हिरासत छल्ने भीआईपीलाई गृहमन्त्रीले ल्याए यस्तो नियम, बामदेवलाई ओलीले तत्काल स्वागत नगर्ने[भिडियोसहित]

हिरासत छल्ने भीआईपीलाई गृहमन्त्रीले ल्याए यस्तो नियम, बामदेवलाई ओलीले तत्काल स्वागत नगर्ने[भिडियोसहित]

केन्द्रबिन्दु
70
Shares

हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्नका लागि गृहमन्त्री मन्त्रीको ३ बुँदे निर्देशन
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्नका लागि ३ बुँदे निर्देशन जारी गरेका छन्। कुनै घटनाको अनुसन्धान र अभियोजनका लागि पक्राउ परेका व्यक्तिहरू हिरासत छलेर अस्पतालमा बस्न थालेपछि गृह मन्त्रालयले सोमबार तीन बुँदे मापदण्डसहितको निर्देशन जारी गरेको हो। जसमा शारीरिक एवम् मानसिक रुपमा अस्वस्थ भएको अवस्था, अस्पतालमा अब्जरभेसनका लागि ४८ घण्टाभन्दा बढी राख्नुपरेमा उपयुक्त कारण खुलाउनु पर्ने जस्ता मापदण्ड समावेश गरिएको छ। नेपालमा झांगिदो हिरासत छल्न अस्पताल जाने प्रवृत्तिप्रति चौतर्फी विरोध भएपछि गृहमन्त्री लामिछानेले यो कदम चालेका हुन्।

राई नेतृत्वको जनता समाजवादी पार्टीले मान्यता
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलगिएर बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले मान्यता पाएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्रीसमेत रहेका अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेकै बेला आइतबार यता राई नेतृत्वको असन्तुष्ट समूहले आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएको थियो। सोहीअनुसार सोमबार आयोगले राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता गरेको हो। नयाँ पार्टीमा नेपाल हटाइएको छ। योसँगै संघीय संसदमा १२ सांसद रहेकामा अब राई नेतृत्वको दलमा ७ सांसद रहने भएका छन्। यो फुटको आरोप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको छ।

बामदेवले एमाले फुटाउँछ भनेर शंका नगर्न आग्रह
नेता बामदेव गौतमले आफू एमालेमै जान चाहेको भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई बामदेवले एमाले फुटाउँछ भनेर शंका नगर्न आग्रह गरेका छन्। आज एक कार्यक्रममा एकै मञ्चमा रहेका अध्यक्ष ओलीलाई नेता गौतमले आफूले पहिला पनि पार्टी नफुटाएको र अब पनि पार्टी फुटाउला कि भनेर आफूमाथि शंका नगर्न आग्रह गरेका हुन्। उनको यो अभिव्यक्तिले एमालेमा भित्रिन हतारो जस्तो देखिन्थ्यो। तर, कार्यक्रममा ओलीले भने अहिले छलफल गर्ने यो थलो उपयुक्त नभएको र पछि छलफल गर्ने जवाफ दिए।

अध्यक्ष पञ्चा सिंहसहित पाँच जनाविरुद्ध मुद्दा नचल्ने
कालीकोटका रजबहादुर मल्ल हत्या प्रकरणमा मुछिएकी माओवादी केन्द्रको भ्रातृ संगठन, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित पाँच जनाविरुद्ध मुद्दा नचल्ने भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययनपछि जिल्ला सरकारी वकिल कार्यालयले उनीहरुविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको हो। २०६५ सालमा सुर्खेतको वीरेन्द्रनगरमा रहेको जननमुना माध्यमिक विद्यालयमा अध्ययनरत कालीकोटको साविक पाखा गाविसका १७ बर्षीय रजबहादुर मल्लको हत्या भएको थियो।

बागमती प्रदेशमा तामाङ र नेवारी भाषापनि सरकारी कामकाजको भाषाका
बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा (नेवारी) भाषा पनि सरकारी कामकाजको भाषाका रुपमा लागू भएका छन्। सोमबार काठमाडौंको बसन्तपुरमा आयोजित भाषा दिवस २०८१ को अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो घोषणा गरेका हुन्। प्रदेशमा तामाङ र नेवारी समुदायको बाहुल्य बसोबास रहेकाले ती समुदायको भाषालाई सरकारको कामकाजको भाषाको रुपमा प्रयोग गर्नु उपयुक्त देखिएकाले यो कदम चालिएको बागमती सरकारको भनाई छ। यसअघि सरकारी कामकाजमा नेपाली मातृ भाषा मात्रै प्रयोगमा आइरहेको थियो। सो अवसरमा प्रदेश सरकारले सोमबार प्रदेशभर सार्वजनिक विदा दिएको छ।

