जीबी राईलाई समात्न गृहमन्त्री लामिछानेको यस्ताे कदम, सन्दीपलाई विश्वकप खेल्न नदिने षड्यन्त्र[भिडियोसहित]

जीबी राईलाई समात्न गृहमन्त्री लामिछानेको यस्ताे कदम, सन्दीपलाई विश्वकप खेल्न नदिने षड्यन्त्र[भिडियोसहित]

केन्द्रबिन्दु
42
Shares

गृहमन्त्री लामिछाने र मलेसियाका समकक्षीबीच फोनवार्ता
सहकारीका बचतकर्ताको अर्बौं रकम हिनामिना गरेर फरार रहेका गितेन्द्रबाबु (जीबी) राई मलेसियामा लुकेर बसेको चर्चाबीच उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मलेसियाका समकक्षी सैफुद्धिन नसुत्तिन इस्माइलसँग फोनवार्ता गरेका छन्। लामिछानेको सचिवालयका अनुसार उनले फरार राईलाई झिकाइदिन सहयोगका लागि आग्रह गरेका छन्। तर, यो फोनवार्ताको जानकारी मलेसियाका गृहमन्त्री इस्माइल आफैंले पनि सामाजिक सञ्जालमार्फत गराएका छन्। गृहमन्त्री लामिछाने आफैपनि सहकारी प्रकरणमा जोडिएका छन्। गृहमन्त्री लामिछानेलाई उनका आलोचकहरूले कुनै समय आफ्ना व्यावसायिक साझेदार रहेका राईलाई पक्राउ गर्न नसकेको भन्दै प्रश्न उठाउने गरेका छन्।

उपेन्द्र यादवको पार्टी फुट्यो
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजन भएको छ। पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल गठन हुने भएको हो। नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्र राखिएको छ। तर, यता नयाँ दल दर्ताको तयारी भइरहँदा स्वास्थ्यमन्त्रीसमेत रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव भने हाल अमेरिकाको भ्रमणमा रहेका छन्। उनी आज राति नेपाल फर्कने कार्यतालिका रहेको छ।

अध्यक्ष ओलीको सुदूरपश्चिम सरकारलाई तत्काल विश्वासको मत नदिन निर्देशन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारी नेतृत्वको सरकारलाई तत्काल विश्वासको मत नदिन निर्देशन दिएका छन्। एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक सुरेन्द्र पालसँगको छलफलमा उनले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन हतार नगर्न निर्देशन दिएका हुन्। एमालेले मुख्यमन्त्री सोडारी नेतृत्वको सरकारलाई तत्काल विश्वास नगरेपछि सत्ता गठबन्धनमा पनि विश्वासको संकट पैदा भएको छ।

एक सय रुपैयाँमा चुच्चे नक्सा राख्ने सरकारको निर्णयमा भारतको असन्तुष्टि
एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने नेपाल सरकारको निर्णयमा छिमेकी मुलुक भारतले भने असन्तुष्टि जनाएको छ। गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले एक सय रुपैयाँको नोटमा पुरानो नक्साको सट्टा चुच्चे नक्सा राख्ने निर्णय गरेको थियो। जुन निर्णय प्रती शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरले सीमा समस्या समाधानका लागि दुई देशबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपालले एकतर्फी रूपमा उक्त निर्णय गरेको भन्दै असन्तृष्टि जनाएका हुन्। भारतको उपस्थिति रहेको उक्त क्षेत्रलाई आफ्नो नक्सामा पार्ने नेपालको निर्णयप्रति त्यतिबेलै असहमति जनाएको भारतले नोटमा उक्त फोटो राख्ने निर्णयप्रति प्रारम्भिक रूपमै उच्च तहबाट विरोध जनाएको हो।

सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ। आइतबार लामिछानेको मुद्दामा पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको थियो। तर, उक्त मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको हो। यसअघि मुख्य न्यायाधीश निरौलाकै इजलासले झगडिया झिकाउने आदेश दिएकाले उनले हेर्न नमिल्ने भन्दै सुनुवाइ नगरिएको अदालत स्रोतले जनाएको छ। फैसला आउने समय लम्बिएसँगै केहीगरी सन्दीपको पक्षमा आएपनि उनी विश्वकप खेल्ने नेपाली टोलीमा स्थान बनाउन सक्ने सम्भावना टर्दै गएको छ।

अर्थमन्त्री पुनलाई माओवादीको डेढ दर्जन सुझाव
अर्थमन्त्री वर्षमान पुनलाई आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा उनको पार्टी नेकपा (माओवादी केन्द्र) सम्वद्ध करिब डेढ दर्जन विभागले सुझाव दिएका छन्। माओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडामा गरीएको एक कार्यक्रममा विभागीय प्रमुखहरुले बजेटमा रोगजारी सृजना गर्ने तथा उत्पादन वृद्धि गर्ने योजनामा जोड दिन आग्रह गरे। बजेट बनाउँदा क्षेत्रगत सन्तुलन कायम गर्न, आर्थिक÷सामाजिक रुपमा पछि परेका क्षेत्र तथा संविधानले नागरिकको नैसर्गिक हकका रुपमा स्वीकार गरेको स्वास्थ्य र शिक्षासहित ऊर्जा, कृषि, पर्यटन र सूचना प्रविधिलाई प्राथमिकतामा राख्न उनीहरुको सुझाव थियो।

