गृहमन्त्री लामिछानेले विपद् व्यवस्थापनमा लिए पहल, अब १०० रुपैयाँको नोटमा चुच्चे नक्सा[भिडियोसहित]

गृहमन्त्री लामिछानेले विपद् व्यवस्थापनमा लिए पहल, अब १०० रुपैयाँको नोटमा चुच्चे नक्सा[भिडियोसहित]

केन्द्रबिन्दु
112
Shares

सय रुपैयाँको नोटमा नेपालको नक्साको तस्बिर परिवर्तन हुने
सरकारले सय रुपैयाँको नोटमा नेपालको नक्साको तस्बिर परिवर्तन गर्ने भएको छ। आज बसेको मन्त्रिपरिषद बैठकले सयको नोटमा रहेको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको हो। अर्थ मन्त्रालयले बैंक नोटमा रहेको तस्बिर परिवर्तन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो। भारतको अधीनमा रहेका लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर बनाइएको चुच्चे नक्सालाई २०७७ सालमा संसदले अनुमोदन गरेको थियो। सोहीअनुसार नागरिकता, पासपोर्ट, सांसदको लोगो, सरकारी कर्मचारीका परिचयपत्र र लाइसेन्सको लोगो परिवर्तन भएको थियो। तर, सय रुपैयाँको नोटमा भने पूरानै थियो।

विपद् व्यवस्थापनका लागि सातै प्रदेशमा एयर एम्बुलेन्सको अवधारणा तयार गर्न आवश्यक: गृहमन्त्री लामिछाने
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनका लागि सातै प्रदेशमा एयर एम्बुलेन्सको अवधारणा तयार गर्न आवश्यक रहेको बताएका छन्। राष्ट्रिय सरोकार समितिको बैठकमा उनले भने, ‘नागरिकको ज्यान बचाउने कुरा हो। सातै प्रदेशले एयर एम्बुलेन्सको अवधारणा आवश्यक छ। विपद् व्यवस्थापनका लागि आवश्यक सामग्रीहरु जुटाउनुपर्ने हुन्छ त्यो बेला हामीसँग बजेट छैन् भन्ने कुरा हुँदैन्।’ जुनै सरकार भएतापनि नागरिकका आधारभूत आवश्यकता र मौलिक हक रक्षा गर्ने कुराहरु नै पहिलो प्राथमिकता बन्ने उनको भनाई छ।

देशको सीमा रक्षा,स्वाधीनता र अखण्डताका निम्ति एमालेविगत देखि नै एक्लो: अध्यक्ष ओली
अध्यक्ष केपी शर्मा ओलीले देशको सीमा रक्षा,स्वाधीनता र अखण्डताका निम्ति नेकपा एमाले विगत देखि नै एक्लो रूपमा उभिँदै आएकाले मिसन ८४ नै निर्णायक हुने बताएका छन्। नवलपरासी पुगेर उनले यस्तो बताएका हुन्। सुस्ता क्षेत्रको समेत निरीक्षण गरेको बताउँदै उनले सीमा रक्षाको आवाज उठाउँदा आफू तत्कालीन शासकबाट जेल परेको समेत स्मरण गरे।

बस्न सकेन सुदूरपश्चिम प्रदेश सभाको बैठक
मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिनका लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित भएको छ। बैठक आज साँझ ५ बजेका लागि आह्वान भएको थियो। तर, एमालेले छलफल नै नगरी बैठक राखिएको भन्दै मत नदिने अडान राखेपछि बैठक स्थगित भएको हो। बैठक शनिबार साँझ ५ः३० बजेसम्मका लागि स्थगित भएको हो।

वैदेशिक अध्ययन अनुमति पत्रको तथ्याङ्क मन्त्रालयमा पठाउन र तथ्याङ्क माग्नेलाई प्रवक्तामार्फत उपलब्ध गराउन निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमति पत्र एनओसीको तथ्याङ्क मन्त्रालयमा पठाउन र तथ्याङ्क माग्नेलाई प्रवक्तामार्फत उपलब्ध गराउन निर्देशन दिएको छ। मन्त्रालयले जारी गरेको एनओसीको तथ्याङ्क र अध्यागमन विभागको तथ्याङ्क फरक भएको भन्दै मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो। तर, यता एनओसी शाखाले भने एकै विद्यार्थीले पटक पटक गरेर फरक देशको लागि एनओसी लिँदा यस्तो समस्या भएको बताएको छ।

३५ दिनभित्र कर बुझाउन काठमाडौं महानगरको अल्टिमेटम
काठमाडौं महानगरपालिकाले न्युरोडस्थित आरबी कम्प्लेक्स र पिपुल्स प्लाजालाई ३५ दिनभित्र कर बुझाउन अल्टिमेटम दिएको छ। अहिलेसम्म विभिन्न कर नतिरेको भेटिएपछि महानगरले ७ दिनभित्र विवरण र ३५ दिनभित्र कर बुझाउन अल्टिमेटम दिएको हो। आरबी कम्प्लेक्समा करिब ३ सय १५ व्यवसायी र पिपुल्स प्लाजामा करिब १ सय ६० व्यवसायी रहेको महानगरले जनाएको छ। मेयरमा बालेन शाह निर्वाचित भएदेखि नै महानगरले कर संकलनमा कडाई गरेको छ।

आगलागी पीडितलाई तत्काल १५ देखि २० हजार रुपैयाँ राहत र अस्थायी आवास बनाउन ५० हजार दिने प्रस्ताव
गृह मन्त्रालयले आगलागी पीडितलाई तत्काल १५ देखि २० हजार रुपैयाँ राहत र अस्थायी आवास बनाउन ५० हजार दिने प्रस्ताव गरेको छ। यस विषयमा मन्त्रिपरिषद्मा छलफल भइराखेको छ। शुक्रबार बसेको राष्ट्रिय सभाको ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’को बैठकमा गृहसचिव एकनारायण अर्यालले यस्तो जानकारी दिएका हुन्।

