रियल, पीएसजी, बार्यन र डर्टमन्डमध्ये कसले जित्ला च्याम्पियन्स लिगको ट्रफी ? यस्तो छ गणितीय सम्भावना [भिडियाेसहित]

रियल, पीएसजी, बार्यन र डर्टमन्डमध्ये कसले जित्ला च्याम्पियन्स लिगको ट्रफी ? यस्तो छ गणितीय सम्भावना [भिडियाेसहित]

राजेश राई
56
Shares

काठमाडाैं। युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण बिहीबार पूरा भएको छ। युरोपकै सर्वोत्कृष्ट ३२ क्लब सहभागी लिगमा अब जम्मा ४ वटा क्लब उपाधिका लागि प्रतिस्पर्धा गर्न बाँकी रहेका छन्।

बाँकी २८ क्लब विभिन्न चरणबाट फालिँदै छनौट भएका उत्कृष्ट ४ क्लब रियल म्याड्रिड, बार्यन म्युनिख, पीएसजी र बोरुसिया डर्टमण्डबिच अब फाइनल प्रवेशका लागि १३ दिनपछि अर्थात वैशाख १९ गते महाभिडन्त हुने पक्का भइसकेको छ।

जसमध्ये स्पेनिस जायन्ट क्लब रियल म्याड्रिडले जर्मन क्लब बार्यन म्युनिखको सामना गर्दा अर्कोतर्फ एमबापेको पिएसजीले दोस्रो जर्मन क्लब बोरुसिया डटमण्डको सामना गर्नेछ। क्वाटरफाइनल समीकरणमा च्याम्पियन्स लिगकै सर्वाधिक सफल क्लब रियल म्याड्रिडले साविक विजेता सिटीलाई ३–४ गोलले हराएको थियो भने अर्को खेलमा बार्यन म्युनिखले इंग्लीस क्लब आर्सनललाई समग्रमा ६–४ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो।

यस्तै, सेमिफाइनलमा प्रवेश गरेको तेस्रो क्लब पिएसजीले स्पेनिस क्लब बार्सिलानालाई ६–२ गोलले पराजित गर्दा चौथौ सेमिफाइनललिष्ट क्लब बोरुसिया डर्टमुन्डले स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई ४–२ गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो।

यस पटकको संस्करणमा च्याम्पियन्स लिगको सेमिफाइनलमा कुनैपनि इङ्लिस क्लबहरु सहभागी हुन् सकेनन्। प्रतियोगिताकै दावेदारका रुपमा हेरिएको म्यानचेष्टर सिटी र आर्सनल क्वाटरफाइनलबाटै बाहिरिएपछि जारी सिजन इङ्लिस क्लबहरुको सम्भावना सकिएको हो। अब च्याम्पियन्स लिगको ट्रफी स्पेनिस, जर्मन र फ्रेन्च लिगमध्ये एक लिगका क्लबले जित्ने पक्का भइसकेको छ।

प्रतियोगितकै सर्वाधिक सफल क्लब रियल म्याड्रिडले साविक विजेता सिटीलाई क्वाटरफाइनलमा हराएपनि अब फाइनल प्रवेशका लागि अर्को बलियो जर्मन क्लब बार्यन म्युनिखको सामना गर्नुपर्ने छ। यो खेल निकै रोमाञ्चक हुने आंकलन गर्न सकिन्छ। जारी सिजनमा सेमिफाइनल पुगेका ४ उत्कृष्ट क्लबमध्ये सबैभन्दा बलियो र उत्कृष्ट टिम रियल म्याड्रिड नै हो भन्दा फरक नपर्ला। किनकी उसले १४ पटक च्याम्पियन्स लिगको ट्रफी जितेको छ भने जारी सिजन नापोली र सिटीलाई हराउँदै आफ्नो क्षमता देखाइसकेको छ।

घरेलु स्पेनिस ला लिगामा सात खेल बाँकी रहँदा रियलले दोस्रो स्थानको बार्सिलोनाभन्दा ८ अंकले अघि रहेका छन्। तसर्थ जारी सिजन रियलले घरेलु लिगको साथसाथैँ च्याम्पियन्स लिगमा पनि आफ्नो प्रभुत्व जमाई सकेका छन्। तर, बार्यन म्युनिख रियलका लागि सजिलो प्रतिस्पर्धी भने पक्कै हुनेछैन। बार्यन र रियलमध्ये जुन टोली फाइनलमा प्रवेश गर्यो त्यहीँ टिमले नै जारी संस्करणको उपाधि जित्ने सम्भावना प्रबल देखिन्छ।

यस्तै, अर्कोतर्फ एमबापेको पीएसजी पनि पहिलो पटक युरोपियन च्याम्पियन्स लिगको ट्रफी जित्न निकै आतुर देखिन्छ। यसका लागि पिएसजीले हरेक हत्कण्डा अपनाउने सक्ने अनुमान गरिन्छ। च्याम्पियन्स लिगको ट्रफी जित्नकै लागि पीएसजीले केही वर्षअघि विश्वकै सर्वोत्कृष्ट खेलाडीहरु मेसी, नेइमार र एमबापेलाई भित्र्याएको थियो। तर, पीएसजीको उक्त योजना सफल नभएपछि मेसी अमेरिका र नेइमार साउदी लिगमा अनुबन्ध भइसकेका छन् भने एमबापे पीएसजीमै टिकिरहेका छन्।

एमबापेले पनि जारी सिजनको अन्त्यसँगै पीएसजी छाड्ने भनिसकेका छन्। रिपोर्टका अनुसार एमबापे अब रियल म्याड्रिड जानेछन्। यस्तोमा एमबापे सामु यसपटक च्याम्पियन्स लिग जित्ने अवसर रहेको छ।

४ वर्षअघि अर्थात सन् २०२० मा पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनल पुगेको थियो। तर उपाधि भिडन्तमा बायर्न म्युनिखसँग १–० गोलले पराजित पीएसजी दोस्रो पटक फाइनल प्रवेशका लागि बोरुसिया डटमण्डलाई सहजै हराउने दाउमा रहेको छ।

बोरुसियाले पनि क्वाटरफाइनलमा एट्लेटिको मड्रिड र समूह चरणलाई पीएसजीलाई १–१ गोलको बराबरीमा रोकेको थियो। सोही कारण पीएसजीले डटमण्डलाई सहज आंकलन गर्न मिल्दैन।

डार्क हर्सका रुपमा सेमिफाइनल प्रवेश गरेको डटमण्डले पीएसजीलाई हराएको खण्डमा सनसनी मच्चिने छ। तर, जारी सिजन ४१ गोल गरिसकेका एमबापेले डटमण्डलाई त्यो अवसर बिरलै दिने सम्भावना उच्च रहेको छ। च्याम्पियन्स लिगमा एमबापे ५० गोल गर्न दुई गोलले मात्रैले टाढा छन्।

तर, के यस पटक एमबापेले पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको ट्रफी जिताउन सफल होलान त? त्यसका लागि भने हामीले अझैँ १३ दिनपछिको सेमिफाइनल र जेष्ठ २ गते हुने फाइनलको पर्खाइ गर्नुपर्नेछ।

Logo