जापानी विदेशमन्त्रीले गरिन् काठमाडौँको विभिन्न क्षेत्रको अवलोकन
आज नेपाल आएकी जापानकी विदेशमन्त्री खामिखावा योकोले काठमाडौँको विभिन्न क्षेत्रको अवलोकन गरेका छन्। उनले वसन्तपुर,कालभैरव, हनुमानढोका र त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरुको अवलोकन गरेकी हुन्। उनका साथमा नेपालका लागि जापानी राजदूत किकुता युताकालगायत थिए। राष्ट्रपति, प्रधानमन्त्रीलाई भेटेर विदेशमन्त्री खामिखावा आजै राति नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्ने कार्यक्रम छ।

सेक्युरिटी प्रिन्टिङ मेसिन थन्किँदा अन्तःशुल्क स्टिकर छपाइमा विदेशी कम्पनीको भर
काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ मेसिन) थन्किँदा अन्तःशुल्क स्टिकर छपाइमा विदेशी कम्पनीको भर पर्नुपरेको छ। विदेशी कम्पनीलाई छपाइको काम दिँदा करोडौँ रुपैयाँ बाहिरिएको छ। नेपालको अन्तःशुल्कको कामको ठेक्का भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सले गर्दै आइरहेको छ। मन्त्रालय स्रोतका अनुसार सो कम्पनीले अन्तःशुल्क, स्मार्ट लाइसेन्स लगायतको काम पाउँदा बेलाबेलामा सौदाबाजी गर्ने र छपाइको काममा ढिलाइ गर्दै आइरहेको छ।

बागमती प्रदेश: उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय
बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले प्रदेश उच्च शिक्षा ऐनका केही प्रावधान संशोधन गर्नुपर्ने भएकाले अध्यादेश जारीगर्ने निर्णय गरेको हो। ऐनको दफा १३ को ५ को व्यवस्थामा भएको प्रदेश विश्वविद्यालयको संरक्षक समितिको पदावधि निर्धारणको विषयलाई स्पष्ट पार्न अध्यादेश जारी गर्ने निर्णय गरिएको हो।

बाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु
तराईको सुगम जिल्लाका रुपमा रहेको बाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु भएको छ। चालु आर्थिक वर्षको चैत महिनासम्म एक सय १२ नवजात शिशु र १२ सुत्केरीको मृत्यु भएको मातृ तथा नवशिशु स्वास्थ्य स्रोतले जानाएको छ। मृत्यु हुने मातृ तथा नवजात शिशुमध्ये आधाभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकाका क्षेत्रका रहेका छन्। मृत्युदरको तथ्याङ्क हेर्दा बजार क्षेत्रमा बढी छ। सचेतनाको अभाव र अस्वस्थकर जीवनशैलीका कारण बजार क्षेत्रमा नै मृत्युदर उच्च रहेको उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ।

आइतबार शेयर बजार उच्च अङ्कले घट्यो
हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार उच्च अङ्कले घटेको छ। आज शेयर बजार परिसूचक नेप्से २४ दशमलव ५८ अङ्कले घटेर एक हजार नौ सय ७४ दशमलव ३७ विन्दुमा झरेको छ। आज ९७ लाख ९८ हजार कित्ता शेयर तीन अर्ब ७९ करोड रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै नेपाल फाइनान्सको १२ करोड ६४ लाख रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीला अपराधीको सुचीमा
रुसले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई वाञ्छित अपराधीहरूको आफ्नो सूचीमा समावेश गरेको एक सरकारी डेटाबेसले देखाएको छ। अधिकारीहरूले खोजेको कथित अपराधीहरूको एक अनलाइन डेटाबेसमा जेलेन्स्कीलाई रुसी गृह मन्त्रालयको ‘वाञ्छित’ सूचीमा देखाइएको छ। यसमा थप विवरण नखुलाई युक्रेनी नेता ‘आपराधिक संहिताको धाराअन्तर्गत’ वाञ्छित छन् भनिएको छ। जेलेन्स्कीलाई सूचीमा किन समावेश गरियो भन्नेबारेमा रुसी अधिकारीहरूबाट भने तत्काल कुनै टिप्पणी आएको छैन।

टेबल टेनिस ओलम्पिक: दक्षिण एसियाली छनोट नेपालमा
आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुनेभएको छ। नेपालमा पहिलो पटक हुन लागेको प्रतियोगिता यही वैशाख ३१ देखि जेठ २ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा आयोजक नेपालसहित, बङ्गलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका २० जना खेलाडीको सहभागिता रहने टेबल टेनिस खेलका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले जानकारी दिएका छन्।

Logo