सवारी चालक अनुमतिपत्रबारे समस्या समाधान गर्न यातायात विभागलाई निर्देशन
सोमबार दिउँसो सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सवारी चालक अनुमतिपत्रबारे जनस्तरमा आक्रोश र असन्तुष्टि यथावत रहेको भन्दै समस्या समाधान गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा लाइसेन्बारे उठेका सवाल र त्यसमा देखिएका समस्याहरूको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीलाई विभागको सिष्टममा देखिएका समस्या, जनस्तरमा उठेका विषयहरू र विभागले निर्वाह गर्नुपर्ने भूमिका लगायतका विषयमा केन्द्रित रहेर विशेष कुराकानी भएको बुझिएको छ।

एकीकृत समाजवादीको पूर्वनिर्धारित स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक सर्यो
नेकपा एकीकृत समाजवादीले पूर्वनिर्धारित स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक सारेको छ। नेकपा एसले यही वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेकोमा आन्तरिक तयारी नपुगेको भन्दै आज पूर्वनिर्धारित सबै स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक सारेको हो। अब एसको स्थायी कमिटी बैशाख २९ गते, पोलिट्ब्यूरो ३० गते तथा ३१ बैशाख र जेठ १ गते केन्द्रीय कमिटी बैठक बस्ने सचिवालयले जनाएको छ।

शर्मामाथि निलम्बनको निर्णय सच्याउन माग गर्दै पार्टीले गर्यो प्रदेश सभा समक्ष पत्राचार
लोकतान्त्रिक समाजवादी पार्टी मधेश प्रदेशका सांसद अभिराम शर्मामाथि निलम्बनको निर्णय सच्याउन माग गर्दै पार्टीले प्रदेशसभासमक्ष पत्राचार गरेको छ। सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा दोषी ठहर गर्दै जिल्ला अदालत महोत्तरीले उनलाई जन्मकैदको सजाय सुनाएको थियो। उनी हाल निलम्बनमा परेका छन्। त्यसपछि लोसपा मधेश संसदीय दलका उपनेता उपेन्द्र महतोले सांसद शर्मालाई गरिएको निलम्बनको निर्णय सच्याउन पत्र लेखेका हुन्।

गण्डकीमा एमालेको कोटाबाट २ जना मन्त्री
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गर्दै एमालेको कोटाबाट २ जना मन्त्री थपेका छन्। ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री वेदबहादुर गुरुङ र सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सीता सुन्दास बनेकी हुन्। उनीहरुले सोमबार प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। योसँगै गण्डकीको मन्त्रिपरिषद् ५ सदस्यीय भएको छ।

पेस्तोल देखाएर ८० लाख लुट्यो
जनकपुरधाममा रहेको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटिएको प्रहरीले जनाएको छ। महतोका अनुसार उनी बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम उपमहानगरपालिका १९ बाट आफ्नो साथमा भएको रकम लुटेको फरार भएका थिए। घटनाका विषयमा अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ।

बोधिचित्तको रुख कटानको अनुसन्धान गर्न सीआईबीको टोली परिचालन
काभ्रेको रोशी गाउँपालिका–५, सीसाखानीमा रहेको बोधिचित्तको रुख कटानको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली परिचालन गरिएको छ। २९ चैतको राति बोधिचित्तको रुख कटान भएको घटना अझैसम्म नसुल्झिएपछि सीआईबीका एक इन्सपेक्टरको कमाण्डमा टोली काभ्रे पठाएर अनुसन्धान सुरू गरिएको छ। यो प्रकरणमा थुप्रै मान्छेलाई पक्राउ गरेर सोधपुछ गरे पनि अहिले भने तीन जनालाई मात्रै हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ।

शेयर बजार: १५ दशमलव ६२ अङ्कले घट्यो
शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ६२ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव ७५ विन्दुमा झरेको छ। आज विकास बैंक बाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ। आज ६९ लाख ७८ हजार कित्ता शेयर दुई अर्ब ८९ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

युद्धविरामका लागि भएको वार्ता असफल
इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच युद्धविरामका लागि भएको वार्ता असफल भएको छ। इजिप्टमा भएको वार्तामा दुवै पक्षले एकअर्काप्रति आरोप– प्रत्यारोप लगाउन थालेपछि विना निष्कर्ष टुङ्गिएको हो। वार्ता बिथोलिनुमा दुवैले एकअर्कालाई आरोप लगाएका बीबीसीले जनाएको छ।

Logo