक्ति म होइन’।


अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को पहिलो शंसोधन खारेज

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को पहिलो शंसोधन खारेज गरेको छ । बिहीबार मन्त्रिस्तरीय निर्णयबाट गत २०८० असोज ७ गते गरिएको कार्यविधिको पहिलो शंसोधन खारेज गरिएको हो ।

अब मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको लागि अँग्रेजी भाषा अनिवार्य गर्ने सम्बन्धि २०८० मंसिर ६ गतेको निर्णय समेत खारेज गरेको छ । यो निर्णयसँगै वैदेशिक रोजगारीमा जाने श्रमिकले अँग्रेजी भाषाको परिक्षा दिनुपर्ने छैन ।

र्याली, भेला, प्रदर्शन रोक गर्न प्रशासन कार्यालय मोरङकाे अपिल

जिल्ला प्रशासन कार्यालय मोरङले अर्को सूचना जारी नभएसम्मको लागि जिल्लामा सभा, सम्मेलन, र्याली, भेला, प्रदर्शन गर्न रोक लगाएको छ । जिल्ला सुरक्षा समितिमा छलफल भै शान्ति सुरक्षाको खतरालाई मध्यनजर राखेर सम्भावित मानवीय क्षति कम गर्न र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न यस्तो निर्णय लिइएको सूचनामा उल्लेख छ। राम नवमीको दिन हिजो विराटनगर महानगरको वडा नम्बर १५ र १७ मा दुई वटा समूहको झडप भएको थियो। अवस्था थप बिग्रन नदिन प्रशासनले आज भेला र प्रदर्शनमा रोक लगाएको हो।

नवनियुक्त महालेखापरीक्षक तोयम रायालाई पद तथा गोपनीयताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखापरीक्षक तोयम रायालाई पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको सो कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलगायत संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति थियो।

फरार रहेको भन्दै पक्राउ परेका एन्फाका उपाध्यक्ष दावा लामा छुटे

लागूऔषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका एन्फाका उपाध्यक्ष दावा लामा छुटेका छन्। लामालाई बुधबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो। तर, लामाले आफूसँग स्टे अर्डर भएको प्रमाण प्रस्तुत गरेपछि छुटेका हुन् । लामा लागूऔषध खैरो हिरोइन कारोबार मुद्दामा उच्च अदालत पाटनबाट विसं २०६४ सालमा दोषी ठहर भई फरार थिए ।

पोर्चुगलको समुद्रमा दुई हप्तादेखि बेपत्ता भएका नेपाली युवाको शव समुद्री किनारमा भेटियाे

पोर्चुगलको समुद्रमा दुई हप्तादेखि बेपत्ता भएका नेपाली युवाको शव समुद्री किनारमा भेटिएको छ। शव धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५ कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको रहेको छ। तामाङको शव पोर्चुगलको राजधानी लिस्बनको तेरेइरो डो पासोको फेरि टर्मिनल नजिकैको समुद्री किनारमा भेटिएको हो। गएको अप्रिल ६ तारिखमा सामुद्रिक खाना खोज्ने क्रममा टेकबहादुर बेपत्ता भएका थिए भने उनीसँगै समुद्रमा गएका धनबहादुर तामाङको डुबेर ज्यान गएको थियो।

रुससँगको युद्धमा युक्रेनले हार्यो भने विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने चेतावनी

युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले रुससँगको युद्धमा युक्रेनले हार्यो भने विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने चेतावनी दिएका छन्। अमेरिकी कांग्रेसलाई राहत विधेयक तत्काल पारित गर्न पनि उनले माग गरेका छन्। गएको वर्ष युक्रेनी राष्ट्रपति भोलेदिमिर जेलेन्स्कीले तेस्रो विश्वयुद्ध शुरु गर्न रुसले पोल्यान्डमा आक्रमण गर्न सक्ने दाबी गरेका थिए तर त्यो दाबीलाई रुसले अस्वीकार गरेको थियो।

शेयर बजार बिहीबार पनि दोहोरो अङ्कले घट्याे

शेयर बजार बिहीबार पनि दोहोरो अङ्कले घटेको छ । पछिल्ला पाँच वटा कारोबार दिनदेखि शेयर बजार ओरालो लागिरहेको छ। नेप्से आज १९ दशमलव ५६ अङ्कले घटेर एक हजार नौ सय ७२ दशमलव १४ विन्दुमा झरेको छ।आज सबै समूहको शेयर ओरालो लागेको छ। सबैभन्दा धेरै रुरु जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले घटेको छ।

इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वालामुखी विस्फोट हुँदा विस्थापित मानिसलाई सुरक्षित स्थानमा सारियाे

इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी विस्थापित मानिसलाई सुरक्षित स्थानमा सारिएको अल जजिराले बिहीबार जनाएको छ। माउन्ट रुआङमा मङ्लबार एक पटक तथा त्यसपछि बुधबार चार पटक विस्फोट भएको थियो। इन्डोनेसियाको ज्वालामुखी विज्ञान एजेन्सीले पर्वतको सतर्कता स्तर बढाएर चार पुर्याएको छ, जुन मापनमा सबैभन्दा उच्च सात सय मिटर अग्लो छ।

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्ने

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्ने भएको छ। समूह एको विजेता नेपालले समूह बीको उपविजेता बनेको युएईसँग फाइनल प्रवेशका लागि शुक्रबार प्रतिस्पर्धा गर्ने भएको हो।

यसअघिको संस्करणमा नेपालले युएईलाई फाइनलमा हराउँदै च्याम्पियन बनेको थियो भने एसिया कपसमेत खेलेको थियो। टी-२० विश्वकप छनोटमा पनि नेपालले युएईलाई पराजित गरेको थियो। नेपाल र युएई मुख्य प्रतिद्वन्द्वी रहँदै आएको छ। त्यसकारण नेपालले भोलि बलियो उपस्थिती जनाउन सक्नेछ।

Logo