रास्वपाका उम्मेद्‍वार लिम्बुलाई स्पष्टीकरण, विश्वकप जितेका खेलाडीमााथि कप्तान रोहित हावी[भिडियोसहित]

रास्वपाका उम्मेद्‍वार लिम्बुलाई स्पष्टीकरण, विश्वकप जितेका खेलाडीमााथि कप्तान रोहित हावी[भिडियोसहित]

केन्द्रबिन्दु
56
Shares

उपनिर्वाचन शान्तिपूर्ण रुपले सम्पन्न, इलाम–२ मा ५७ प्रतिशत र बझाङ–१ मा ५० प्रतिशत मतदान
इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ क मा प्रदेशसभा सदस्यका लागि शनिबार भएको उपनिर्वाचन शान्तिपूर्ण रुपले सम्पन्न भएको छ। प्रारम्भिक बिहान ७ बजेदखि साँझ बजेसम्म चलेको मतदानमा इलाम–२ मा ५७ प्रतिशत मत र बझाङमा ५० प्रतिशत हाराहारीमा मत खसेको छ। इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते हृदयाघात तथा बझाङ–१ का प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ गते सडक दुर्घटनामा निधन भएपछि रिक्त भएका ती स्थानमा शनिबार चुनाव भएको हो।

निर्वाचन आयोगले सोध्यो मिलन लिम्बुलाई स्पष्टीकरण
निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार मिलन लिम्बुलाई स्पष्टीकरण सोध्न निर्देशन दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लिम्बुले शनिबार भएको उपनिर्वाचनमा मतदान गर्ने क्रममा आफ्नो दलको चुनाव चिन्हको ‘ब्याज’ लगाएर मतदान गरेको फोटो बाहिरिएपछि आयोगले स्थानीय प्रशासनलाई स्पष्टीकरण सोध्न निर्देशन दिएको हो। उनले कोटबाहिर स्पष्ट देखिनेगरी रास्वपाको चुनाव चिन्ह घण्टी भएको लोगो लगाएर मत दिएका थिए।

नागरिक उन्मुक्तिको घर झगडा मिल्यो
नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवाद मिलेको छ। नाउपाका संरक्षक रेशमलाल चौधरी र उनकी पत्नीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीचको विवाद मिलेको हो। यसअघि पती पत्नीको विवाद लामो समयचल्दा नाउपाले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री गुमाउनु परेको थियो। उता रेशमले श्रीमती र निर्वाचन आयोगविरूद्ध मुद्दा हाल्दा यता सुदूरपश्चिम प्रदेश सभामा रहेका श्रीमान रेशम पक्षका सांसदलाई नै रञ्जिताले बर्खास्त गर्नसम्म पुगिन्। झन्डै ती सांसदको पद अदालतले बचाइदियो।

मन्त्री उपेन्द्र यादव अमेरिका र कतारको भ्रमणमा
सरकारमा सहभागी भएपछि अधिकांश समय विदेशमा बिताउने रेकर्ड बनाएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्य मन्त्रीमा नियुक्त भएको ४८औँ दिन आज अमेरिका तथा कतार भ्रमणमा निस्किएका छन्। सरकारमा गएको दुई महिना पनि पुगेको छैन। तर, पुनः उनको विदेश यात्रा सुरु भएको हो। अप्रिल २९ देखि मे १ सम्म अमेरिकामा हुने जनसङ्ख्या सम्मेलनमा भाग लिनका लागि यादव आज साँझ साढे ६ बजे अमेरिका तर्फ प्रस्थान गरेका हुन्। सार्थ उनी पछि कतार पनि पुग्नेछन्।

संसद् छलेर अध्यादेश ल्याएको प्रति कांग्रेसको आपत्ति
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगानी सम्मेलनका लागि भन्दै सरकारले अध्यादेश ल्याउने सम्बन्धी निर्णय गर्नु लोकतन्त्र र संसदीय अभ्यास विपरीत रहेको भन्दै निन्दा गरेको छ। एक प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले कानुन निर्माणका लागि संसद्सँग पर्याप्त समय हुँदा हुँदै विज्ञप्ति ल्याउनु अलोकतान्त्रिक काम भएको टिप्पणी गरेको हो । सरकारलाई संसद् छलेर अध्यादेश ल्याउने कार्य गरी संसद्लाई कमजोर नगर्न सचेत समेत गराएको छ।

आम जनता पार्टी र समाजवादी जनएकता पार्टीबीच एकीकरण
आम जनता पार्टी र समाजवादी जनएकता पार्टीबीच एकीकरण भएको छ। शनिबार प्रभु साह नेतृत्वको आम जनता पार्टी र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जनएकताबीच एकीकरणको घोषणा भएको हो।त्यस्तै, एकीकरणपछि प्रभु साहको नेतृत्वमा आम जनता पार्टी रहने छ। यसमा जनएकता पार्टीका संयोजक नारायण श्रेष्ठ लगायतका नेताको कार्यविभाजन एवं भूमिका सम्मानजनक रहने बताइएको छ।

अध्यक्ष ओलीका कारण तत्कालिन नेकपा जोगाउन नसकेको नेपालको दाबी
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहंकारले सीमा नाघेपछि तत्कालिन नेकपा जोगाउन नसकेको बताएका छन्। एमाले र माओवादीको एकता भइसकेपछि झण्डै दुई तिहाइको बहुमतको अवस्थामा संविधान नै बदल्न सक्ने क्षमता हुँदा पनि ओलीले अहंकार देखाउँदा ऐतिहासिक अवसर गुमाएको टिप्पणी गरेका हुन्। ओलीले पार्टीको विधान, सिद्धान्त र संविधान मिचेकै कारणले अहिलेसम्म सिंगो आन्दोलनले धक्का खाइरहेको उनको आरोप छ।

