काठमाडौंमा बढ्यो वायु प्रदूषण: मास्क लगाउन आग्रह, उपनिर्वाचनबाट चटकेहरू विस्तारै साइड लागे[भिडियोसहित]

काठमाडौंमा बढ्यो वायु प्रदूषण: मास्क लगाउन आग्रह, उपनिर्वाचनबाट चटकेहरू विस्तारै साइड लागे[भिडियोसहित]

केन्द्रबिन्दु
84
Shares

इलामबाट प्रतिनिधि सभामा निर्वाचित सुहाङले गरे मतदाताको शिर नझुक्न दिने प्रतिबद्धता
इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले मतदाताको शिर झुक्ने कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । एमाले उम्मेदवार नेम्वाङ मंगलबार २७ हजार सात सय ७२ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरे । त्यसपछि विजयी र्यालीमा निस्केका नेम्वाङले इलामेली मतदातालाई कुनै प्रकारको सङ्कोच नुहुने गरी काम गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले भने, “म मेरो बुबाको अपूरो र अधुरो सपना पूरा गर्न राजनीतिमा आएको हुँ, इलामे जनतालाई कुनै सङ्कोच नहुने गरी काम गर्नेछु,”

सभापति लामिछाने गरे उपनिर्वाचनमा रास्वपाको हार स्विकारेका
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले इलाम-२ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा रास्वपाको हार स्विकारेका छन् । सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमालेका सुहाङ नेम्वाङलाई बधाई दिँदै आफ्ना पार्टीका उम्मेदवार मिलन लिम्बूलाई मत दिनेहरूप्रति आभार प्रकट गरेका हुन् । उनले निर्वाचन जित्न नसकिए पनि सिक्न भने सकिएको बताएका छन् । इलाम २ मा रास्वपाका उम्मेदवार लिम्बूले १० प्रतिशत पनि मत नल्याउँदा जमानत नै जफत भएको छ । जुन रास्वपाका लागि भारी बनेको छ ।

ओली भन्छन्: जात र थर विशेषलाई पहिचानको विषय बनाउन नहुने
एमालेका अध्यक्ष केपी शर्मा ओलीले जात र थर विशेषलाई पहिचानको विषय बनाउन नहुने बताएका छन्। इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार विजय भएपछि आयोजित सभामा बोल्दै उनले भने, ‘कुनै व्यक्ति विशेषको, कुनै थर विशेषको आदिको पहिचानको कुरा होइन प्रदेशको नाम। पहिले पनि जतिबेला बाँडिएको थियो, त्यसैगरी बाँडिएका हुन्थे। मेची अञ्चल थियो, कोशी अञ्चल थियो।’ साझा नाम भएकाले कोशी प्रदेशको नामकरण गर्दा केही पनि नबिग्रने ओलीको तर्क थियो।

उपनिर्वाचनबाट चटकेहरु विस्तारै साइड लागे: सांसद खतिवडा
काग्रेस सांसद रामहरी खतिवडाले रास्वपालाई लक्षित गर्दै उपनिर्वाचनबाट चटकेहरु विस्तारै साइड लागेको टिप्पणी गरेका छन् । नेपालको राजनीतिमा कांग्रेस र एमालेमात्र स्थापित शक्ति भएको दाबी गरेका उनले भने, ‘८४ सम्म चटकेहरु ठिक हुन्छन्।’ उपनिर्वाचनको मतपरीणामबारे विश्लेषण सुनाउँदै उनले यसले अहिलेका धेरै क्रान्तिकारीहरुलाई पनि ठेगान लगाईदिएको टिप्पणी गरे ।

कर्णाली मुख्यमन्त्री कडेलले गरे सरकार विस्तार गरेका
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार विस्तार गरेका छन्। मंगलबार मुख्यमन्त्री कँडेलले एक राज्यमन्त्रीसहित ७ जना मन्त्री नियुक्त गरेका हुन्। मन्त्री बन्नेमा माओवादी केन्द्रबाट महेन्द्र केसी आर्थिक मामिला तथा योजना मन्त्री, दुर्गबहादुर रावत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, रणसिंह परियार जलस्रोत तथा उर्जा विकास मन्त्री र वीरबहादुर शाहीलाई सामाजिक विकास मन्त्री नियुक्त भएका छन् । त्यसैगरी एमालेबाट विनोद कुमार शाही भूमि व्यवस्था, कृषि तथा सहकारी, शेरबहादुर बुढा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री तथा गमता विकलाई भौतिक पूर्वाधार राज्यमन्त्री नियुक्त गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय सल्लाहकार समिति सदस्यमा दाहाल मनोनित
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय सल्लाहकार समिति सदस्यमा विष्णु प्रसाद दाहाल मनोनित भएका छन् । राप्रपा काठमाडौं क्षेत्र नंम्बर–७ का पूर्व अध्यक्ष समेत रहेका दाहाललाई राप्रपाको केन्द्रीय सल्लाहकार समितिमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार मनोनित गरेका हुन् । सो अवसरमा दाहालले पार्टीको बृहत्तर हितमा नीति र सिद्धान्तभित्र रहेर आफूले काम गर्ने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री प्रचण्डले गरे मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्ति
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्ति गरेका छन् । विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्रा।डा। ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा बिजुकुमार थपलियालाई नियुक्त गरेका हुन् । छनोट तथा सिफारिस समितिको सिफारिसमा उपकुलपति नियुक्त गरिएको हो ।