राष्ट्रिय किसान आयोगको ध्यानाकर्षण
राष्ट्रिय किसान आयोगले आगलागी र वन डढेलोका घटना बढ्दै गएको र यसबाट कृषि क्षेत्रमा ठूलो क्षति भएकोतर्फ गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको छ। आयोगले आज विज्ञप्ति निकालेर आगलागी र डढेलोबाट कृषि र पशुपन्छी क्षेत्र अन्तर्गत विभिन्न बाली, पशुचौपाया, पन्छी तथा अन्न उत्पादनको क्षेत्रमा क्षति भएको उल्लेख गरेको छ। आयोगले देशको कुल ग्राहस्थ उत्पादनमा समेत नकारात्मक असर पर्नेतर्फ सचेत रहँदै आगलागी नियन्त्रणका उपकरण तयारी अवस्थामा राख्नका साथै पूर्वतयारीका योजना तथा कार्यक्रम कार्यान्वयन गर्न पनि अपिल गरेको छ।

सरकारले नवप्रवर्द्धन कार्यक्रममा भनेर छुट्याएको ८८ करोड बजेट अहिलेसम्म निकासा नगरेको भन्दै मन्त्रीको गुनासो
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले, सरकारले नवप्रवर्द्धन कार्यक्रममा भनेर छुट्याएको ८८ करोड बजेट अहिलेसम्म निकासा नगरेको भन्दै गुनासो गरेका छन्। उनले, उक्त कार्यक्रमका लागि विभिन्न मापदण्डबाट एक सय चार वटा पालिकालाई छनोट गरेर अभिमुखीकरणपनि दिएको भन्दै बजेटका् लागि हार गुहार गर्दा पनि निकासा हुन नसकेको बताएका हुन्। साथै उनले संघीय निजामति सेवा ऐन देशभरी नै सुशासन कायम गर्ने विधेयक भएकाले चाँडो पास गर्नुपर्ने बताए।

लोसपाका सांसद शर्मा निलम्बन
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेश सांसद अभिराम शर्मा निलम्बित भएका छन्। उनलाई सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम २१० को उपनियम(४) बमोजिम निलम्बन गरेका हुन् । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा शर्माले महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका थिए।

१२ को परीक्षा दिएर फर्किरहेकी एक छात्रामाथि गोली प्रहार
झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किरहेकी एक छात्रामाथि गोली प्रहार भएको छ। उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिका अधिकारीमाथि शुक्रवार दिउँसो गोली प्रहार भएको हो। उनको पेटमा एक राउन्ड गोली लागेको बताइएको छ। घाइते उनको लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ। गोली प्रहार गर्ने सिराहाका अमितकुमार यादबलाई प्रहरीले पक्राउ गरेको छ।

जापान पठाउने भन्दै २ सय १९ जनाबाट २ करोड ६८ लाख ठगीको आरोपमा दुई जना पक्राउ
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जापान पठाउने भन्दै २ सय १९ जनाबाट २ करोड ६८ लाख ठगीको आरोपमा पक्राउ परेका दुइ जनालाई आज सार्वजनिक गरेको छ। पक्राउ परेका नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने ईश्वरी पाण्डेले कन्सल्टेन्सी सञ्चालन गरेर विभिन्न व्यक्तिलाई जापान पठाउने प्रलोभनमा ठगी गरेको प्रहरीले जनाएको छ। उनीहरुले अर्काको नागरिकताको दुरुपयोग गरी अर्काकै नाममा कन्सल्टेन्सी दर्ता गरेर ठगी गर्ने गरेको पनि पाइएको छ।

जेठ १३ गतेदेखि देशभर पोलियोविरुद्धको ‘आइपीभी’ खोप अभियान सञ्चालन हुने
सरकारले आउँदो जेठ १३ गतेदेखि देशभरका झण्डै १४ लाख ६२ हजार बालबालिकालाई पोलियोविरुद्धको ‘आइपीभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ। दुई हप्तासम्म चल्ने अभियानमार्फत् पोलियोविरुद्धको खोप ‘आइपीभी’ दिइनेछ। यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाले जानाएको छ। पोलियोबाट बचाउन देशभरिर्का लगाइने उहाँको भनाई छ।

चन्द्रमामा सोचेभन्दा धेरै पानी !
चन्द्रमामा सोचेभन्दा धेरै पानी रहेको पाइएको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले गरेको अध्ययनअनुसार चन्द्रमामा पाँचदेखि आठ गुणा बढी पानी रहेको पाइएको हो। अध्ययनले चन्द्रमाको सतहमुनि धेरै बरफ रहेको र यसलाई आवश्यकताअनुसार निकाल्न सकिने देखाएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

विश्वकप खेल्ने नेपाली टोलीलाई नेपालस्थित् अमेरिकन दूतावासको बिदाइ
आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकपमा सहभागी हुने नेपाली राष्ट्रिय टोलीलाई नेपालस्थित अमेरिकन दूतावासले बिदाइ गरेको छ। १० वर्षपछि विश्वकप खेल्न लागेको नेपाली टोली शनिबार वेस्ट इन्डिज जाँदैछ। विश्वकप अघि नेपाली टोलीले वेस्ट इन्डिजमा अभ्यास गर्नेछ। विश्वकपमा नेपालको समूहमा नेदरल्याण्स्, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन्।

Logo