डाँगीलाई शहीद घोषणा गर्न राप्रपाको माग
राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनका क्रममा निधन भएका बर्दिया मधुवन नगर अध्यक्ष ठाकुरप्रसाद डाँगीलाई शहीद घोषणा गर्न माग गरेको छ। राप्रपाले ४० बुँदे माग राखेर चैत २७ गते काठमाडौंमा गरेको आन्दोलनका क्रममा घाइते भएका डाँगीको उपचारका क्रममा निधन भएको थियो। आज डाँगीको १३औं दिनको पून्य तिथीका अवसरमा आयोजित श्रद्धाञ्जली सभामा राप्रपाका सांसद पशुपति शम्सेर जवराले उनलाई शहीद घोषणा नगरे सडक र सदनबाट दबाब दिने चेतावनी समेत दिएका छन्।

बाल अधिकार परिषद्को संरचनागत सुधार गर्न मन्त्री चौधरीको निर्देशन
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले राष्ट्रिय बाल अधिकार परिषद्को संरचनागत सुधार गर्न निर्देशन दिएकी छन्। मन्त्री नियुक्त भएर आएपछि पहिलो बैठकको अध्यक्षता गर्दै परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री चौधरीले परिषद्को संरचनागत सुधार गर्न निर्देशन दिएकी हुन्। साथै,बैठकले बालगृह, बाल सुधार गृहका विषयमा देखिएका समस्याका बारेमा छानबिन गर्ने, संस्थालाई सबलीकरण बनाउने विषयमा निर्णय गरेको छ।

रुसी सेना भर्ति भएका तनहुँका नौ युवा अझै सम्पर्कविहीन
रुसी सेनामा भर्ति भएका तनहुँका नौ युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन्। स्वदेशमा केही गर्ने विकल्प नभएपछि रुसी सेनामा भर्ती भएका आफ्ना सन्तान सम्पर्कविहीन भएपछि अभिभावक लगायतका परिवार चिन्तामा परेका हुन्। धन कमाएर सुखले पाल्छु भन्ने सपना देखाएर रुसी सेनामा भर्ती भएको छोरो विगत चार महिनादेखि सम्पर्कविहीन भएपछि दिनरातै रोएर बित्ने गरेको र सरकारले पनि कुनै वास्ता नगरेको भन्दै परिवारका सदस्यले दुख व्यक्त गरेका छन्।

लगानी सम्मेलनको पूर्वसन्ध्यामा विरोध प्रदर्शन
लगानी सम्मेलनको पूर्वसन्ध्यामा स्वदेशी लगानीकर्ताहरूले सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन्। सरकारले स्वदेशी लगानीकर्ताको माग र अवस्थालाई बेवास्ता गरेर विदेशी लगानीकर्तालाई लगानी सम्मेलन गर्न लागेको भन्दै आज पुँजीबजार सङ्घर्ष समितिले माइतीघरमा विरोध प्रदर्शन गरेको हो। स्वदेशी लगानीकर्ताको सुरक्षा गर, नसके बन्द गर, लगानीकर्ता मारा मौद्रिक नीति र लगानी क्याप खारेज गर, ६२ लाख लगानीकर्तालाई विदेश पलायन गराउने स्थायी काम बन्द गर भन्ने उनीहरुको नारा छ।

सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण सम्पन्न
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ। आयोजनाको सुरुङ खन्ने काम करिब सम्पन्न भएको र एकाध सेन्टिमिटर मात्रै बाँकी रहेको छ। यही वैशाख २६ गते विशेष समारोहबीच सुरुङ छिचोलिने छ। सुरुङ ब्रेक थ्रू गर्ने अन्तिम तयारी भइरहेको सम्बन्धित आयोजनाले जनाएको छ। सुरुङ निर्माणको कूल अवधि दुई वर्षको भए पनि त्यसभन्दा धेरै अगाडि झन्डै १९ महिनामा सम्पन्न भएको हो।

गाजामा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान
गाजामा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान गरेको छ। ‘सुरक्षा समन्वय तथा वार्ताका लागि’ मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डल इजरायलतर्फ प्रस्थान गरेको हो। इजरायलका विभिन्न सञ्चारमाध्यमले इजिप्टको प्रतिनिधिमण्डलको भ्रमणअघि युद्धविराम र बन्धकमुक्त गर्ने नयाँ योजनाबारे छलफल भएको दाबी समेत गरेका छन्। दक्षिणी गाजाको रफाहमा हमास लडाकूविरुद्ध इजरायलले सैन्य कारवाहीको तयारी गरेका बेला मध्यस्थकर्ताको टोली वार्तामा जुट्दैछ। तर हमास पक्षले रफाहमा कुनै पनि प्रकारको आक्रमणबाट वार्तालाई नै खतरामा पार्ने सङ्केत गरेको छ।

कप्तान पौडेलको शतकमा नेपाल विजयी
कप्तान रोहितकुमार पौडेलको शतकमा घरेलु टोली नेपालले टी–ट्वान्टी शृङखलाको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’माथि ४ विकेटको ऐतिहासिक जित दर्ता गरेको छ। यो नेपालको टेष्ट राष्ट्र एवं विश्वविजेता वेस्ट इन्डिजका कुनै पनि टोलीविरुद्ध पहिलो जित हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले जितका लागि दिएको २०५ रनको बलियो लक्ष्य पाएको नेपालले ६ विकेटको क्षतिमा निर्धारित २० ओभरमा २ बल बाँकी छँदै पूरा गरेको हो। नेपालको जितमा कप्तान रोहित नायक बने। उनले ५४ बलमै ११२ रन जोडे। योसँगै ५ खेलको टी–ट्वान्टी शृङखलामा नेपालले अग्रता लिएको छ।

Logo