उपनिर्वाचन: मतगणना जारी, मेयर बालेनले देशभरका नागरिकलाई निःशुल्क उपचार गर्ने[भिडियोसहित]

उपनिर्वाचन: मतगणना जारी, मेयर बालेनले देशभरका नागरिकलाई निःशुल्क उपचार गर्ने[भिडियोसहित]

केन्द्रबिन्दु
126
Shares

उपनिर्वाचन: मतगणना जारी
इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ क मा प्रदेशसभा सदस्यका लागि शनिवार सम्पन्न भएको उपनिर्वाचनको मतगणना जारी छ। दुवै स्थानमा आजबाट मतगणना सुर गरिएको हो। इलाम–२ मा हालसम्म फाकफोकथुम गाउँपालिका(१ र २ को मतगणना सम्पन्न हुँदा कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले अग्रता लिएका छन् भने दोस्रो एमाले, तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु रहँदा रास्वपा चौथो बनेको छ। त्यस्तै, बझाङमा छविसपाथिभेरा गाउँपालिकाको १, २, ३ र ४ वडामा मतगणना गर्दा एमालेका दमन भण्डारीले दोब्बर मतान्तरले अग्रता लिएका छन्। दोस्रोमा कांग्रेसका अभिषेकबहादुर सिंह छन्।

सरकारको कुराबाट विश्वस्त छैनन् सहकरी पीडित
सरकारले फास्ट ट्र्याकबाट कानुन बनाएर सहकरी पीडितको समस्या समाधान गर्ने कुरामा सहकारी पीडित विश्वस्त देखिएका छैनन्। आइतबार काठमाडौंको स्वर्णलक्ष्मी सहकारीका झण्डै डेढसय पीडितहरुले जिवी राईविरुद्ध निवेदन दिँदै यस प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबाट निष्पक्ष छानविन हुनेमा आशंका व्यक्त गरेका हुन्। सहकारीका समस्या समाधान गर्ने भन्दै सरकार नाटकीय रुपमा प्रस्तुत भएको उनीहरुको आरोप छ।

काठमाडौं महानगरले नेपालभरका गरिब र अशक्त नागरिकलाई काठमाडौंमा निःशुल्क उपचार गरिदिने
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अब नेपालभरका गरिब र अशक्त नागरिकहरूलाई काठमाडौंमा निःशुल्क उपचार गरिदिने भएका छन्। आइतबार बिहानै सामाजिक सञ्जालमार्फत मेयर बालेनले यस्तो सुखद समाचार दिएकाहुन्। तर त्यसका लागि नागरिकहरुले आफ्नो स्थानीय तहबाट सिफारिस ल्याउनु पर्ने हुन्छ। महानगरमा ५२ अस्पतालका तीन सय ७४ बेड भएको जनाउदै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै मेयर शाहले बिरामीको आवश्यकता अनुसार निःशुल्कउपचार हुने जनाएका छन्।

साह वने वन तथा वातावरण मन्त्रालय
मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्। यसअघि अरु मन्त्रालय नसम्हाल्ने अडान राखेका साह अन्ततः वन मन्त्रालय सम्हाल्न राजी भएका हुन्। लोकतान्त्रिक समाजवादी पार्टीका रमेशप्रसाद कुर्मीले ४ वैशाखमा नै सरकार छाडेपछि उनले सम्हालेको वन मन्त्रालय खाली भएको थियो।

राष्ट्रियसभा सदस्यको शपथ लिइन् अन्जानले
राष्ट्रियसभा सदस्य अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन्। आइतबार संघीय संसद् सचिवालयको कृषि तथा प्राकृतिक स्रोत समितिको हलमा उनलाई राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले शपथ गराएका हुन। मनोनीत कोटा अन्तरगत शाक्य राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा गत चैत ६ गते मनोनीत भएकी थिइन्।

तेस्रो लगानी सम्मेलन सुरु
मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ तेस्रो लगानी सम्मेलन सुरु भएको छ। यसअघि २०७३ साल फागुन १९ र २० गते पहिलो तथा २०७५ चैत १५ र १६ गते दोस्रो लगानी सम्मेलन आयोजना गरिएको थियो। ५ वर्षपछि आयोजित दुई दिनसम्म चल्ने यस सम्मेलनमा करिब ९ खर्ब लगानीका लागि एक सय ५१ परियोजना प्रस्तुत गरिएका छन् भने त्यसमा ५५ भन्दा बढी देशका लगानीकर्ताले भाग लिएका छन्। आज सरोकारवाला निकाय तथा विभिन्न क्षेत्रका जानकारहरुले नेपालमा लगानीको अवसर खोजिरहेको र स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए।