नेपालको घाँस चीनको स्वशासित क्षेत्र तिब्बतमा बिक्री गरिने
नेपालको घाँस चीनको स्वशासित क्षेत्र तिब्बतमा बिक्री गरिने भएको छ । तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालबाट ओट घाँस र जनावरको दाना खरिद गर्ने भएको हो । यसका लागि तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालका दुई वटा कम्पनीसँग सम्झौता गरेको छ ।उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत चेन सोङको उपस्थितिमा घाँस र दाना निर्यात गर्नेबारे सम्झौता भएको हो ।

वनमा लागेको डढेलो निभाउने क्रममा एकजनाको मृत्यु
ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु भएको छ । आगलागी निभाउने क्रममा घाइते भएका दुईजनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि पठाइएकामा शङ्कर पहरीको उपचारका क्रममा मृत्यु भएको हो । लेले जङ्गलमा तीन/चार दिनदेखि लागेको डढेलो फैलिँदा त्यहाँ सञ्चालित कुष्ठरोग अस्पताल जोखिममा परेको छ । आगो अस्पताल नजिकै पुगेपछि त्यहाँका बिरामीलाई अन्यत्र सारिएको छ ।

काठमाडौंमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो । नेपालमा वायु प्रदुषणबाट बर्सेनि हुने मृत्युमा बढीजसो पाँचवर्ष मुनिका बालबालिका,गर्भवती,दीर्घ रोगी र वृद्धवृद्धा बढी छन् ।

चालु आर्थिक वर्ष २०८०/८१ को आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान
चालु आर्थिक वर्ष २०८०/८१ को आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ । यस वर्षको ६–८ महिनाको वास्तविक तथ्यांक र बाँकी अवधिको अनुमानका आधारमा यो आर्थिक वृद्धिदर सार्वजनिक गरिएको हो । सरकारले चालु आवमा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य सहित बजेट ल्याएको थियो । तर, बजेको लक्ष्यभन्दा आर्थिक वृद्धिदर न्यून हुने अनुमान छ । यससँगै नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ५ अर्ब पुगेको छ ।

सोमबार स्थिर रहेको नेप्सेमा मंगलबार दोहोरो अंकले वृद्धि
सेयर कारोबार मापक नेप्से २५.९३ अंकले बढेर २ हजार ६.२८ अंकमा उक्लेको छ । सोमबार स्थिर रहेको नेप्सेमा मंगलबार दोहोरो अंकको वृद्धि देखिएको हो ।नेप्से परिसूचकसँगै मंगलबार कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ । आज करिब ४ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कोलम्बियामा हेलिकप्टर दुर्घटना, नौ जना सैनिकको मृत्यु
उत्तरी कोलम्बियामा आपराधिक समूह गल्फ क्लानविरुद्ध लड्नका लागि सैनिकलाई पुर्याएर फर्कने क्रममासेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ जना सैनिकको ज्यान गएको छ ।सोमवार सेनाको हेलिकप्टर दुर्घटना भएको त्यहाँको राष्ट्रिय सेनालाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।हेलिकप्टर दिउँसो बेससँग सम्पर्कविच्छेद भएको र खोजी गर्ने क्रममा बोलिभर विभागको सान्ता रोजा नगरपालिका नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सेनाले विज्ञप्तिमा बताएको छ ।

नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट नै क्यान्सिल’
पहिलोपटक इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्न बेलायत प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट नै क्यान्सिल’ भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले नेपालस्थित बेलायती दूतावाससँग ३५ जनाको भिसा प्रक्रियाका लागि आग्रह गरेको थियो । तर, निर्धारितसमय सम्म पनि भिसा नआएको हो । हाल टोली होटेलमै रहेको छ । भिसा नभएको कारण उडान रद्द भएसँगै अब एन्फाले निकै सास्ती खेप्नुपर्ने देखिन्छ । नेपालले ३८ वर्षपछि युरोपमा मैत्रीपूर्ण प्रतिस्पर्धा तथा पहिलो पटक इङ्ल्यान्ड ‘सी’ सँग प्रतिस्पर्धा गर्न लागेको हो। अल्डरसट टाउन एफसीले आफ्नै स्टेडियम इबीबीमा आउँदो मे ६ तारिखमा दुई टोलीबीच मैत्रीपूर्ण फुटबल गराउने छ।

Logo