लगानी सम्बन्धी अध्यादेश जारी
तेस्रो लगानी सम्मेलन सुरु भएकै दिन राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन अध्यादेश, २०८१ जारी गरेका छन्। लगानीकर्तालाई लगानी प्रवद्र्धनका लागि थप सुविधा होस् भन्ने उद्देश्यले लिइएको उक्त अध्यादेशले लगानीकर्ताबाट सञ्चालन हुने आयोजनामा जग्गाको मुआब्जा निर्धारण गर्दा रजिष्ट्रेसन प्रयोजनका लागि निर्धारण गरिएको न्यूनतम मूल्याङ्कनको तीन गुणाभन्दा बढी मुआब्जा रकम निर्धारण नगरिने व्यवस्था गरेको छ। राष्ट्रपतिले आज प्रमाणीकरण गरेसँगै यो कार्यान्वयनमा आएको छ।

सन्दीपको मुद्दामा सुनुवाइ हुन सकेन
क्रिकेटर सन्दीप लामिछाने संलग्न रहेको बलात्कार सम्बन्धी मुद्दामा उच्च अदालत पाटनमा आइतबार पेसी तोकिए पनि सुनुवाइ हुन सकेन। न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको थियो। तर इजलासले उक्त मुद्दालाई ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो। यसअिघ पनि हेर्न नभ्याइनेमै राखिएको थियो। काठमाडौँ जिल्ला अदालतले कसुरदार ठहर गरेपछि सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन्।

चीनले गर्यो नेपाली नागरिकलाई भिसा निःशुल्क
चीनले नेपाली नागरिकलाई भिसा निःशुल्क गरेको छ। चिनियाँ दूतावासका अनुसार १ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने निर्णय गरेको हो। नेपालका लागि चिनियाँ राजदूत छन सङले दुई देशबीचको सम्बन्धलाई प्रवर्द्धन गर्न र सेवालाई थप सहज बनाउन यस्तो निर्णय लिइएको जानकारी दिएका छन्। दूतावासका अनुसार नियमित भिसा शुल्क नलागे पनि एक्सप्रेस शुल्क र सेवा शुल्क भने लिइने छ।

आइतबार सेयर बजारले पनि सकारात्मक
साताको पहिलो दिन सरकारले तेस्रो लगानी सम्मेलन गरिरहेका बेला सेयर बजारले पनि सकारात्मक संकेत दिएको छ। आज बजार परिसूचक १४.३३ अंकले बढ्दै १९८०.२७ विन्दुमा आइपुगेको छ। आज ६८ लाख ७८ हजार १६९ कित्ता सेयर २ अर्ब ६८ करोड २५ लाख रुपैयाँमा किनबेच भएको छ। १७९ कम्पनीको सेयरमूल्य बढेको छ भने ५६ कम्पनीको घटेको छ। जसमा ९ कम्पनीको सेयरमूल्य स्थिर रह्यो।

साउदी अरबले गर्यो क्षेत्रीय ‘स्थिरता’का लागि आह्वान
इजरायल र हमासबीच जारी युद्धले विश्वव्यापी आर्थिक भावनामा पारेको असरबारे सङ्केत गर्दै साउदी अरबले क्षेत्रीय ’स्थिरता’का लागि आइतबार आह्वान गरेको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन, प्यालेस्टाइनी नेता र इजरायल र हमासबीच युद्धविरामका लागि मध्यस्थता गर्ने प्रयास गरिरहेका अन्य देशका उच्च पदस्थ अधिकारीहरू विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरबको राजधानी रियादमा हुने शिखर सम्मेलनको अतिथि सूचीमा छन्। गत अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकू समूह हमासले दक्षिणी इजरायलमाथि गरेको अकल्पनीय आक्रमणपछि गाजामा इजरायलद्वारा युद्ध सुरु भएको थियो।

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
कप्तान रोहितकुमार पौडेलको अर्धशतकीय इनिङका बाबजुद नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्धको दोस्रो टी–२० खेलमा भने १० रनले हार व्यहोरेको छ। वेस्ट इन्डिज ‘ए’को यो जितसँगै पाँच खेलको प्रतियोगिता १–१ को बराबरीमा आएको छ। पहिलो खेलमा नेपालले ४ विकेटको ऐतिहासिक जित दर्ता गरेको थियो। आइतबार १६१ रनको लक्ष्य पछ्याएको नेपाल ९ विकेटको क्षतिमा १५० रनमै समेटिएको हो। नेपालका लागि कप्तान रोहितले ७१ रनको अविजित इनिङ खेले। तर, जिताउन सकेनन्।

Skip This
Logo